काठमाडौँ- युरोकप फुटबलमा आज चार खेल हुँदैछन् ।
आज समूह ‘बी’ र समूह ‘सी’ का दुई-दुई खेल हुँदैछन् । समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ । नर्थ म्यासेडोनिया अंकविहीन छ । म्यासेडोनिया नेदरल्याण्ड्सलाई हराएर सान्त्वना जित निकाल्न चाहन्छ ।
अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल पनि ९:४५ बजे हुनेछ । आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
आजै हुने अर्को खेलमा बेल्जियम र फिनल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
बेल्जियम यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । आज फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ । फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
आजकै अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । डेनमार्क अंक विहीन रहदै पुछारमा रहेको छ । डेनमार्कका लागि यो खेल प्रतिष्ठाको हुनेछ ।