जेठ २६/
नगरपालिका भएको करिव ३७ वर्षपछि पहिलोपटक झापाको दमक १० मा खानेपानी आयोजना निर्माण कार्य शुरु भएको छ ।
बर्षौंदेखि भुमिगत ट्युबेलको पानी प्रयोग गर्न बाँध्य साविक वडा नम्बर १५, १६, १७, १८ र १९ हाल दमक १० वडामा सानो बाह्रघरे खानेपानीको आयोजना निर्माण शुरुको हो । आयोजना निर्माण शुरु भएपछि त्यस क्षेत्रका बासिन्दाहरु हर्षित भएका छन् ।
नगरको शहरी क्षेत्रमा मात्रै केन्द्रीत भएका खानेपानी योजनाहरु ग्रामीण भेगमा पनि सञ्चालनमा ल्याउन उपभोक्ताहरु सक्रिय भएपछि अहिले धमाधम आयोजनाको कामले गति लिएको वडाध्यक्ष बोधराज न्यौपाने वताउनुभयो । सानो बाह्रघरे खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्र्तगत उक्त आयोजनाको प्रारम्भिक चरणका कामहरु सञ्चालनमा रहेको छ ।
आयोजना निर्माणका लागी स्थानीय नरबहादुर बिष्ट, लाईफलाइन अस्पताल, र बेधनिधि शिवाकोटीबाट संयुक्त रुपमा करिब ८ कट्ठा जग्गा निशुल्क उपलब्ध भएको हो । आयोजनाका निर्माणका लागी प्रदेश सरकारबाट बिनियोजित रु ९० लाख बजेटबाट अहिले आयोजना निर्माण काम भइरहेको छ ।
डिपिआरसहित आयोजना स्थलमा पहिलो चरणमा पक्की घेराबारा, सडक बिस्तार ,कल्भर्ड निर्माण, बोरिङ गाड्ने काम भइरहेको समितिले जनाएको छ । ४ लाख ५० हजार घनलिटरको ट्ङकी र २ वटा बोरिङ रहने यस आयोजनाबाट दमक ९ को आंशिक र १० को सबै क्षेत्र गरेर १ हजार ६ सय ७१ घर धुरी उपभोक्ता लाभान्दित हुने समितिका सचिव खगेन्द्र भट्टराईले बताउनुभयो ।