श्रीकृष्णजन्माष्टमी विशेष

0
1262

श्रीकृष्णजन्माष्टमी विशेष
गोठालादेखि भगवान्

श्रीकृष्ण भगवान् थिए कि असामान्य मानव यस विषयमा विवाद हुन सक्छ तर निजले दिएको उपदेश श्रीमद् भगवत-गीताको महत्व तथा स्वीकार्यताको विषयमा कुनै विवाद हुन सक्दैन |

श्रीकृष्णको पहिचान केवल गीताका कारण होइन उनको जन्म, हुर्काई, कर्म तथा विद्वताताका कारण पनि छ | श्रीकृष्ण एउटा अचम्मका देव-मानव हुन् |

कृष्णको जन्म जेलखानामा भयो | उनका बुवाआमा देवकी तथा बसुदेव आठौँ सन्तान अर्थात् कृष्णको जन्मका लागि नै जेलमा राखिएका थिए | आठौँ सन्तान कृष्ण नै थिए | अर्थात् कृष्णको हत्या उनको जन्मपूर्व नै निर्धारित गरिएको थियो | मामाका हातबाट उनको मृत्यु लेखिएको थियो |

मृत्युले कृष्णलाई खान सकेन | जेलखानाका सैनिकहरू अचानक गहिरो निन्द्रामा परे | बसुदेवले डोकोमा बोकेर मथुराबाट करिव ३० किलोमिटर टाढा गोकुलमा पुर्याए |

राजाको छोरा भएर पनि कृष्णको बाल्यकाल नितान्त गोठालो भएर वित्यो | धूलो र गाईको सेवा उनको शिक्षा बन्यो | तर उनी केवल गोठालो मै सीमित भएनन् | उनले शिशु अवस्थामै बालबालिकाको हत्या गर्न खटिएकी पूतनाको प्राण पिए | एउटा बालकका लागि एस्तो कुरा सामान्य हुँदैन |

गाई-बहरहरू सधैं निर्धा हुँदैनन् | एउटा बलियो बहर मातेर जथाभावी कुद्न थाल्यो | त्यो बहरलाई नियन्त्रण गर्न नसकिए गोकुलका धेरै गोठालाहरू घाइते हुने थिए | बालक कृष्णले सुझबुझका साथ त्यो उत्पाति बहरलाई सजिलै नियन्त्रणमा लिए |

उनले डढेलोबाट तथा प्रदूषित पानीबाट (कालीनाग नियत्न्त्रण) गरेर गोकुलवासीहरूको जीवनको रक्षा गरे | आधिबेहोरीबाट पनि ब्रजवासीहरूलाई त्राण दिए | त्यतिमात्र नभएर उनले ठूलो बाढीको विपत्तिबाट पनि गोकुलवासीको रक्षा गरे |

एउटा साधारणबालकले गर्न सक्ने काम त कृष्णले गरे नै त्यस बाहेक कुनै पनि बालकले गर्नै नसक्ने काम पनि कृष्णले आफ्नो बाल्यकालमा गरेर देखाए | माटो खानु, गाई-बाच्छा फुकाउनु, चराउनु, दूधदही चोरेर खानु, साथीहरूसंग झगडा गर्नु, केटाकेटी जिस्क्याउनुजस्ता कामहरू कृष्णले साधारण बालबालिकाझैँ गरे तर पूतना बध, वृषासुर बध, त्रिणावर्त वध, कालियानाग नियन्त्रण आदि सबै कृष्णका असाधारण कार्य थिए |

वसुदेवले कृष्णलाई गोकुलमा पुर्याएको थाहा पाएपछि कंशले गोकुल निवासीहरूलाई निकै दुख दिन थाल्यो | त्यहाँका गोठालाहरूले दूधदही मध्ये धेरैजसो करका रूपमा मथुराका राजा कंशलाई बुझाउनु पर्ने भयो | कृष्णले त्यसको विरोध गरे |

उनी क्रान्तिकारी थिए | अदृश्य देव-देवताका तुलनामा जीवन्त प्रकृति अर्थात् गोवर्धनपूजाको समर्थनमा गोकुलवासीहरूलाई उभ्याए | उनी गोवर्धनको पूजा गर्न अर्थात् प्रकृतिको संरक्षण गर्न समाजलाई उत्प्रेरित गर्ने पहिलो बालक बने |

११ वर्षको उमेरमा कंशले कृष्ण र उनका दाई बलरामलाई मल्लयुद्ध गर्न मथुरामा आमन्त्रण गर्यो | यो एउटा षड्यन्त्र थियो – कृष्णको हत्या गर्ने | तत्थ्य कुरो जान्दाजान्दै कृष्णले मथुरामा गएर बडो चतुरतापूर्वक कंशको हत्या गरे |

