सुन तस्करीका नाइके गोरे पक्राउ

0
893

८ जेष्ठ, काठमाडौँ । त्रिभूवन विमानस्थलबाट पाँच बर्षदेखि सुन तस्करी गर्दै आएको गिरोहका नाइके भनिएका चुडामणि शर्मा उर्फ गोरे फरार भएको ४ महिनापछि अन्ततः पक्राउ परेका छन् ।

सनम शाक्य हत्याका मुख्य आरोपी समेत रहेका गोरेलाई गृह मन्त्रालयको बिशेष अनुसन्धान टोलीले मंगलबार विहान ५ बजेर ३४ मिनेट तिर गौरिघाट क्षेत्रबाट पक्राउ गरेको गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। गोरे पक्राउ परेसँगै तस्करीमा संलग्न अन्य केही थप व्यक्तिहरुबारे पनि खुलाशा भएकाले उनिहरुबारे छानबिन थालिएको छानवीन समितिका संयोजक ईश्वरीराज पौडेलले जानकारी दिए । माघ अन्तिम साता युएइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायव भएपछि यसमा संलग्न मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन प्रकरणले बृहत रुप लिएको थियो । सुन तस्करीमा प्रहरीका सूचना नै एक अर्कामा बाझिएपछि तस्करीमा  प्रहरी संलग्ता समेत भएको ठहर गर्दै यो बिषय गृह मन्त्रालय आफैंले हेर्दै आएको थियो । मन्त्रीपरिषदको २०७४ चैत २० गतेको निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो । अन्ततः सोही टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। यो सँगै चार महिनादेखि गोरेमा केन्द्रित गृह मन्त्रालयका अधिकारी तनाव मुक्त त भएका छन् तर मोरङ जिल्ला अदालतमा पेश गरिएका गोरेले दिने थप बयानका आधारमा थप रहस्यहरु सार्बजनिक हुँदै जाने ठानिएको छ । यही प्रकरणमा गत वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६५ जनाको नाममा मुद्दा दर्ता गरिएकामा ३२ जनालाई अदालतमा उपस्थिति गराइसकिएको र अरु ३३ जना अहिलेसम्म पनि फरार रहेका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here