सिन्धुपाल्चोकमा बाढी र पहिरोले सातको मृत्यु, बेपत्ताको खोजी जारी

0
687

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी छ ।

मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुको विवरण फरक/फरक आइरहेका छन् ।

सिन्धुपालोच्कबाटै प्रतिनिधिसभामा निर्वाचित स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले ५० जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् । प्रशासनले बेपत्ताहरुको यकिन विववरण प्राप्त भइनसकेको र सूचना संकलन जारी रहेको जनाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उद्धार तथा राहतको काममा हेलिकप्टरमार्फत जनशक्ति परिचालनको तयारी भएको प्रजिअ पोखरेलले बताए ।

बाढीले  मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त भएको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको मन्त्री तामाङले जनाएका छन् ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल तथा बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुल एवं दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले जनाएका छन् ।

शुक्रबारसम्म भारी वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज देशका चार वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो र राति कर्णाली प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा भने ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘धेरै भारी’ वर्षा भन्नाले १०० मिलिमिटरदेखि २०० मिलिमिटर सम्मको वर्षालाई भनिन्छ ।

कम्तीमा बिहीबारसम्म ठाउँठाउँमा निरन्तर वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । ‘बिहीबार केही सुधार आउन सक्छ तर  वर्षाभने रोकिदैन केही कम हुन सक्छ,’ बासीले भनिन् ।

यो क्रम शुक्रबारसम्म नै कायम रहने महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशको केही भू-भागमा भारी वर्षा र थोरै स्थानमा ‘धेरै भारी’ वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here