कृष्णको अदभूत क्षमताका कारण उनी गोकुल लगायत ब्रजक्षेत्रमा निकै लोकप्रिय थिए | कृष्णको लोकप्रियताको घरघर चर्चा भयो | गोपिनीहरू अर्थात् गृहिणीहरूले कृष्णका बालपराक्रमलाई जनजनमा स्थापित गर्ने काम गरे |

११ वर्षे बालक श्रीकृष्णलाई “गोपिनीहरूसंग यौनजन्य क्रियाकलापका लागि जोडिनु” दुर्भाग्यपूर्ण कुरा हो | कृष्ण केवल ११ वर्षको उमेरसम्म मात्र गोकुलमा बसेका थिए | राधासहित अन्य गोठालाका बालबालिकाहरूले कृष्णप्रति अपूर्व प्रेम गर्नु स्वाभाविक नै ठहरिन्छ |

किनभने सानो उमेर मै कृष्णले गोकुलमा सम्पादन गरेका कामहरूका कारण उनी सबैका प्रेमी बन्नु निश्चित थियो | स्वाठहरूले मात्र बालक कृष्णलाई गोपिनीहरूको “यौन-प्रेमी”का रूपमा जोड्न र सोच्न सक्छन्, बुद्धि र विवेक भएकाले होइन |

कंशको मृत्युपछि राजा उग्रसेन नै बने | नन्द र यशोदाले बडो भारी मनले कृष्णलाई बसुदेव-देवकीका हातमा दिए | त्यसपछिमात्र कृष्ण र बलराम दुवैभाईले नासिकका संदिपनी ऋषिको गुरुकुलमा औपचारिक शिक्षा आरम्भ गरे |

सम्भवत: १२ वर्षको उमेरको आरम्भमा कृष्णले पहिलोपटक कखरा चिनेका हुन् | कृष्णको स्मरण क्षमता पनि अद्भूत नै ठहरियो | उनले एकवर्ष मै समस्त विद्याहरू सिक्न सफल भए | गुरु दक्षिणाका रूपमा गुरूका हराएका छोराहरूलाई खोजेर उनी समक्ष] प्रस्तुत गरेर आफ्नो अद्भूत क्षमता देखाएर आशिर्वाद प्राप्त गर्न सफल भए |

यसपछि अर्थात् १४ वर्षको उमेरपछि मात्र कृष्णको राजनैतिक यात्रा आरम्भ हुन्छ | मथुरामा फर्केपछि कृष्णले मगधका राजा जरासन्धको आक्रमण सहनु पर्यो | १८ पटकसम्म युद्धमा जरासन्धलाई पराजित गरे पनि वारम्वारको युद्धबाट मथुरा निवासीहरूलाई जोगाउन कृष्णले पलायनको बाटो रोजे |

जनताले यिनको यो कार्यलाई अनि औधी मन पराए | उनलाई रणछोडको नाम दिए | मथुराबाट पलायन भएपछि उनले निर्जन समुद्र किनारमा रहेको द्वारका भन्ने ठाउँमा नया नगरको निर्माण गरे | उनी पहिलो नगरका निर्माता नागरिक हुन् |

रुक्मणी नामकी राजकुमारीले मनमनै कृष्णलाई माया गर्न थालेकी थिइन् तर उनको दाईले एउटा अत्याचारी राजकुमार शिशुपालसंग उनको जवर्जस्ती विवाह गर्ने निश्चय गरे | रुक्मिणीले लेखेको प्रेमपत्र प्राप्त गरेपछि कृष्णले रुक्मणीलाई विवाह मण्डपबाट नै अपहरण गरेर विधिपूर्वक विवाह गरे |

त्यसपछि उनले क्रमशः सातबटा अन्य कन्याहरूसंग विवाह गरे | सबै रानीहरूसंग समान र सम्मान जनक ब्यबहार गर्ने गरेको उल्लेख भागवत महापुराणमा ऋषि नारदले स्वयम् देखेका थिए | यस अर्थमा कृष्णको गृहस्थी जीवन पनि अद्भूत नै थियो |

यसै विच श्रीकृष्णको जीवनमा एउटा अद्भूत घटना घटित भयो | एउटा पहाडी राजाले देश-विदेशबाट कन्याहरू चोरेर १६ हजार १ सय आठबटा पुर्याएर जवर्जस्ती विवाह गर्न चाहान्थ्यो | ती सबै झ्यालखानामा कोचिएका थिए | ती कन्याहरूले कृष्ण समक्ष उद्धारका लागि खवर पठाए |

