दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि भुटानी शरणार्थी अलपत्र

0
1012

माघ ३/
शरणार्थीको क्षेत्रमा काम गर्दै आएको दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थीको अलपत्र परेका छन् ।
शरणार्थीको समस्या सामधान नहुँदै शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च परिषदको टोली फर्किएपछि शिविरमा स्वदेश र्फकन र तेस्रो देश पुनर्स्थापना पर्खिएर बसेका भुटानी शरणार्थीहरु अलपत्र परेका हुन् ।
भुटानबाट नेपालमा आएका शरणनार्थीको व्यवस्थापनमा यूएनएचसीआरले सहयोग गर्दै आएको थियो । तर डिसेम्बर १८ बाट दात्री निकायको टोली फर्किएको हो ।
टोली फर्किएपछि स्वदेश फिर्ती र तेस्रो मुलुक पुनर्वास अलपत्र परेको पथरीशनिश्चरे शिविरका शिविर सचिव चम्पासिंह राईले जानकारी दिनुभयो । पुनरमिलनका लागि जान चाहानेहरु धेरै रहेको भन्दै उहाँले अब प्रकृया कसरी अघि बढ्छ भन्ने बारे आफुहरुलाई कुनै जानकारी नभएको बताउनु भयो ।
शिबिर सचिव राईका अनुसार पथरीशनिश्चरेमा ५२० घर छन् । जसमा एक हजार ६ सय बसिरहेका छन् । बेलडागी शिविर र पथरीशनिश्चरेमा गरी ७ हजार ५ सय शरणार्थी रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार सरकारी रेकर्डमा भने दुईवटै शिविरमा गरी ६ हजार ३ सय ६५ जना मात्रै रहेको उल्लेख छ ।
शिविरमा रहेकामध्ये ६० प्रतिशतभन्दा बढी परिवारमा पुनरमिलनका लागि तेस्रो देश जान चाहान्छन् । केही स्वदेश र्फकन चाहाने पनि छन् । त्यसैगरी नेपालमै बस्छौं भन्नेको संख्या पनि ठूलो रहेको शिबिर सचिव राईले बताउनु भयो ।
यूएनएचसीआरको टोली फर्किएपछि सबै काम नेपाल सरकारले गर्ने भनिएको छ । जसका लागि जिल्ला प्रशासन कार्यालय झापाले दुईजना फोकल पर्सन पनि तोकेको छ । तर तेस्रो मुलुक पुनर्वासका लागि नेपालको पहलले मात्र सम्भव नरहेको उहाँले बताउनु भयो । दाता नै फर्किएपछि अब झिनो आश मात्रै बाकीँ रहेको राईको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here