साउन ६/
अबिरल बर्षा संगै आएको चट्याङ लागेर आज मोरङग र झापामा एकजनाको मृत्यु भएको छ भने तिनवटा चौपाया मरेका छन् । त्यसैगरी एक महिला घाईते भएकी छन् । मोरंगको धनपालथान गाउँपालिका ३ सोराभागका ५० वर्षीय श्याम मण्डलको आज बिहान परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । घरबाट अन्दाजी दुई सय मिटर पर रहेको खेत धान रोप्नका लागि हिल्याउँदै गर्दा चट्याङले मण्डलको मृत्यु भएको र जोतिरहेका एक हल गोरु पनि मरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताउनु भयो ।
त्यस्तै, मोरङगकै सुनबर्सि नगरपालीकामा चट्याङले लागेर एक युवती घाइते भएकी छन् । आफ्नै घरमा बसिरहेका बेला सुनवर्षी नगरपालिका ९ पार्वती टोलकी २८ वर्षीया लक्ष्मीदेवी केविरथ चट्याङ्ले लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएकी उहाँको चट्याङले कान र टाउकोमा चोट लागेको छ । चट्याङले स्थानीय श्रवण सहनीको विद्युत मिटर बक्समा पनि क्षति गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै पथरीशनिश्चरे नगरपालिका २ प्रगति टोलका प्रकाश दाहालको घरमा रहेको टिभी र मल्टी प्लगमा चट्याङले क्षति पुर्याउँदा २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । यता चट्याङ लागेर आज बिहान झापामा दुईवटा राँगा मरेका छन् । झापा मेचीनगर नगरपालिका ११ बस्ने टेकनाथ गौतमको गोठमा बाँधी राखिएको दुईवटा राँगा चट्याङ लागेर घटनास्थलमै मरेका हुन । साथै चट्याङ लागेर छेउमा रहेको परालको कुन्युमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले बताउनु भयो ।
त्यस्तै कनकाइ नगरपालिका ९ भानुभक्त गौतमको खाद्य मिलमा चट्याङले क्षति पुर्याएको छ । चट्याङको झड्काले मिलको मिटर बक्स, इनभटर,१२ भोल्डको ब्याट्री एक थानमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
यो सँगै जिल्लामा अन्य मानविय क्षति सम्बन्धी खवर भने हाल सम्म नआएको श्रेष्ठले बताउनु भयो ।