एजेन्सी- उपाधि दाबेदार नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गरेको हो ।
पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक/एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । खेलको ५५औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो ।
बक्स बाहिर हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका थिए । भीएआर अघि उनलाई पहिलो कार्ड मात्र दिईएको थियो ।
नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकले फाईदा उठायो । खेलको ६८औं मिनेटमा टोमसले गोल गर्दै चेक रिपब्लिकलाई १-० को अग्रता दिलाए । ८०औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए ।
अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।