फूलमायाको चोट

0
1257
शरण मुस्कान
शरण मुस्कान  -दार्जी्लिङ

न फूल हुनसक्छ
न फूल रूग्ने बोटको शूल।

तारेभीरजस्ता जोखिमहरू हिडÞिरहेको भिरालो जोबन
फूलमायालाई लाग्छ
त्यसको आफ्नो होइन
पाउँको पाउजु
हातको बाला
ओठको लिप्सिटिक
आँखाको गाजल
केही(केही आफ्नो होइन।

बरू लाग्छ त्यसलाई –
बाघको शिकारमा घनघोर जगंल चहारिरहेको
शिकारीको रौंदार छाती त्यसको हो
जंगी सिपाहीको बन्दूक भिर्ने बलियो काधँ
अथवा कुनै तन्नेरीको नाङ्गो तिघ्रा त्यसको आफ्नो हो।

थाह छैन त्यो आफैलाई
कुनै केनिवल मूभीमा जस्तो
महिलाहरूको गुप्ताङ्ग काटेर खाने भिलेन
किन हुन मन लाग्छ त्यसलाई !
निर्दयी सिरियल किलर नै किन हुन मन लाग्छ त्यसलाई !

एउटा पातलो कुइँरोलेमात्रै
छोपेर राखेको छ
त्यसको अव्यक्त विद्रोह
त्यसको अज्ञात जंगीपन ।

फूलमायालाई थाह छ
फरिया(चोलीभित्र बेपर्वाह हुर्किरहेको त्यसको जोबन
अनि मन(मस्तिष्कको तारेभीरबाट
बेलगाम उर्लिरहेको आकाक्षांको खहरेसित
आमाले देखाएको जमानाको नाम मिल्दैन
बाबुले दोहोराएको बाटोको जात मिल्दैन ।

अहिले आफ्नै नाम खोज्ने तर्खरमा छ त्यो
अहिले आफ्नै जात खोज्ने तर्खरमा छ त्यो…!!

———————************************—————————-

सति –कथा

आवश्यकता थियो हजुर !
यसैले गालाको लाली बेचिदिए ।

शरण मुस्कान -दार्जी्लिङ

किन्नेहरूमा
मलाई कल्पना चावला कथा सुनाउने
शहरका तालु खुइँले मास्टर पहिला थिए
सुनको तारा झारिदिने मनत्री सर दुस्रा थिए
तिस्रामा तपाईजस्तै खाँकी उर्दी लाउ कोई एक लाग्छ ।

अचेल त
नाम होइन
सबैले दाम सोध्छन
तपाईले नमस्ते गर्ने यी गान्धी बाजेधरि
बाटो सोद्धै मरेतिर धाउँछन् ।

…..

ब्ल्याक एण्ड ह्वाइट फोन टीभी पनि नआएको घरमा
बाऊको टीबी जोड़( जोड़ले बज्थ्यो
आँधी–हुरी
असीना –पानी
दाह्रा ङिच्दै पहिला हाम्रै घर पस्थ्यो ।

आकासको तारा गन्दै हावाजहाज उड़ाउने सपना देख्ने
इश्वरजस्तो एक भाई थिए
दिनैपिच्छे जीवनलाई लाई सराप्दै मृत्युको आशिष माग्ने
वटवृक्षजस्ता छहारी बाऊ थिए
आमाको बुच्चे अनुहार थियो
घरभित्रको थोत्रो संसार थियो ।

आमाको झुम्के बुलाकीले
दश ठाउँ उध्रेको घरको सपना कतिञ्जेल सिउने
बीस ठाउँ चर्केको बाउको छाती कतिञ्जेल टाल्ने

आवश्यकता थियो
हजुर !
यसैले गालाको कोठी बेचिदिए ।

……….

डोलीमा चड़्ने रहर छैन अब
सपनाहरू निलाम गर्ने बानी जो बस्यो ।

अहिले बाऊको छातीमा जिजिविसा पसेको छ
आमाको बुलाकी घर फर्किएको छ
भाई टाइ–सूट लगाएर संसार जित्न जान्छन
हुरी बतास
असीना पानीहरू अचेल घरÞसित हार्छन् ।
(उनीहरूको निम्ति नीलो आकास जो म भएकी छु !)
…………

ब्युटी पार्लरमा काम गर्ने छोरीको
तनाखा पर्खेर बस्ने घरको छानु कसले टाल्छ!
संसार जित्न हिड़्ने भाईको
दैनिक बाटोको किरायाँ कसले टार्छ !
बाउँको खोक्रो छातीमा त्राण कसले हाल्छ !
आमाको निधारमा घाम कसले टाँस्छ !

गाली गर्नोस
बेस्मारी कुट्नुहोस
अथवा मान्नु हुन्छ भने
हरेक रातको एउटा समय तपाई लानुहोस
हजुर !
दया गरी मलाई त्यहाँ नथुन्नुहोस…!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here