आज नाग पञ्चमी , आधुनिकताले गर्दा घर घरमा नाग टाँस्ने प्रचलन हराउँदै

0
1290

साउन २०/
हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी अर्थात आजकै दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ ।
त्यसैगरी गुरु पुरोहित हरुले आजकै दिन घर घरमा गएर नाथको आकृति भएको चित्र टाँस्दै नागको पुजा गर्ने गर्दछन् । घरमा नाग टाँस्ने ब्राम्हणलाई दान नदिए सम्म खाना खान हुँदैन भन्ने पुरानो मान्यता रहँदै आएको छ । तर पछिल्लो समय घर घरमा नाग टाँस्न हिँड्ने ब्राम्हणहरु कम हुँदै गएका छन् । पहिला पहिला घरमा ९÷१० वटा नाग टास्ने ब्राम्हण आउने गरे पनि अहिले एकजना ब्राम्हण आउन पनि मुस्कील हुन थालेको दमक ५ की गायत्रा बरालले बताउनु भयो । पहिला गाउँमा घरको भित्तै भरी नागको तस्विर हुने भए पनि आजकल कसै कसैकोमा एउटा दुईवटा मात्रै देखिने गरेको दमकका सामाजिक व्यक्तित्व पर्शुराम रिजालले बताउनु भयो ।
पछिल्लो समय युवा पुस्ता नाग टाँस्न हिंड्न लजाउने गरेकोले पनि नाग टाँस्ने चलन हराउन थालेको पण्डीत सुमन खनाल शास्त्रीले बताउनु भयो ।
घर घरमा नागको आकृति टाँसेर पुजा गर्नाले घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ । आजैका दिनबाट वर्षायाम समाप्त भएर हिउँद सुरु भएको पनि मानिन्छ ।
ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा बिधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here