श्रीकृष्णले आक्रमण गरेर ती कन्याहरूलाई झ्यालखानाबाट मुक्त गराए तर ती कन्याहरूलाई स्वीकार गर्ने कोई देखिएन | श्रीकृष्णले ती सबैलाई पत्नीको दर्जा दिए | १६१०८ कन्याहरूसंग विवाह गरेर ती सबैसंग न्याय गर्नु साधारण मानिसका लागि संभव हुँदैन |

त्यसै विच दिल्लीमा सत्ता संघर्ष चर्कियो | कृष्णकी सानिमा अर्थात् कुन्ती र तिनको परिवारलाई राजा धृतराष्ट्रले अन्यायपूर्वक बनवास पठाए | यो खवर सुनेर श्रीकृष्ण निकै दुखी भए | उनले धृतराष्ट्र र कुन्तिको परिवारमा मिलाप गराउने प्रयन्त गरे |

बनवासकालमा पाण्डवहरूको श्रीकृष्णले निकै सहयोग गरे | वनवासको अन्त्यभएपछि दूईराज घरानाहरूविच ध्रुवीकरण भएका राजाहरूका विच युद्ध नहोस् भनेर श्रीकृष्ण आफै शान्ति दूत बनेर धृतराष्ट्र समक्ष गए |

“पांचबटा गाउँ भए युद्ध गर्नु पर्दैन र विनास रोकिन्छ” भनेर अनुरोध गर्दा पनि दुर्योधनले नमानेपछि महाभारतको महायुद्ध निश्चित भयो | द्रोपदीको अपमानको रीसले चूर बनेका भीम र अर्जुनआदि पाण्डवहरू युद्धको तयारीमा लागे |

महाभारतको युद्ध निश्चित भयो | पाण्डव र कौरवका सेनाहरू आमनेसामने उभिए | अर्जुनआफ्नै आफन्तसंग लड्नुपर्ने देखेपछि लड्दिन भन्न थाले | यो कुरा श्रीकृष्णलाई धर्मसंगत लागेन | यहीं विश्वको अद्भूत उपदेशात्मक गीत अर्थात् श्रीमद्भगवद्-गीताको प्रवचन श्रीकृष्णबाट अर्जुनका लागि भयो |

श्रीकृष्णले युद्ध रोक्ने सक्दो प्रयास गरेकै हुन् | असफल भएपछि उनले आफ्नो शक्तिशाली नारायणी सेना कौरवलाई र एक्लो आफु पाण्डवतिर बसे | श्रीकृष्णले दूबै परिवारसंग सुमुचित न्याय गरे | सानो सेना भए पनि पाण्डवहरूले महाभारतको महायुद्ध जित्न सफल भए किनभने स्वयम् श्रीकृष्ण उनीसंग थिए |

पछि, श्रीकृष्णको परिवारमा मद्यपानले जरो गाड्यो | समुद्री किनारमा पारिवारिक जमघट भएको बखत यदुवंसी ले मद्यपान गरे | मदको झोकमा आपसमा भयङ्कर लडाई गर्न थाले | बलरामले त्यो युद्ध रोक्ने असफल प्रयत्न गरे | कृष्णले भने मद्यपानीहरूलाई आपसमा लडेर मर्नु नै उचित ठाने |

समस्त यदुवंसीहरू मद्यपानको व्यसनले मारिए | श्रीकृष्ण कत्तिपनि दुखी भएनन् | उनी एउटा पिपलको फेदमा ध्यानस्थ भए | यसैविच एउटा शिकारीले उनको पैतालालाई मृगको मुख ठानेर प्रहार गर्यो | यसपछि श्रीकृष्णले आफ्नो स्वरूप संवरण गरे |

सनातन धर्मावलम्बीहरू श्रीकृष्णलाई “पूर्णब्रह्म” भन्छन् | केही पुराणहरूले श्रीकृष्णलाई विष्णुको नवौं अवतार भनेर उल्लेख गरेका छन् | वेददेखि लिएर श्रीकृष्ण आधुनिक लोकगीतसम्म लोकप्रिय छन् | ब्रह्मादेखि एउटा सामान्य मगन्तेसम्म (सुदामा)को पहुँच छ | यही कृष्णको गुरुत्व हो |

