२२ असोज, काठमाण्डौ। टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डसंग पराजित भएसँगै पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपालको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । बुधबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसंग १३ रनले पराजित भएको हो ।
सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै १ सय ३२ रनमा समेटियो । नेपालका मध्यक्रमका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले लक्ष्य पुरा गर्न सकेन । सुरुवाती ब्याट्सम्यानले उत्कृष्ट प्रर्दशन गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान गतिलो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित भएको हो ।
आरिफ शेखले २६ रन बनाएको ईनिङ्समा ओपनरद्वय पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाएका थिए । दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए । आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक ३ विकेट लिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए । एन्ड्री बलबीनीले ३८ रन बनाएर आउट भएका थिए । तर अन्य ब्याट्सम्यानको प्रर्दशन उल्लेख्य रहन सकेन ।
सन्दीप लामिछानेले आयरल्याण्डका आक्रमक ब्याट्सम्यान केभिन ओ ब्रोएनलाई ५ रनमा पोविलियनको बाटो देखाउँदै नेपाललाई सहज सुरुवात दिलाएका थिए । नेपालका अविनाश बोहरा र सन्दीप लामिछानेले समान २ तथा ललित राजवंशी र करण केसीले समान एक विकेट लिएका थिए ।
नेपाललाई हराउँदै आयरल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट ६ अंक जोडेको छ । नेपाल २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ । नेपालले यसअघिका २ खेलमा नेदरल्याण्ड र हङकङलाई पराजित गरेको थियो ।