तीन प्रदेशमा ‘भारी’ वर्षा, तामाकोशीमा बाढीको उच्च जोखिम

0
502

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।

मनसुनी वायुकै प्रभावले आज देशका तीन वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही  प्रदेश १  र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका  थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

तामाकोशीमा बाढीको जोखिम

तामाकोशी नदीमा बाढीको जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । चीनको तिब्बतमा थुनिएको तामाकोशी नदी अझै सामान्य अवस्थामा नरहेकाले तटीय क्षेत्रमा खतरा नटरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

रोङसिया शहर तथा सो क्षेत्रमा भारी वर्षा भइरहेको र पहिरो जाँदा तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको भन्दै प्रशासनले विज्ञप्तिमार्फत शुक्रबार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीका अनुसार शुक्रबार राति र आज शनिबार बिहानसम्मको अवस्थामा तात्विक भिन्नता छैन । कुनै पनि बेला ठूलो बाढीको खतरा रहेकाले सतर्क रहन उनले आग्रह गरेका छन् ।

‘भारी वर्षाका कारण सो क्षेत्रमा गएको पहिरोले नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोले सोको कारणले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने हुँदा नेपाल-चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्णमा सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुना साथ सुरिक्षत स्थानतर्फ जान अनुरोध गरिन्छ,’ जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा  भनिएको छ ।

थुनिएको नदी कुनै पनि समय फुटेर बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन अनुरोध गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here