कास्कीको माछापुच्छ्रेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

0
562

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा तीन जनाको मृत्यु भएको छ ।

वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान पौने ६ बजेतिर पहिरोले बगाउँदा उहाँका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठसहितको टोलीले घटनास्थलको अवलोकन गरेको छ । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here