राजनीति विषयमा लेख्ने र त्यसमा लागिपर्ने मानिस नभए पनि मलाई अस्तिको स्थानीय चुनावपछि केही भन्नुपर्ने विषय छन् जस्तो लागिबस्छ। चुनावको विषयमा अखबारहरूमा सटिक विश्लेषणहरू पढिआएको छु। अहिले सबैतिर चुनाव र त्यसका परिणामबारे चर्चा भएका छन्। स्थानीय तहले धेरै बजेट चाहिने योजना बनाए, केन्द्र र सिंहदरबारले कस्न खोज्यो जस्ता प्रयोगै नभएका विषयमाथि निष्कर्ष सहितका समाचार अखबारहरूमा ब्याप्त भएका छन्।
यो चुनावमा किन यति धेरै मानिस भोट दिन आए भन्ने प्रश्नका उत्तर त्यत्तिकै पुरातनवादी छन्, सिद्धान्तले वा अभ्यासले। पैसाको खोलो बगेकाले मानिसहरू त्यसरी भोट दिन आए जस्ता अभिव्यक्तिहरूले यो देशका सर्वसाधारण नागरिकमाथि कति नकारात्मक र अविश्वास गर्ने मनोग्रन्थि बनेको रहेछ भन्ने देखिन्छ, ‘आइडियोलोजी’हरूको। साधारण अर्थमा, मैले देखेको, अहिले नेपालमा परिवर्तन भएको कुरा गतिशील ‘न्यारेटिभ’ हो। तर परिवर्तन कति छिटोछिटो भएका छन् र ती कताकता जाँदैछन् भन्ने कुरामाथि केही साधारण विम्ब लिएर पनि देख्न सकिने रहेछ भन्ने कुरा हेर्नु भने चाखलाग्दो हुने रहेछ। कहिलेकाहीं शास्त्रहरूले भन्दा विम्बहरू अनि ससाना संस्मरणले बढी कुरा भन्छन्। यिनै कुराहरू राख्ने प्रयास भएको छ, यस छोटो लेखमा। म शास्त्रहरू निकै पढ्ने र पढाइबस्ने मानिस भए पनि तिनलाई मुल्तबी राखेर सोच्दा नयाँ कुरा पाउँछु जस्तो लाग्छ। त्यसो त विद्वत छलफलपछि निचोडमा बुझिने कुरा पनि सानै हुन्। एकाध साना प्रसङ्गबाट आरम्भ गर्छु।
मिडिया पण्डित भनिएका क्यानाडाका मार्सल मक्लुहानले लेखेका किताबबाट निकै कुरा खुल्छन्। ‘अन्डरस्ट्यान्डिङ मिडिया’ (१९६४) भन्ने तिनको युगान्तकारी किताबमा तिनले भनेको एउटै कुरामात्र यहाँ राख्न चाहन्छु। त्यस किताबमा तिनले ठन्डा माध्यम र गरम माध्यम भनेर छुट्याएका छन्। घतलाग्दा कुरा भनेका छन्, जस्तो कि एउटा फोटो भनेको गरम माध्यम हो, किनभने यसमा सबै कुरा देखिन्छन्। कार्टुन ठन्डा माध्यम हो, किनकि यसमा कुरा भर्नुपर्छ। रेडियो गरम माध्यम हो भने टेलिफोन ठन्डा माध्यम हो, किनभने विचरा फोनले एउटा कानमा थोरै सूचनामात्र हाल्न सक्छ। बोलीचाली ठन्डा माध्यम हो, किनकि जो तिमीलाई सुन्दैछ, त्यसले तिम्रो कुरा सुनेर तिमीले नभनेका खाली ठाउँ भर्नुपर्छ। तर अर्को एउटा कुरा छ। त्यो हो, ठन्डा माध्यममा धेरै सहभागिता हुन्छ, गरम माध्यममा त्यति हुँदैन। किनकि त्यो त्यसै ब्यापक छ, कसैले सुनुन् कि नसुनुन्। नेपाली समाजमा मिडिया र विचारमा कति छिटो र कति व्यापक परिवर्तन भए, त्यो कुरा हेर्दा धेरै कुरा बुझिन्छन्। तर मिडियासँग सिद्धान्तहरू पनि परिवर्तन भएका देखिन्छन्। हिजो शीतयुद्धको युगका नाइके देश अमेरिका र रूसमा अहिले जुन मिडियाका कारणले शक्तिका उथलपुथल हुँदैछन्, त्यत्ति हेरे पुग्ने भैसकेको छ। मेरो उदाहरण सानो छ।
