कोरोना असर : मास्क लगायतका अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाइने

0
532
तस्वीरः रासस

२२ फागुन, काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहिबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिकरुपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाउने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

‘बाहिरबाट आएकाहरुलाई व्यवस्थित र ठीक ढङ्गले जाँच गर्ने, सङ्क्रमण प्रभावित व्यक्ति भरसक आउन नदिने र जनसचेतना कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइनेछ ।’ रक्षामन्त्री पोखरेलले भने ।

नेपालमा गत माघ ९ गते चीनको सबैभन्दा बढी सङ्क्रमण फैलिएको उहान प्रान्तबाट आएका एक जनामा सङ्क्रमण देखिएको थियो ।

उनी अहिले कोरोनामुक्त रहेको र त्यसपछि अहिलेसम्म नेपालमा कुनै सङ्क्रमण नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनासँग सम्बन्धित काममा बढि ध्यान दिनसमेत बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले यसअघि नै धेरै सङ्ख्यामा उपस्थित भएर गरिने कार्यक्रम नगर्न भनिसकेको छ ।

विद्यालयमा विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षणमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।

बजारमा मास्क अभाव हुने सम्भावना रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घसँगको समन्वयमा तत्कालै उत्पादन गर्ने विषयमा सरकार गम्भीर रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए ।

‘सस्तोमा मास्क उत्पादन गर्न छलफल भइरहेको छ, अनुदान दिनुपर्ने विषयमा पनि राज्य गम्भीर छ’, समितिका संयोजक पोखरेलले बैठकपछि पत्रकारसँग भने, ‘राज्यले कुनै पनि वस्तुको अभाव हुन दिँदैन, अभाव नहोस् भन्नेमा सावधानी अपनाएको छ ।’

भारतले केही औषधि र कच्चापदार्थ निर्यातमा प्रतिबन्ध लगाएको भन्ने विषयमा पत्रकारले सोधेको जिज्ञासामा उपप्रधानमन्त्री पोखरेलले नेपाललाई अत्यावश्यक औषधि उपलब्ध गराउन भारत सहमत रहेको स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here