बल्ल तल्ल बन्यो घर तर हटेन बाढीको डर (भिडियो स्टोरी सहित)

0
1791

पुर्नस्थापित ३१ सन्थाल परिवार अझै बाढीको जोखिममा  

१३ असार २०७५/डिकेश लामा
मोरङ्ग/ मोरङ्ग जिल्लाको जहदा गाऊँपालिका वडा नं. ७ सिर्सिया बस्ती हेर्दा कतै अर्कै अनौठो बस्ती हो की जस्तो लाग्न सक्छ । भारत नेपालको दक्षिण तर्फको सिमाना भन्दा करिव १ देखि ढेड किलो मिटर उत्तरमा रहेको यो बस्तीमा राज्यको नगर कम परेको स्थानीय बासिन्दाले गुनासो पोखेका छन् । गत बर्ष साउन महिनाको भिषण पानी र बाढीबाट भर्खरै पूर्नस्थापित भएको यो बस्ती झट्ट हेर्दा एक प्रकारको राम्रो नमूना बस्ती जस्तो देखिन्छ । भर्खरै तङग्रिन लागेका यो बस्तीका सन्थाल परिवारहरुमा पुन यस पालीको बर्षाले त्रास थपेको छ ।
लोहन्द्रा खोलाको शिर तर्फ कालो भएर पानी पर्नसाथ उनीहरुको मुटुको गति बढ्न थाल्छ । आगोले हिर्काएको कुकुर विजुली चम्कदाँ पनि तर्सन्छ भने झै गत बर्षको साउन अन्तिमका परेको अविरल बर्षामा ठूलो क्षति व्यहोर्न बाध्य भएका अधिकांश सुकुम्बासी सन्थाल परिवारहरु अहिले पनि आकाशको गर्जन् सुने पछि ढुक्कले निदाउँन सकेका छैनन् । स्थानीय चामुनी मुर्मु अनुसार राती आकाश कराउन साथ डरले मुटुको ढुककुढी बढ्ने गरेको बताउनु भयो ।

मोरङ्ग जिल्लाको जहदा गाऊँपालिका र लुथरन सामुदायिक कल्याण समाजको सहयोगमा ३१ परिवारले बस्ने घर जेनतेन निर्माण गरे । तर बाढीबाट जोगिने बाँध नपाउँदा उनीहरु अझै पनि त्रासमा बस्न बाध्य हुनु परेको छ । समाजको प्रति घर ४२ हजार बराबरको आर्थिक सहयोगमा जस्ताको पाता, बाँसको बेरामा माटोको भित्ता लगाएर लस्करै मिलेको नमूना बस्ती जस्तै हालै मात्र सो बस्ती स्थापना भएको छ । बस्ती निर्माण सक्दा नसक्दा बर्खा लागेको र भरपर्दो बाँध नभएकोले फेरि बाढीको चपेटामा परिने हो कि भनेर अति चिन्ता लागेको निर्माण कार्यमा सहयोग गर्दै आउनु भएका सामाजिक अगुवा मनोज बास्केले बताउनु भयो ।

भूटानी शरणार्थी समूदायमा लामो समय देखि मानवीय सहयता पुर्याउँदै आएको विश्व लुथरन फेडेरेशन संस्था मार्फत लुथरन सामुदायिक कल्याण समाजले जहदा गाऊँ पालिका वडा नं. ७ को सिर्सिया बस्तीका विस्थापित बाढी पीडितका लागि ३१ वटा घर र शौचालय निर्माण कार्य भर्खरै सम्पन्न गरेको समाजका सामाजिक परिचालक सुजित सोरेनले जानकारी दिए । सोरेनका अनुसार बाढी पीडितका लागि संस्थाले झापा र मोरङ्गमा गरी २ सय ३० वटा घर निर्माण गरी बाढी पीडितलाई पूर्नस्थपना गर्ने कार्यमा सहयोग समेत गरेको बताउनु भयो ।

तर नजिकै रहेको लोहोन्द्रा खोलामा भरपर्दो बाँध बाध्ने काम स्थानीय निकायले नगरे पछि यो बर्ष बल्ल बल्ल बनाइएका घर पनि बगाउला कि भन्ने डरले सन्थाल परिवारलाई छाडेको छैन । खोला तथा सडकका किनारमा बस्दै आएका सन्थाल समूदायका घर तथा जायजेथा सवै बगाए पछि पूर्णरुपमा विस्थापित हुनु परेको थियो । लुथरन समाजले बोरा लगाएर एउटा बाँध त बाँधेको छ । तर सो बाँधले बस्तीलाई पूर्णरुपमा सुरक्षा प्रदान गर्न नसक्ने स्थानीय बासिन्दाहरु बताउँछन् । बस्ती सुरक्षित गर्न ढुङ्गाको बजबुत बाँध लगाउनु पर्ने उनीहरुको धारणा छ ।

गत बर्षको जस्तै पानी पर्यो भने सिर्सिया बस्ती जोगाउँन सकिदैन तथापि सानो तिनो पानीमा पनि बाढी भने पस्न सक्ने खतरा रहेको छ । खतरा थाहा हुँदा हुँदै पनि गाऊँ पालिकाले अझ अरु जोखिम क्षेत्रमा खर्च गरेको सो वडाका अध्यक्ष भगवानलाल वेस्राले बताए । वेस्राका अनुसार ७ हजार हाराहारीमा रहेका सिमान्तकृत आदिवासी समूदाय मध्ये अधिक बाढीको जोखिममा रहेका छन् । अधिकांश पुरुषहरु मजदुरीका लागि नजिकै रहेको विराटनगर बजार क्षेत्रमा काम गर्न जान्छन् । दिनमा नै ठूलो पानी पर्यो भने बढेर आएको बाढी घरमा पस्ने खतराले घरसँगै सवैलाई बगाउँछ कि भन्ने चिन्ता लागेको सो बस्तीकी सलोनी सोरेनले बताउनु भयो ।
सिमान्तकृत आदिबासी सन्थाल परिवारमा सहयोगको बास र मजदुरी गरेर जुटाएको गाँस सँगसँगै कहिले हट्छ बाढीको सन्त्रास भन्ने प्रश्न प्रति सरोकारवाला निकायले तत्काल ध्यान दिनु पर्ने पुर्नस्थापित बाढीपीडितहरु बताउँछन् ।

See live video story by GlobalPostTV (Dikesh lama)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here