सिन्धुपाल्चोकमा बाढी-पहिरोमा सात बेपत्ता, ४५ जनाको उद्धार

0
339

काठमाडौँ– सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा ७ जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार बेपत्ताहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएका छन् । बेपत्ता भएकाहरू कुन क्षेत्रमा काम गर्थे र कसरी हराए भन्ने जानकारी नभएकाले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

बाढीमा फसेका तीन जना नेपाली र तीन जना चिनियाँ नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी ललितपुरको बी एण्ड बी अस्पतालमा लगेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । हालसम्म बाढीमा फसेका ४५ जना नेपाली र विदेशी नागरिकको उद्धार भइसकेको पनि खनालले बताए ।

बाढीले आसपासका वस्तीहरु बगाएको र मंगलबार रातिदेखि विद्यूत सेवा पनि अवरुद्ध भएको छ । उक्त क्षेत्रमा बाढीका कारण भएको क्षतिको पूर्ण विवरण आउन नसकेको सहायक प्रजिअ खनालले बताए ।

बाढीका कारण इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पक्की पुल भत्किएर सडक अवरुद्ध भएको छ । उक्त पुल नजिकैको अर्को पक्की पुल र गेट पनि भत्किएको जानकारी आएको उनले बताए । निरन्तर पानी परिरहेकाले क्षतिको पूर्ण विवरण संकलन गर्न समस्या भएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here