तीन दलका शीर्ष नेतालाई राष्ट्रपतिको बोलावटः डुबान समस्याबारे भारतसँग कुरा गर्न आग्रह

0
956

३ भदौ, काठमाण्डौ । सिमावर्ती क्षेत्रमा भारतले अवैधानिक तवरले बाँध बनाएका कारण नेपाली भूमि डुबानमा परिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतालाई बोलाएर कुटनीतिक तवरले समस्याको समाधान खोज्न आग्रह गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल एवं तीनै पार्टीका शीर्ष नेता सहभागी बैठकमा राष्ट्रपति भण्डारीले डुवान समस्याबारे भारतसँग कुरा गर्नुपर्ने र चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन् ।

भण्डारीको भनाई उदृत गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले भने ‘बाढी नै रोक्ने गरी भारते सिमा क्षेत्रमा सडक, बाँध तथा तटबन्ध गराउँदा पनि पानी निकास हुने बातावरणका लागि भारतसँग किन कुरा हुन सकेन ? भन्दै सरकारलाई प्रश्न गरिन, ‘यसबारे भारतसँग कुरा गर्न ढिलाई भएको होइन र ?

राष्ट्रपतिले बाढीको समस्यासँग जोड्दै नेताहरुलाई चुरे क्षेत्र जोखिममा पर्ने गरी जहाँ जे पनि गर्न दिने, पुल भत्किने गरेर बालुवा निकाल्न दिने र उल्टै ठेकदारलाई संरक्षण गर्ने गरेको भन्दै असन्तुष्टि समेत जनाएकी छन् ।

व्यक्ति र दलैपिच्छेका अलग अलग परराष्ट्र नीति तथा अन्तराष्ट्रिय प्राथमिकता हुँदा नेपालको छबि कमजोर भएको भन्दै राष्ट्रपति भण्डारीले साझा परराष्ट्र नीति निर्माण गर्न समेत दलहरुको ध्यानाकर्षण गराएकी छन् ।

भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा डुवानबारे भारतसँग कुरा गर्ने बताएका छन् ।  प्रधानमन्त्री देउवाको भारत भ्रमणका सम्मुखमा भएको यो छलफलका विषयलाई महत्वका साथ लिइएको छ । देउवा यही भदौ ७ देखि ११ गतेसम्म भारत भ्रमणमा जाँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here