प्रदेशकै पशु बजार समयमा सक्न धौ धौ
२ जेष्ठ २०७५/ डिकेश लामा
दमक/झापाको दमकमा निर्माधिन प्रदेश नम्बर १ को आधुनिक पशुपंक्षी थोक
बजार निर्माण कार्य समयमा सम्पन्न गर्न धौ धौ परेको छ । यो महिनाको मसान्तसम्म दोस्रो पटक थप म्यादमा काम गरिएकोले जसरी पनि सक्नु पर्ने बाध्यताले काम तिव्र पारिएको भए पनि समयमा काम नसकिने स्थानीय बासिन्दाहरु बताएका छन् ।
मिति २०७३ भदौ १० गते १३ महिना अवधिमा काम सक्ने भनेर लामा एण्ड रमण निर्माण कम्पनि प्रा.लि.जे.भी. काठमाण्डौले लिएको ठेक्का दोस्रो पटक थप म्यादमा पनि काम गर्न भने मुश्किल रहेको कामदारहरु बताउँछन् ।
१३ करोड २९ लाख १८ हजार २ सय ४२ रुपयाँको लागतमा निर्माण थालिएको काम गत अशोज महिनामा नै सम्पन्न हुनु पर्ने हो । तर पहिलो पटक म्याद थप गरेर काम चालु राख्दा पनि काम नसकेपछि पुन दोस्रो पटक म्याद थप गरिएको हो । यो दोस्रो म्यादको भाखा पनि अवको १ महिना भित्रमा समाप्त हुने छ । ४ वटा मुख्य गाई, भैंसी, बाख्रा, प्रशासन कार्यालय र सार्वजनिक शौचालय सहितका भवनको काम निर्माण भईरहेको निर्माणका इन्जिनियर विवेक दाहालले बताउनु भयो ।
हाल बजार भित्र हुने पार्किङ्ग, सडक आदिको काम भने भईरहेको छ । विश्व बैंकको सहयोगमा नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तर्गत व्यवसायिक कृषि तथा व्यापार आयोजनाको लगानीमा निर्माण कार्य थालिएको हो । नेपालकै पुरानो र ठूलो पशु बजारको रुपमा चिनिएको दमक वडा नं. ७ को पशु बजार ५ विहाग ४ कठ्ठा २ धुर जमिनमा वरिपरि घेराबारा सहित व्यवस्थित रुपमा रहने बताइएको छ ।












