मेस्सीले गोल गर्न नसक्दा सेभिल्लासँग बार्सिलोनाको बराबरी

0
452

काठमाडौं –  लियोनल मेस्सीले महत्वपूर्ण दुई अवसरलाई सदुपयोग गर्न नसक्दा स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको छ ।

सेभिल्लाको घरेलु मैदानमा शुक्रबार राति भएको तनावपूर्ण खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको १२ औं मिनेटमा सेभिल्लाका लागि जुलेस कोउन्डेले गरेको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरियो ।

२१ औं मिनेटमा लिओनेल मेस्सीको फ्रिकिकलाई गोललाइन अगाडीबाट कोउन्डेले हेडरमार्फत क्लियर गर्दा बार्साले अग्रता लिने मौका गुमायो ।

यस्तै २५ औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले गरेको प्रहार पनि पोस्टभन्दा परबाट बाहिरियो । खेलको इन्ज्युरी समयमा कोउन्डेले स्वारेजलाई फल गरेपछि खेलाडीबीच विवाद भएको थियो ।

रेफ्रीले बार्सिलोनाका सर्जियो बुस्केट्स र सेभिल्लाका फर्नान्डोलाई हात हालेपछि दुवैलाई पहेंलो कार्ड दिएका थिए । त्यसैबेला मेस्सीले डिएगो कार्लोसलाई हात हाल्दा भने रेफ्रीले कार्ड देखाएनन् ।

दोस्रो हाफको ६० औं मिनेटमा अनमार्क रहेका सेभिल्लाका लुकास ओकाम्पसको प्रहारले पोस्टको दिशा लिन सकेन । ७२ औं मिनेटमा मेस्सीले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई सेभिल्लाका गोलरक्षक भाच्लिकले विफल पारे ।अन्ततः दुबै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकियो । बराबरीले दोस्रो स्थानको रियल मड्रिडलाई फाइदा भएको छ ।

बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ भने दोस्रो स्थानको रियल मड्रिडको २९ खेलमा ६२ अंक रहेको छ । तेस्रो स्थानको सेभिल्लाले ३० खेलबाट ५२ अंक बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here