एउटा चुनावी चिट्ठी

0
286

भर्खरै नागरिकता प्राप्त गरेकी युवति भोट खसाल्न पाइने भो भनेर दंग पर्दै छिन् | मोहन चालीसको लाग्यो तर उ पनि पहिलोपटक भोट खसाल्ने तरखर गर्दैछ किनभने ऊ दूवईको तातोमा छिरेकै २३ वर्ष भैसकेको रहेछ | यस पटक भने छुट्टीले यस्तै जुरायो |

Dr. Govinda Upadhyaya

उसको २४ वर्षीय छोरा मनोजमा भने आसन्न चुनाव, राजनैतिक पार्टी, चुनावी प्रचारप्रसार आदिमा कुनै चासो नै देखिएन | ऊ सधैं वुवा-आमासंग “जुनजोगी आए पनि कानै चिरेका” भनेजस्ता तर्कमात्र गरिरहन्थ्यो | नेपालमा प्रचलित कुनै राजनैतिक दल र तिनको चिन्तनले राज्यब्यबस्था सुध्रिन्छ भन्ने उसमा कत्तिपनि विश्वास थिएन |

उसका केही आफन्तहरू फलानो पार्टीका लागि मरिमेटेर प्रचारप्रसार गरिरहेका थिए | उनीहरूले मनोजलाई आफ्नो पार्टीमा समावेश गर्न निकै कसरत गरे | जागिरको प्रलोभन देखाए, ठेक्कापट्टाको लोभ देखाए तर ऊ अडीग रह्यो |

एकदिन उसका आफ्नै बाबुले फलानो पार्टीको सदस्य बन्न र प्रचारप्रसारमा लाग्न निकै कर गरेपछि उसले आफ्नो गोजीबाट एउटा कागज निकाल्यो र आफ्नो बाबुको हातमा थमाएर आफ्नो कोठातिर लाग्यो |

बाबुले अचम्म मान्दै त्यो कागजको पाना खोले | त्यसमा सुन्दर अक्षरमा निम्न कुराहरू लेखिएका रहेछन् :

नेपालमा प्रजातान्त्रिक र गैर-प्रजातान्त्रिक विधिले चुनाव गरेर आफ्नो प्रतिनिधि मार्फत सरकार बनाउने प्रक्रिया आरम्भ भएको ठ्याक्कै ६६ वर्ष वितिसके | यो अवधिमा धेरै संविधान बने | राजा नेता फेरिए तर जनताको भाग्य फेरिएन | सबैले जनताको प्रयोग गरे तर असफल भए |

विगतको चुनावमा मैले अत्यन्त सक्रियता पूर्वक प्रचारप्रसार र मत दान दिएकै हो | तर न मेरो जिन्दगीमा परिवर्तन आयो न देशको विकासमा एउटा ढुंगा थपियो | विकासका कार्यहरू सरकारले होइन वरू श्रीमद्भागवत-सप्ताहको पैसाले गरिएको म आफैले अनुभव गरिरहेको छु |

रेमिटान्स र जनताले तिरेको करको हविगत मैले बुझेको छु | विदेशी र स्वदेशीहरूको रजाईका खातिर गरिने राजनैतिक द्वन्द र त्यसबाट मुलुकलाई वाहिर ल्याउने नाममा धनको दुरुपयोग भएको छ | अझैं भन्नुपर्दा गाउँघरमा देखिएका बाटाघाटाहरू विकासको लागि होइन ठेकेदार र तिनका मतियारले सरकारी पैसा दुरुपयोग गर्ने क्रममा भएका हुन् |

रह्यो कुरा यो वर्ष चुनावमा भोट हाल्ने मैले अलिलेखा पढेका र सर्वसाधारणलाई केही कुराहरू सोधेको थिएँ, तपाईंका लागि जस्ताको तस्तै यहाँ लेखिदिएको छु :

१. प्राध्यापक : यी सबै पार्टीहरू विदेशीका दलाल हुन् | आफ्नो र आफन्तको पेट भर्नका लागि चुनावको राजनीति गर्छन् र प्रजातन्त्र भनेर जनताको इमोशनल ब्ल्याक मेलिंग गर्छन् | भोट त दिनै पर्यो तर नराम्राहरू मध्ये केही कमसल रोजेर भोट हाल्छु |

२. विद्यार्थी : के को भोट हाल्ने | आखिर पढेरलेखेर पनि खाडीको गर्मी खान जानैपर्छ | यी चोरहरूले के नै गरेका छन् र हाम्रो लागि | यिनले आफ्ना आफन्तहरूलाई मात्र तान्ने त हुन् ! यी भोट खसाल्नु पर्छ भनेर उफ्रिने केटाकेटी देख्नुभएको छ, यिनका कुनै नकुनै आफन्त राजनीतिमा छन् |

३. कर्मचारी : खै आफु त सरकारी मान्छे | अह्राएको मान्नैपर्छ | हाम्रो सुनिदिने कोइ छैनन् | आफ्नो मान्छे भएकाले काम गर्दैनन् | सेटिंग मिलाएर दाम कमाउने ठाउमा पुग्छन् | कार्यालयना काम नगरे पनि उनकै ठूला महल छन्, उनकै छोराछोरी ठूलो विद्यालयमा पढ्छन् |

