पुरानो शासक, नयाँ दास

0
99
मनोज बोगटी

कविता
पुरानो गीत भित्तामा उदास उभिएको छ
आँखाको आँशु भने नयाँ छ
पुरानो कविता नबोली बसेको छ
त्यसको मौनता भने नयाँ छ
पुरानो प्रेम हातमा गिलास बोकेर
हेरिरहेको छ घाम डुब्ने ठाउँमा
स्पष्ट देखिने
सुकिसकेको खुशीको कालो पाप्रा
त्यसको अतीत भने नयाँ छ।
पुरानो कुनै एउटा खित्काको डामजस्तो
भित्तामा उप्किएको रङ छ।
पुरानो रङ झर्नु नयाँ छ।
पुरानो कथा आँखाबाट पातलिँदै
हराइरहेको गाउँको बाटो छ
बाटोको एकान्त नयाँ छ।
आँखामा अट्टेरिजस्तो बसेको सपना
उसरी नै रिसाएको छ फेरि पनि
रिस नयाँ छ
मनमा छटपट्टिको घर उस्तै पुरानो छ
पुरानो घरभरि बग्ने हावा नयाँ छ
सास नया‘ं छ र फोक्सो पुरानो छ।
पुरानो घाउमा पिप बग्छ नयाँ
पुरानो सम्झनाको घन्टी लाग्छ नयाँ
पुराना दिनहरू क्लासमा पस्छन्
र रट्न थाल्छन् जीवनलाई फेरि नयाँ गरी
पुरानो आवाजको काँधमा बसेर घुमिबस्छ पृथ्वी।
पुरानो देशमा नयाँ सरकार आएजसरी
आउँछ नयाँ रात।
पुरानो खेतमा नयाँ बाली उठेजस्तो
आउँछ नयाँ दिन।
क्यालेन्डरमा ठिक त्यही त्यही तारिक थपक्क बसेको छ
त्यही त्यही ठाउँमा
त्यही त्यही तारिक छुट्टी छ
बाँकी दिन
सरकारको हुकूम उस्तै छ।
फरक यत्ति छ
पहिलो तारिक मनाउन नाचेको
ठीक त्यही ठाउँमा
पुलिसको गोली लागेर मरेको
हर्षित कुमारको माटोको थुप्रोको कपुर छ
त्यही कपुरमा बलेको बत्ती नयाँछ।
जीवनको रङ उडिसकेको बेला आइपुगेको छ नयाँ वर्ष

उसको स्वागतमा तयार शासक पुरानै छ, दास नयाँ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here