परमाणु सम्झौता उल्लंघन गरेको इरानी घोषणा

0
773
तस्बिरःबीबीसी

२२ असार, काठमाडौं ।  इरानले चार बर्ष अघि गरिएको परमाणु सम्झौता उल्लंघन गरेको औपचारिक घोषणा गरेको छ ।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा त्यहाँका सहायक विदेशमन्त्री अब्बास अराक्चीले आफ्नो देशले सम्झौतामा उल्लेख गरिएको युरेनियमको थप प्रशोधन वा इनरिचमेन्टको सीमास्तर तोडेको घोषणा गरे । सम्झौताले आफूसँग राख्न अनुमति दिएभन्दा बढी (लो इनरिच्ड) युरेनियमको भण्डारण बढाएको दावी गरेको साता दिन नबित्दै इरानको यस्तो घोषणा गरेको हो । उसले इनरिच्ड युरेनियम आणविक भट्टीमा इन्धनको रूपमा र पारमाणविक अस्त्रमा पनि प्रयोग हुनसक्ने बताएको छ ।

तस्बिरःबीबीसी

युरोपेली संघ (इयु)का विदेशनीति प्रमुखलाई पठाएको पत्रमा इरान अब उक्त सम्झौतामा तोकिएका विभिन्न सीमाहरूमा अडिग नरहने स्पष्ट पारिएको छ । यद्यपी इरानले आणविक हतियार निर्माण गर्ने आफ्नो कुनै मनसाय भने नरहेको प्रष्ट्याएको छ । यसअघि सन् २०१८ मा अमेरिका एकपक्षीय रूपबाट सम्झौताबाट बाहिरिएको थियो। सन् २०१५ मा परमाणु सम्झौतामार्फत इरानको महत्त्वाकांक्षालाई सीमित पार्ने शर्तमा ऊमाथि लगाइएका प्रतिबन्ध खुकुलो पारिएको थियो। सम्झौता अनुसार इरानले ३ देखि चार प्रतिशत घनत्व हुने लो इनरिच्ड युरेनियम (U-235) मात्र उत्पादन गर्न पाउँथ्यो जुन आणविक ऊर्जा भट्टीमा मात्र प्रयोग गर्न पाइन्छ। त्यस्तो युरेनियम तीन सय किलो मात्र भण्डारण गर्न सम्झौताले अनुमति दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here