पुर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका संकटाभिमुखहरूका लागि परोपकारी कार्य सञ्चालन गर्न पुनर्वास भुटानीहरूले छलफल चलाएका छन् । अमेरिकामा पुनर्वास भुटानी शरणार्थीहरूको संस्था अर्गनाइजेसन अफ भुट्निज कम्युनिटी इन अमेरिकाको(OBCA) २९ जुलाईमा शुरु भएको सातौ सम्मेलनमा सो विषय माथि छलफल भएको हो ।
सम्मेलनको पहिलो सत्रमा शिबिरमा घटिरहेको सहायताबाट प्रभावित ब्यक्ति र परिवारहरूलाई सहयोग गर्न विशेष अभियान चलाउने बारे छलफल भएको ओविसिएका अध्यक्ष डिबी राईले बताएका छन् । शिबिरहरूमा परिवारबाट बिछोडिएका संकटाभिमुखहरू कम्तिमा पाँचसय हाराहारीमा रहेको अनौपचारिक तथ्यांक रहेको पनि ओविसिएले जनाएको छ । ओविसिएले शिबिरमा दर्ता र सहायताको पखाईमा रहेका भुटानीहरूको लागि पनि सहयोग गर्न पुनर्वास भुटानी समुदाय वीच छलफल चलाउने निधो गरेको छ ।
[pullquote]सम्मेलनको पहिलो सत्रमा शिबिरमा घटिरहेको सहायताबाट प्रभावित ब्यक्ति र परिवारहरूलाई सहयोग गर्न विशेष अभियान चलाउने बारे छलफल भएको ओविसिएका अध्यक्ष डिबी राईले बताएका छन् ।[/pullquote]
ओबिसिएका अध्यक्ष डिबी राईको अध्यक्षतामा भएको सम्मेलनको पहिलो दिनको सभामा ओबिसिएका पुर्व अध्यक्ष डिजे खालिङ, सामाजीक ब्यक्तित्व डिएस घले, उपाध्यक्ष दिलिप दाहाल, ग्लोवल भुट्निज लिटरेचर अर्गनाइजेसनका अध्यक्ष डेन्जोम साम्पाङ, शरणार्थी मामिलामा जानकारी राख्ने नेपाली पत्रकार गोपाल गडतौला, सम्मेलनको स्थानिय आयोजक समिती भुटानी समुदाय नेब्रास्काका अध्यक्ष भिम गुरुङ, प्रकाशन संयोजक कर्ण गुरुङ, लगायतले भुटानी समुदायको अवस्थाका विविध पक्षबारे धारणा राखेका थिए ।
२९ जुलाईमा शुरु सो दुईदिने सम्मेलनमा अमेरिकाका विभिन्न राज्यमा पुनर्वास भएका भुटानी महिलाहरू विचको फुटवल प्रतियोगिता पनि सञ्चालन गरिएको छ । प्रतियोगिताको फाइनल ३० जुलाईमा हुँदैछ । सन् २००८देखि अमेरिका लगायतका विभिन्न आठ पश्चिमी मुलुकमा पुनर्वास भएका भुटानी मध्ये करिव ८७ प्रतिशत अमेरिकामा पुनर्वास भएका छन् । हालसम्म एकलाख ९ हजारको संख्यामा भुटानी शरणार्थीहरू नेपालबाट ति मुलुकमा पुनर्वास भएका छन् । हाल पुर्वी नेपालका शनिश्चरे र बेलडाँगीस्थित दुईवटा शिबिरमा साढे नौ हजार शरणार्थी रहेका छन् । सन् २०१०मा गठित ओविसिएले वर्षै पिच्छे सामाजीक, साँस्कृतिक गतिविधिसाथ बार्षिक सम्मेलन गर्दै आएको छ ।