पहिलो जनयुद्ध पछिको अमूक वर्षको कुरा हो। अहिले मलाई सम्झना भएन। एउटा वाचाल समाचार आयो। मेरा साथी कवि मञ्जुलका भाइ एमालेका युवा नेता प्रदीप नेपालले अरू नेताले नगरेको काम गरेछन्। तिनले मोबाइल किनेर प्रयोग गर्न थालेछन्। समाचारहरू आए। प्रदीप नेपालको पार्टीको माथिल्लो तहका अनौपचारिक मिटिङहरूमा आलोचना भयो। यिनले यो के गरेको मोबाइल प्रयोग गरेर? के यी गद्दार भएकै हुन्? के यिनको अब पुँजीवादी संस्कृतिभित्र प्रवेश हुनलागेकै हो? आदि–आदि प्रश्न उठे। मैले केही अखबारमा पढेंँ। मलाई अहिले त्यो सानो घटना सम्झिंँदा ठूलठूला कुरा खुल्छन्। मलाई त्यति सम्झना छैन, यी प्रदीप भाइका लेखहरूमा पनि भेटिन। यिनले सायद मैले सूचनाको गतिशील चरित्रको उचित प्रयोग गर्न मोबाइल प्रयोग गर्न थालेको हुँ भनेर बयान दिएका थिए। म सबै यकिन उद्धरण गर्न सक्तिन। तर यो घटना घटेको थियो र यो वाचाल घटना थियो। यसबाट धेरै कुरा बुझिन्छ। प्रदीपले मोबाइल छाडेनन्, यसको प्रयोगमा पनि यिनले मन्त्री भएका बेला केही परिवर्तन ल्याएका थिए जस्तो लाग्छ।
नेपालमा प्रदीपको मोबाइल कालदेखि अहिलेसम्म नेपालमा कम्युनिस्टहरूकै मिडिया जगत, सूचना र सिद्धान्त बुझ्ने शैलीमा परिवर्तन भयो। त्यो परिवर्तन सिद्धान्तवादीको गद्दारवादतिरको परिवर्तन थिएन, त्यो सिर्जनशील परिवर्तन थियो। विश्वमा आएको परिवर्तनको हिस्सा थियो, त्यो। अहिले कम्युनिष्टहरूको बीचमा परिवर्तनका कुरा विम्बको रूपमा उठेका छन्। कान्तिपुरमा पढेंँ, माओवादीका उच्च नेताले पढ्न छाडे। कान्तिपुरमै शनिबार प्रकाशित कवि विमल निभाको व्यङ्ग्य झन् वाचाल छ। उनी लेख्छन्, ‘हो, हावाको विराट शून्यतामा निरुद्देश्य फिरफिर हल्लिरहेको ‘रूखको पात’ नै नेकपा माओवादी (केन्द्र) का लागि उपयुक्त चुनाव चिन्ह हुनेछ। यो संसदीय प्रजातन्त्रमा ‘हँसिया–हथौडा’जस्तो गह्रुँगो चुनाव चिन्ह लिएर के पो लाभ हुन्छ र?’ यो व्यङ्ग्यले कम्युनिष्टहरूले अनुभव गर्नथालेको द्वन्द्वलाई सङ्केत गर्छ। यसरी विम्बहरूको प्रयोग हुनथालेको केही वर्षयता हो। ७२ सालको महाभूकम्पपछि बाबुराम भट्टराईले माओवादी पार्टी छाडेको कारण बुझाउन भैंचालोपछि घरको अवस्था जाँचेर टाँसेका साइनबोर्ड प्रयोग गरेका थिए। रातो टाँसेको घर खतरनाक हुने भएकाले आफूले माओवादी दल छोडेको भन्न उनले विम्ब प्रयोग गरेका थिए।
अहिले कम्युनिष्टहरूको बीचमा परिवर्तनका कुरा विम्बको रूपमा उठेका छन्। कान्तिपुरमा पढेंँ, माओवादीका उच्च नेताले पढ्न छाडे। कान्तिपुरमै शनिबार प्रकाशित कवि विमल निभाको व्यङ्ग्य झन् वाचाल छ। उनी लेख्छन्, ‘हो, हावाको विराट शून्यतामा निरुद्देश्य फिरफिर हल्लिरहेको ‘रूखको पात’ नै नेकपा माओवादी (केन्द्र) का लागि उपयुक्त चुनाव चिन्ह हुनेछ। यो संसदीय प्रजातन्त्रमा ‘हँसिया–हथौडा’जस्तो गह्रुँगो चुनाव चिन्ह लिएर के पो लाभ हुन्छ र?’
