एजेन्सी- जारी युरोकप फुटबलमा स्वीडेनले पहिलो जित निकालेको छ ।
समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १-० गोलले हराउँदै स्वीडेनले पहिलो जित निकालेको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औँ मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।
जितसँगै समूह ‘ई’ मा रहेको स्वीडेनले २ खेलमा ४ अंक जोडेको छ । स्वीडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । समूहको स्विडेन शीर्ष स्थानमा रहेको छ ।
स्लोभाकियाको यो पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।