अविरल बर्षाले भक्तपुर डुबानमा, तीन जनाको मृत्यु, सयौंको बिचल्लीपछि उद्धार

0
1124

२८ असार, काठमाण्डौ । बुधबार रातभरको बर्षातपछि जलमग्न भएको भक्तपुरका सर्बसाधारण बिचल्लीमा परेको झण्डै १२ घण्टापछि उद्धार भएको छ । बुधवार रातिको वर्षापछि हनुमन्ते खोलामा आएको बाढीले मध्यपुर लगायतका क्षेत्र डुबानमा परेका थिए । बाढीका कारण भक्तपुरका जगाती र बाराही क्षेत्रका वस्तीमा पानी पस्दा यसअघि  भूकम्पबाटै पीडित बनेकाहरु समेत शिबिर छाड्न बाध्य भए । मध्यपुरठिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती, नयाँ ठिमीको हनुमन्ते आसपासका क्षेत्र जलमग्न र डुबानमा परे । जमिनबाट ४ फिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पस्दा खाद्यन्न लत्ताकपडा लगायतका सामग्रीमा क्षति पुगेको छ । साढे २ दशकपछि भक्तपुर क्षेत्रमा भएको यत्रो ठूलो डुबानमा पीडित बनेकाहरुमध्ये बिहिबार साँझसम्म झण्डै २ सय जनालाई उद्वार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

वर्षाको अनुपातमा ढलनिकासको व्यवस्था नहुँदा गहिरो क्षेत्रका वस्ती डुवानमा परेको सरकारी अधिकारीहरु बताउँछन । जल तथा मौसम विज्ञान विभागका अनुसार  भक्तपुरमा बुधबार रातभरीमा झण्डै १३० मिलिलिटर पानी परेको थियो ।

पहिरोले तीनको मृत्यु

अविरल वर्षापछिको पहिरोले भक्तपुरको चाँगुनारायणमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका हिराबहादुर लामाको घर ढिस्कोले पुर्दा ७० वर्षीय लामासहित उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here