११ फागुन, काठमाडौं । लियोनल मेस्सी एक्लैले ४ गोल गरेपछि साविक विजेता बार्सिलोनाले इबरमाथी ५ – ० को जीत निकालेको छ ।
शनिबार भएको खेलमा इबरलाई ५-० गोल अन्तरले हराएसँगै बार्सिलोना लालिगाको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गरे । अर्को एक गोल अर्थरले गरे ।
बार्सिलोनाको जीतमा मेस्सीले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए।
४० औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गर्दा बार्सिलोना ३-० ले अघि रह्यो । मेस्सीको यो करियरको ४८ औं ह्याट्रिक हो ।
दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्यो । खेलको ८७ औं मिनेटम मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई ५-० को जीत दिलाए ।
जीतसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको ५३ अंक छ ।