४. ब्यापारी : जहिले पनि चन्दा दिंदा वाक्क हुन्छ | कति राजनीति लागेको हो नेपालीलाई | हामीले सानो गल्ति गर्यो वा समयमा राजस्व तिर्न सकिएन भने हामीले ठूलो सास्ती भोग्नुपर्छ तर यी राजनैतिक नेताहरूको कुनै जागिर छैन, उद्योग-व्यापार छैन तर ठूलाठूला घर, कार महल छन् राजस्वले केही गर्दैन | भोट दिन पटक्कै मन छैन |

५. महिला : खै, बूढाले कस्लाई भोट दिन्छन् वा दिन भन्छन् त्यतै दिन पर्ला | हामीलाई कसले हेर्छ र हुनेखानेहरू ठूलाठूला होटलमा भोज खाएर हाम्रो लागि छुट्याएको पैसा सक्छन् | यहाँ प्रतिनिधिमा उठाउने बेला पनि आफुले भनेको मान्ने र सही मात्रै गरिदिने महिला खोज्छन् | गर्न सक्नेले पटक्कै अवसर पाउन्नन् | बूढाले कर नगर्ने हो भने सत्ते-सत्ते कसैलाई भोट दिन्न |

यी कुरा सुनेपछि मैले पनि भोटदिने नदिने कुरा गोय्य राखें | मेरो यी राजनैतिक ब्यबस्थाप्रति कुनै विश्वास रहेन | कम्युनिस्ट र प्रजातन्त्रवादी दूबैले विदेशबाट आयात गरिएको राजनैतिक सिद्धान्त वोकेर देश विकास गर्छौं भनिरहेका छन् | तर ६६ वर्ष प्रयोग गर्दा पनि असफल, अफाप भएको राजनैतिक दर्शनले विकास गर्न सक्छ भन्ने मैले विश्वास गर्न सकिन |

मेरो विचारमा नेपालका राजनैतिक पार्टीहरू रक्सीका विभिन्न ब्रान्ड हुन् | केही पुराना छन् केही नया छन् | यिनका नारा नै रक्सीको मात हो | कहीं बढी मात लाग्छ र कहीं कम | भाँडो फेरिंदैमा रक्सीले मात दिन छोड्दैन | भ्रष्टाचार, बेइमानीआदि यिनको नशा-नशामा बगिरहेको छ |

मैले भनिंसकें : मैले भोट दिन्छु कि दिन्न कसैलाई भन्न जरूरी छैन | वुवा हजुरलाई पनि भन्न जरुरी ठान्दिन | तर यी राजनैतिक सिद्धान्तहरूले नेपालको मुहार फेरिन्न भन्ने कुरामा विश्वास नभएपछि राजनीतिमा नलाग्ने निर्णय गरेको हुँ |

नेपाल विश्वको जीवित संग्रहालय हो | विश्वका प्राचीनतम सभ्यताको स्रोत हो | वैदिक, बौद्ध, जैन, वोन, किरात, तमु, थारुआदिको मौलिक आदि स्रोत हो | हामीसंग आफ्नै राजनैतिक सिद्धान्त, अर्थ सिद्धान्त, शैक्षिक सिद्धान्त पूर्खाबाट प्राप्त छन् | तर यी विदेशबाट आयातित राजनैतिक सिद्धान्त बोक्नेहरूले आफ्नै रैथाने विद्या, सीप विज्ञताआदिलाई कहिले पनि महत्व दिएको देखिन | उनीहरू सधैंसधैं युरोप, अमेरिका वा भारतको मुखमात्रै ताक्छन् | यसरी देशको विकास हुँदैन |

तपाईंले माथि विद्वानदेखि सर्वसाधारणहरूका विचार पढ्नु नै भयो | यी राजनैतिक पार्टी र यिनका कार्यक्रमसंग कोही पनि खुसी छैननन् | न त यी राजनैतिक पार्टीले सरकार बनाएपछि देशको विकास हुन्छ भन्ने कुरामा विश्वास नै गर्छन् | हाम्रो पनि यही अनुभव छ |

मेरो विचारमा अव मजस्तो युवा यी आयातित राजनैतिक सिद्धान्त वाहकहरूको पछि लाग्नु हुँदैन | मैले आफ्नो उर्जा आफ्नो इतिहासले प्रदान गरेका शिक्षामा आधारित “नेपाललाई केन्द्रभूमिमा राख्ने” चिन्तनलाई विकास गर्न, जनजनमा पुर्याउन खर्च गर्नुपर्छ |

नेपाल र नेपालीहरूका लागि सुहाउँदो राजनैतिक विधिको किताव मैले तपाईं दूबई छंदानै पठाएको थिएँ | पढ्नु भयो नै होला | अवको मेरो बाटो त्यसैमा केन्द्रीत रहने छ | मैले राज्यराष्ट्र जरोकिलो आन्दोलनले उठाएको कुरा गरेको हुँ | साथै मलाई यसले गहिरो निराशाको खाडलबाट निकालेर जीवनदिशा दिएको कुरा पनि भन्न चाहन्छु |

म राजनैतिक पार्टीको प्रचारप्रसार गर्न पटक्कै जान्न | रह्यो कुरा भोट खसाल्ने कि न खसाल्ने यो मेरो निजी कुरा हो | हजुरले पनि एकपटक मेरो यो बुझाईवारे अवश्य सोच्नुहोला |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here