गोकुलमा आफ्नो जीवनका ११ वर्ष विताएका कृष्णले पुन: फर्केर पुगेनन् | मथुरामा फर्केंन् | आफ्नी प्रेयसी राधा तथा प्रेमी गोपगोपिकाका लागि उपलब्ध भएनन् | लक्ष साधनमा हिंडेका व्यक्तिहरूका लागि एस्तो निर्मोही जीवन ठूलो शिक्षा हुनसक्छ |

परिवार, गाउँ वा कुनै तुच्छ सामाजिक रागमा अल्झिने व्यक्तिले श्रीकृष्णको गुरुत्व प्राप्त गर्न सक्दैन भन्ने कुराका श्रीकृष्ण आफै जीवन्त उदाहरण हुन् | उनी निर्मोही छैनन् तर कर्तब्यपथका लागि सबै मोहका बन्धन तोड्न सक्छन् | गोकुलमा मात्र अल्झेको भए उनी गीताकार बन्न सक्दैनथे होला |

जव मान्छेमा ज्ञान, विवेक तथा सदाचारको घनत्व हुन्छ, उ हरेक जात, भूगोल, वर्णआदिका छुद्र सिमानाहरूबाट माथि उठ्छ | कृष्णको अर्थ कालो हो | कृष्ण जन्मले गोरा थिएनन् | उनको महान चरित्रले कालो शरीरलाई नै सर्वसुन्दर, स्वीकार्य तथा पूज्य बनायो | आज कृष्णको कालो मूर्ति हामी सबैले पूजा गर्छौं |

कृष्ण गोठाला थिए | भारत सरकारले यादवथर भएका जातहरूलाई अछूतमा वर्गीकरण गरेको छ | श्रीकृष्णको जन्मजातले उनको स्वीकार्यता कुण्ठित भएन | प्राचीनकालदेखि नै श्रीकृष्ण सर्वोच्च विद्वान ब्राह्मणहरूका लागि पनि उत्तिकै पूज्य छैन | कुनैले पनि श्रीकृष्ण अहिर थिए भनेर अपमान गर्दैन |

सानिमाका छोरा युधिष्ठिरले राजसुय यज्ञ गर्दा कृष्णले आगन्तुकहरूको पाउँ धुने सेवा स्वीकार गरे | यो सेवा उनले स्वेच्छाले लिएका थिए | त्यस बखतका सर्वशक्तिशाली नागरिकको गर्वले “सवै काम समान हुन्छन्” भन्ने चेतना स्थापित गर्न नै उनले सबैभन्दा कमसल कार्य स्वीकार गरेका हुन् | यस अर्थमा, कामको समान सम्मान हुनुपर्छ भन्ने सोचका जनक पनि श्रीकृष्ण नै देखिन्छन् |

धृतराष्ट्रका महामन्त्री विदूर शूद्र परिवारका व्यक्ति थिए | उनी श्रीकृष्णसंग गहिरो स्नेह राख्दथे | श्रीकृष्णले यो स्नेहलाई चिने | प्रचलनमा रहेका सबै प्रकारका जातीय विभेदहरूको अपहेलना गर्दै विदूर पत्नीको जूठो समेत मीठो मानेर खाए |

उनी छुवाछुतवाद उन्मुलनका पहिलो सूत्राधार हुन् | उनले सह्भोजनका माध्यमबाट नै छुवाछुतवादको उन्मुलन हुन्छ भन्ने संदेश दिए | विदूर पत्नीको जूठो स्वीकार गरेर उनले आफुले गीतामा दिएको उपदेश “जन्मना जायते शूद्र कर्मणा द्वीज उच्यते अर्थात् हरेक व्यक्ति जन्मदा शूद्र हुन्छ र उसका कर्मले उ बाहुन, क्षेत्री, वैश्य वा शूद्र हुन्छ” भन्ने कुरा ब्यबहारमा देखाए |

आधुनिक विश्वले समानता, शान्ति तथा सद्भावको कुरा गरिरहंदा श्रीकृष्णले गीताका माध्यमबाट कर्म, ज्ञान, भक्ति तथा सन्यासयोगका माध्यमबाट सर्व-समानताको विवेचना गरे | “हरेक कर्म ज्ञान, समर्पण तथा निरपेक्ष रुपले गरे मात्र लक्षसाधी हुन्छ” भन्दै हरेक व्यक्तिले आफ्नो प्राकृतिक गुणअनुसारको कर्म अगाल्नुपर्छ भन्ने बैज्ञानिक अवधारणा दिए |

