सार्वजनिक स्थलमा शरणार्थीहरुको सामुहिक नव दुर्गा पूजा शुरु

0
1370

पूजाले खल्लो बन्दै गएको दशैंमा केही खुशी ल्याउने आशा
डिकेश लामा, अशोज ५, २०७४
बेलडाँगी/ विभिन्न तेस्रो देशमा छरिएका आफ्ना आफन्तको मंगल होस् भन्दै भूटानी शरणार्थी शिविरमा पहिलो पटक घटस्थपना देखि सामुहिक रुपमा सार्वजनिक स्थलमा नव दुर्गा पूजा शुरु गरिएको छ ।
शरणार्थीहरु शिविरमा घट्नेक्रम सँगसँगै एकै स्थानमा सामुहिक पूजाको आयोजनाले सम्बन्ध प्रगाढ तथा राम्रो हुने उद्देश्यका साथ पूजा शुरु गरिएको छ ।
यस अघि शरणार्थीहरु धेरै हुँदा शिविर भित्र रहेका २ वटा मन्दिरमा आ–आफ्ना ढंगले पूजाआजा गर्ने गरेको पूजा कार्यक्रमका संयोजक रोहित महतले बताउनु भयो । देश विदेशमा रहेका नेपाली भाषी भूटानी तथा नेपालीहरुको महान चाडले सवैको कल्याण र राम्रो होस् भन्ने हेतुले ९ दिनसम्म पूजा पाठ गरी दुर्गा भगवतीको नाममा चण्डी, रुद्री तथा त्यससँग सम्बन्धीत पाठ गरिएको पूजामा संलग्न नरबहादुर बस्नेतले बताउनु भयो ।
पूजा बेलडाँगी २ र ३ को सिमानामा पर्ने कार्याक्रम गरिने स्टेजमा शुरु गरिएको शिविरका सचीव टिकाराम रसाईलीले बताउनु भयो । रसाइलीका अनुसार यस पूजाले थोरै संख्यामा रहेका नेपाली भाषी शरणार्थी र स्थानीयबीच थप प्रगाढ सम्बन्ध बनाउने बताउनु भएको छ ।
यसैगरी भूटानी शरणार्थी शिविर शनिश्चरे पथरीकी ६५ बर्षीय शुकमाया तामाङले २५ बर्ष अघि भूटानमा आमा छाडेर आए देखि न भेट भएको छ न त दशैंमा टिका लाउनु नै पाउनु भएको छ । उहाँका अनुसार परिवार दिन प्रति दिन छरिँदै गए पछि दशैं खल्लो बन्दै गएको छ ।
यता गोल्धाप शिविरमा लामो समय राशन खाई बस्दै आउनु भएको तर पछिल्लो समय वेलडाँगी २ सेक्टर जी/२ बस्दै आउनु भएकी ८३ बर्षीय रुक्मणी न्यौपानेको भने दशैं भूटान छाडे देखि नै खल्लो भएको छ । अहिले कोही पनि नभएको र राशन पानी पनि संस्थाले काटेको अवस्थामा उहाँलाई दशैं भन्न साथ आँखाबाट आँशु निकाल्दै दशैं नआएकै राम्रो बताउनु हुन्छ । सन् २००७ देखि शुरु भएको तेस्रो मुलुक पुनर्वास कार्यक्रमले शरणार्थीहरुको संख्या घटेर हाल १० हजार हाराहारीमा मात्र रहेका छन् ।
घट्दो संख्या र आधा भन्दा धेरै परिवार तेस्रो मुलुक र भूटानमा हुँदा शरणार्थीहरुले यस बर्ष गत बर्षको भन्दा पनि खल्लो दशैं मान्ने शिविरका अगुवाहरु बताउँछन् । तर यस वर्ष शरणार्थी शिविरको इतिहास मै पहिलो पटक सामुहिक पुजा गरी दशैं मान्ने योजनाले भने केही खुशी ल्याउँछ कि भन्ने आशामा धेरै शरणार्थीहरु रहेका छन् ।
हेर्नुहोस् पहिलो पटक शुरु गरिएको यो सामुहिक पूजा र शरणार्थीहरुको यस बर्षको दशैं विशेष यो भिडियो स्टोरी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here