भुटानी शरर्णाथीसम्बन्धी समस्या यथावत रहेको कूटनीतिज्ञहरूको भनाई

0
279

असार १/
भुटानी शरर्णाथीसम्बन्धी समस्या यथावत रहेको कूटनीतिज्ञहरूले बताएका छन् । एक लाखभन्दा बढी भुटानी शरणार्थी तेस्रो मुलुकमा बसोबासमा जाँदैमा शरणार्थी समस्या सुल्झिएको भन्ठान्नुलाई ‘गलत बुझाइ’ भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुले बाहिरी विश्वमा रहेका भुटानीको नयाँ पुस्तासमेत आफ्नो उत्पत्तिको थलो खोज्दै कुनै दिन भुटान फर्कने स्थिति रहेको बताएका छन् ।
भारतको साथ–सहयोग नभइकन भारतीय भूमि हुँदै भूटानी शरणार्थीलाई नेपालको पूर्वी नाकामा ल्याएर छाड्न असम्भव थियो भन्दै पूर्व राजदूत एवं भू–राजनीतिक मामलाका जानकार डा.दिनेश भट्टराईले त्यसपछिको भारतीय मौनताले पनि भूटानी समस्यालाई अझ जटिल बनाएको बताउनु भयो ।
भारतले भुटानी शरणार्थी समस्याका हकमा ‘रणनीतिक स्वार्थ’ राखेको बताउँदै भट्टराईले नेपालमा बाँकी रहेका भुटानी शरणार्थीलाई ‘नेपालीभाषी भन्दैमा’ स्थानीय बसोबास गर्न नमिल्ने धारणा राख्नु भयो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग(डीआईआरडी)मा भुटानी अधिकारवादी नेता एवं भुटान नेसनल डेमोक्रेटिक पार्टीका अध्यक्ष डीएनएस ढकालद्वारा लिखित ‘भुटान ः एमिकेबल रिजोलुसन’ पुस्तकबारेमा टिप्पणी गर्दै डा.भट्टराईले भुटानले गरेको जातिय सफायाको इतिहास तथा भू–राजनीतिका बारेमा पुस्तकले राम्रो समीक्षा गरेको बताउनु भयो ।
शरणार्थी समस्या समाधानमा १७ चरणसम्म नेपाल–भुटान वार्ता भए पनि समाधान ननिस्केका बेला तेस्रो देशमा पुनर्बसोबासका लागि अर्को विकल्प नभएको भुटानी अभियन्ता एवं लेखक ढकालले बताउनु भयो । अबको चरणमा भुटानले शिविरमा रहेका बाँकी शरणार्थीलाई ससम्मान घरफिर्ता गराउनुपर्ने उहाँले बताउनु भयो । भुटानी राजाले बडादशैं मान्ने र दशैंटीका थाप्नेसम्मका व्यवहार देखाइरहेका बेला अब भुटानले राष्ट्रिय सहमतिका आधार बनाउँदै आफ्ना नागरिकलाई घरफिर्ता गराउनैपर्ने उहाँले बताउनु भयो । उनले आफ्नो माटो र संघर्षको थलो बिर्सेर विदेशमा रहेका भुटानी शरणार्थीले ‘गैरआवासीय नेपालीको हैसियत माग्नु’ आफैंमा असहाउँदो कुरा रहेको धारणा राख्नुभयो । भुटानी शरणार्थीले ‘गैरआवासीय भुटानी संघ’ खोलेर आफ्नो अलग पहिचान र अस्तित्वको खोजी गर्नुपर्ने पनि उहाँले सुझाव दिनुभयो ।
पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले शरणार्थी समस्या अन्र्तराष्ट्रियकरण भइसकेको बताउँदै नेपाल–भुटान वार्ताका क्रममा नेपालले शरणार्थीको वर्गीकरणमा सहमति जनाएर ‘ठूलो गल्ती’ गरेको धारणा राख्नु भएको थियो । यथास्थिति जे भए पनि हामीले बलियो र स्वतन्त्र भुटानका पक्षमा वकालत गर्नुपर्ने भन्दै उहाँले अन्यथा भुटान पनि सिक्किमीकरणको बाटोमा जान सक्ने बताउनु भयो ।
पत्रकार युवराज घिमिरेले भुटानी शरणार्थी समस्या समाधानको कुरा गरिरहँदा हिजो आफूले गरेको गल्तीको स्मरण गर्नुपर्ने बताउँदै १७ चरणमा वार्ता हुँदा एउटै शरणार्थी घर फर्कन नसकेको र अन्ततः पुनर्बसोबासमा लगिएको यथार्थमा जोडिएको भू–रणनीतिलाई भुल्न नमिल्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here