विचारका बहसहरूमा विम्बको प्रयोग त्यतिबेला हुन्छ, जुनबेला आइडियोलोजी वा कर्म कि तीव्र हुन्छन् कि शिथिल हुन्छन्। अहिले कैयौं विम्बले पार्टी र आइडियोलोजीमा आएका शिथिलता र अविश्वासलाई प्रतिनिधित्व गर्छन्। अर्कोतिर नेपालमा राजनीतिक दलहरूमा सूचनाको प्रयोग र उत्पादनमा प्रयोग गर्ने होड चल्यो।
सूचना उत्पादन गर्ने कुरा चानचुने विषय होइन, यसका परिणाम गम्भीर हुनसक्छन्। आफ्नो बचाउ गर्ने र प्रोपगन्डा गर्नेहरू सूचना आफूलाई मिल्नेगरी जन्माउँछन्, जुन झुट हुनसक्छ, मनगढन्त हुनसक्छ। अहिले अमेरिका र पश्चिमी प्रजातान्त्रिक पद्धतिमा जुन कुरा सत्य हुँदैन, त्यसलाई अतिरिक्त सत्य हो भन्ने कुराका बहस चलेका छन्। आफूले हासिल गरेको उपलब्धिलाई देखाउन नसक्दा, पथभ्रान्त राजनीतिको ढाकछोप गर्दा, नेपालका दलहरूले आजकाल अतिरिक्त सत्यको सहारा लिएको देखिन्छ। यिनीहरूले हतियारजस्तो विषयको जसरी समाधान निकाले, हिजो अनेक दु:ख गरेर, देशदेशावर गएर हतियारको निम्ति पैसा र हतियार सङ्कलन गरेका बीपी कोइरालाले जसरी हतियार बिनाको राजनीतिमा परिवर्तन हुनुपर्ने देखे, माओवादीहरूले आफूले जम्मा गरेका हतियार जसरी छाडेर शान्तिपूर्ण राजनीतिको अभ्यास गर्न थाले, ती सबै उदाहरण नेपालको राजनीतिमा महत्त्व राख्ने विषयहरू हुन्।
नेपालमा साधारण जनता विषयमा नेपाली राजनीतिक चिन्तन र बोलीहरूमा अतिरिक्त सत्य बोलिने चलन देखिँंदैछ। दुइटा कुरामा देखिन्छ, त्यो। पहिलो र मलाई सधैं लागिरहने विषय भनेको नेपालका विपन्न साधारण र टाढा–टाढा बस्ने वा सहर–बजारमै बस्ने निमुखा मानिसबारे राजनीतिका सिद्धान्त र बोली प्रस्ट छैनन्। साधारण मानिसको सम्मान गर्ने कुरामा ती निकै चुकेका छन्। एउटा प्रश्न उठ्छ, अढाई वर्षसम्म शिरमाथि एउटा छानो नभएका भूकम्प पीडितलाई मद्दत गर्न कम्युनिष्टहरूलाई कुनै सिद्धान्तले रोकेको थिएन। सम्पत्तिमाथि बढी आँखा लगाउने बानी भएका नेपाली कांग्रेसलाई साधारण विपन्न मानिसलाई आफ्नो आदर्श मान्ने नेता बीपी कोइरालाका विचारले रोकेका थिएनन्। राजा, गाई र पूजनका पद्धतिको डोको बोकेर हिंँड्ने राष्ट्रिय प्रजातन्त्र पार्टीहरूलाई कुनै धर्मले रोकेको थिएन। भ्रष्टाचारलाई खुलेआम संस्थागत गर्नलागेका सरकारहरू र प्रशासनलाई तराईका बाढी पीडितलाई मद्दत गर्न संसद्मा दुई तिहाइ भोट र विधेयक चाहिएको थिएन, बरु पानीले भने तिनका घरजमिन दुई तिहाइ सिध्द्याइसकेको देखियो।
मेरा एक मित्र र साहित्यकार अनि नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतले लेखेको ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’को दोस्रो भागको ढड्डु संस्करणको विमोचनमा गएको थिएँ। पुरुषोत्तमले मलाई पहिले नै किताब पठाइदिएकाले पढेको थिएँ। यो खण्ड भद्र अवज्ञा आन्दोलनदेखि बीपीको कार्यकालभरि सम्मको रहेछ। त्यस अर्थमा अहिलेका सबै दलका नेताहरूले खुला मनले यो कालको तरलता र लोकतन्त्र समाप्त गर्ने के–के कारक रहेछन् भनेर बुझ्न पढ्नैपर्ने यो किताबमाथि बोल्ने कांग्रेसका नेताहरूले त्यो इतिहासको सम्वेदनशील पक्षमाथि बोल्नै सकेनन्।
यो विमोचनमा अरू दलका नेता र विचारकलाई नबोलाएको कुरा असंगत लाग्यो। बीपी कोइराला र नेपालको लोकतान्त्रिक राजनीतिको यति महत्त्वपूर्ण कालखण्डको कति मूल्याङ्कन होला, मलाई थाहा छैन। तर एउटा कुरा भने थाहा हुँदै गएको छ। त्यो हो, नेपालका सबै किसिमका राजनीतिक दल र नेताहरूले बीपीले साधारण नेपाली जनता राजनीतिको अन्तिम लक्ष्य हो, अनि तिनको शिर ठाडो गराउनु राजनीतिको लक्ष्य हो भन्ने सन्देश अस्ताचलतिर सर्दै गएको भने सत्य हो।
प्रकाशित: श्रावण ९, २०७४
(सामग्री स्रोत: http://kantipur.ekantipur.com)