आज मनोविज्ञानले बालबालिकाको प्राथमिक “ट्रेटको पहिचान गरेर शिक्षादीक्षामा अग्रसर गर्नुपर्छ” भनिरहंदा श्रीकृष्णले सत्व,रजस तमस र तिनको संघर्षबाट निर्मित हुने मानव-व्यक्तित्व अर्थात् ब्राहमण (शिक्षण), क्षेत्री (सैनिक), वैश्य (व्यापार) तथा शूद्र (शारीरिक परिश्रम कार्य) अनुसार काममा लाग्न प्रेरित गरे | उनी मानव-मनोविज्ञानका प्रथम गुरू हुन् |

श्रीकृष्ण लीला पुरुषोत्तमका रूपमा चिनिन्छन् | श्रीकृष्णका कार्यहरूको नक्कल गर्न सकिन्न | सात दिनको उमेरमा कसैले पूतना मार्न सक्दैन न त सात वर्षको उमेरमा कान्छीऔलामा गोवर्धन पर्वत नै उठाउन सक्छ | न कसैले १६८०८ पत्नीहरूसंग समान ब्यबहार नै गर्न सक्छ | न कुनै नक्क्ल्चीले युद्धभूमिजस्तो अशान्त ठाउँमा गीतासरहको उपदेश नै दिन सक्छ |

श्रीकृष्णको अनुकरण होइन, अनुसरण गरिनुपर्छ | एउटा सामान्य गोठालो त्यसै पूर्णब्रहम श्रीकृष्ण बनेको होइन | त्यसै पूज्य बनेको होइन | द्वापरयुगमा श्रीकृष्ण जन्मिएका होलान् तर आज करोडौं-अरवौं मानिसहरूका हृदयमा श्रीकृष्ण ज्ञानका रूपमा विद्वामान छन् |

उनी कर्ममा विश्वास गर्नेहरूका लागि कर्मका आदिगुरु तथा प्रेरणाका रूपमा विद्यमान छन् भने आत्मसमर्पणमा विश्वास गर्नेहरूको विश्वासमा भक्ति बनेर प्रवाहित छन् | ज्ञान वा बौद्धिकतामा विश्वास गर्नेहरूका लागि उनी वेद तथा उपनिषदका मूलतत्व बनेर विद्यमान छन् भने वैरागी स्वभाव भएका व्यक्तिहरूका लागि संन्यासयोगका रूपमा तत्वदर्शन गरिरहेका छन् |

श्रीकृष्णले कुनै पन्थको कुरा गरेनन्, मजहवको कुरा गरेनन् | उनले गीताको उपदेश दिंदै गर्दा गीतालाई “हिन्दूहरू”को सानो घेरामा राखेनन् | उनको व्यक्तित्व मानवताको हो | गीताको मर्म वैश्विक धर्म हो |

श्रीमद्भगवद्-गीता नपढ्नेले श्रीकृष्णको गहन व्यक्तित्व बुझ्नै सक्दैनन् | जन्माष्टमीको पवित्र अवसरमा मानवतामा विश्वास गर्ने हरेक व्यक्तिले गीता पढ्ने, मनन गर्ने र अनुसरण गर्ने प्रतिज्ञा लिनुपर्छ | यो पढेपछि श्रीमद्भागवत तथा अन्य पूराणहरूमा प्रवेश गर्न सजिलो हुन्छ |

आफ्नो धर्म, संस्कृति तथा रितिरिवाजहरू सबैका लागि प्रिय हुन्छन् | श्रीकृष्ण जन्माष्टमी मनाई रहंदा वा श्रीमद्भगवत-गीताको अध्ययन गर्दा अन्य धर्मलाई होच्याउनु आवश्यकता छैन | इसाईले जिससलाई मानुन्, मुस्लिमले अल्लाहलाई मानुन् | किनभने श्रीकृष्णले गीतालाई “हिन्दूहरूको धर्म ग्रन्थ गीता हो” भनेर नभनेको हुँदा सबै धर्मका व्यक्तिहरूले गीता पढ्दा हुन्छ |

अन्त्यमा, हामी सबैको जीवन कृष्णमय होस्, गीतामय होस्, कुनै पनि धर्मप्रति कुनै प्रकारको दुर्भावना नहोस् | देश, विश्व र विश्वका सबै मानिसहरूले कर्म, भक्ति, ज्ञान र संन्यासयोगका माध्यमबाट जीवनको भौतिक तथा आध्यात्मिक लक्ष प्राप्त होस् | आऔं, सबै मिलेर विश्वशान्तिका लागि काम गरौँ – निष्काम, निष्पाप तथा आन्तरिक प्रेरणाबाट |
(c) Govinda S. Upadhyaya Phd

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here