अर्जुन प्रधान
द हेग, नेदरल्यान्ड्स – जुन १६, २०२५
नेपाली भूटानी समुदायको पहिचान, साहित्य र सामाजिक चेतनाको विश्वव्यापी अभियानस्वरूप सुरु गरिएको‘स्वीकारोक्ति ग्लोबल टुर २०२५ – युरोप संस्करण’ यो साता नेदरल्यान्ड्सबाट भव्य रूपमा सुरु भएको छ।
जुन १६ देखि २३ तारिखसम्म चल्ने यस विशेष सांस्कृतिक र सृजनात्मक यात्रा युरोपका छ प्रमुख देशहरू—नेदरल्यान्ड्स, लक्जेम्बर्ग, बेल्जियम, जर्मनी, स्विट्जरल्यान्ड र फ्रान्स हुँदै अन्ततः युनाइटेड किंगडम मा समापन हुने स्वीकारोक्ति फाउण्डेशनले जानकारी दिएको छ ।
साहित्य, संगीत, नाटक, कला र प्रवचनमार्फत नेपालीभाषी समुदायको जीवनयात्रा, चेतना र स्वाभिमान प्रस्तुत गर्ने उद्देश्यले यो टुर आयोजना गरिएको हो। प्रवासमा रहेका स्रष्टाहरूबीच सञ्जाल विस्तार गर्नु, साझा सिर्जनालाई विश्वसामु चिनाउनु र भाषा-संस्कृतिको संरक्षणमा योगदान पुर्याउनुका साथै स्वीकारोक्ति दर्शनको प्रचार प्रसार र खोज अनुसन्धन रहेको अभियानको मूल उद्देश्य रहेको जानकारी छ।
उक्त ऐतिहासिक टुर विश्व भूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउण्डेशनको संयोजनमा सम्पन्न भइरहेको छ।
कार्यक्रममा अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, नेपाललगायत विभिन्न देशका साहित्यकार, कलाकार, सञ्चारकर्मी र समाजसेवीहरूको सहभागिता छ।
कार्यक्रमको आधिकारिक जानकारी अनुसार, प्रत्येक देशमा साहित्यिक गोष्ठी, पुस्तक विमोचन, सांस्कृतिक प्रस्तुति, संवाद र सम्मान कार्यक्रम आयोजना हुँदैछन्।
‘स्वीकारोक्ति’ केवल कार्यक्रम होइन, यो एउटा विचार र चेतनाको आन्दोलन हो — जसले भूटानी नेपालीहरुको पीडादायी विगत, संघर्षशील वर्तमान र उज्यालो भविष्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिरहेको छ।’ स्वीकारोक्ति फाउण्डेशनकाको स्रोतले जानकारी दिएको छ ।
अन्तिम गन्तव्य युके मा विशेष समापन समारोह आयोजना गरिने जानकारी आयोजकहरूले दिएका छन्।