असार १९/
प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दल प्रदेश नम्बर १ ले आज पार्टिका केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग आयोजना गरेको ‘संसदमा कांग्रेसको भूमिका’ विषयमा छलफलमा सहभागी सांसदले सरकारको गतिविधि ‘सिक्दै छौं, अनुभव गर्दै छौं र सिकाउँदै छौं’ भन्नेमै सीमित भएको टिप्पणी गरे ।
प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सदनमा कांग्रेसले प्रतिपक्षीको रुपमा गहन र जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको बताउँदै सरकारका काम कारबाहीलाई गम्भीर रुपमा लिने त्यसबारे आफ्नो धारणा राख्ने र जनताका आवाजलाई सरकारसमक्ष ल्याउने काम गरेको बताउनु भयो । कोइरालाले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे ।
प्रमुख सचेतक केदार कार्कीले प्रदेश संसदमा प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसको भूमिका कमजोर नभएको दाबी गर्नुभयो । उहाँले जनताका धेरै विषयलाई सदनमार्फत उठाए पनि सरकारले खासै चासो नदिने गरेको बताउनु भयो ।
सांसद नवोदिता चौधरीले आफूसँग संविधान सभाको अनुभव रहे पनि प्रदेशमा भने अली व्यवस्थित ढंगले प्रतिपक्षीले समेत आफ्नो प्रस्तुति दिन नसकेको बताउनु भयो ।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रको प्रतिनिधि सभामाभन्दा तल प्रदेश संसदमा प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसको भूमिका निकै उत्साहप्रद रहेको बताउनु भयो । कोइरालाले सत्तारुढ नेकपा गणतन्त्र संस्थागत नहोस भन्ने पक्षमा रहेको आरोप लगाउनु भयो ।
कोइरालाले प्रदेश रहला–नरहला भन्ने अहिल्यै जनस्तरसम्म पनि बहस छेडिएको अवस्थामा यो संविधानत आएकोले अब कांग्रेसले नै संस्थागत गर्न भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।