अबदेखि वैदेशिक रोजगारीमा पठाउने काम बन्द गर्नुपर्छ : श्रमिक नेता एवं सांसद

0
1025

एक/दुई महिनामै फ्रि भिषा फ्रि टिकटसम्बन्धी व्यवस्था लागू गरिन्छ : विभाग

काठमाडौं । श्रमिक नेता एवं सांसदहरुले वैदेशिक रोजगारीमा उर्जाशिल जनशक्ति पठाउने कार्य बन्द गर्नुपर्न आवाज उठाएका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ(काउन–नेपाल) ले प्रवासी श्रमिकका विषयमा आयोजना गरेको अन्तक्रियामा श्रमिक नेता एवं सांसदले स्वदेशमै रोजगारी सिर्जना गराएर श्रमिकलाई विदेश पठाउने कार्य बन्द गर्नुपर्ने धाारणा राखेका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री एवं सांसद संजयकुमार गौतमले ए क्लासको नागरिकलाई विदेश निर्यात गरेर सी क्लासको नागरिक निर्यात गर्दै देश चलिरहने अवस्थाको अन्त्य गर्न वैदेशिक रोजगारको आकर्षणलाई हटाउनुपर्ने बताए । उनले ब्रेन र मसल्स निर्यात गरेर हामीले देखेको देशको आर्थिक समृद्धि पुरा नहुने भन्दै विदेश नजाउँ भन्नुभन्दा पनि यहि उद्योगधन्दाको विकास गरेर रोजगारी दिईनुपर्ने बताए । त्यस्तै राष्ट्रिय सभाकी सांसद धना खतिवडाले एकैचोटी वैदेशिक रोजगारीको अन्त्य गर्न नसकिने भन्दै शिपयुक्त जनशक्ति तयार गरेरमात्र वैदेशिक रोजगारीमा पठाउने अवस्थाको सिर्जना गर्न आफूले आवाज उठाउने बताईन् ।
कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्र कुँबरले पनि वैदेशिक रोजगारीमा पठाउने कामलाई बन्दै गराउनुपर्ने धारणा राखे । उनले श्रमिकहरुलाई यहिँ नै जीवन धान्न पुग्नेगरी तलब दिनसक्ने अवस्था हुने र रोजगारी दिलाउन सके यो अवस्थाको अन्त्य हुने बताए । उनले एनजीओहरुले उठान गरिरहेको वैदेशिक रोजगारको मुदालाई अहिले ट्रेड यूनियनहरुले उठाएको भन्दै क्रमश वैदेशिक रोजगारीमा पठाउनेक्रमको अन्त्य गर्न ट्रेड यूनियन संगठनहरु लागेको बताए ।
काउन–नेपालको कार्यक्रममा वैदेशिक रोजगार विभागका निर्देशक शशिकुमार लम्सालले अबको एक/दुई महिनामै फ्रि भिषा फ्रि टिकटसम्बन्धी व्यवस्था लागू गरेरै देखाईने दाबी गरे । उनले यसका लागि विभागले आवश्यक गृहकार्य गरिरहेको पनि जानकारी दिए । त्यस्तै उनले अनधिकृत एजेन्टहरु हटाउने कार्यका बारेमा पनि होमवर्क भईरहेको जानकारी दिंदै एजेन्टवालाहरुले अरुको पासपोर्ट बोकेर हिंड्ने अवस्थाको अन्त्य गराईछाड्ने बताए ।
कार्यक्रममा काउन–नेपालका अध्यक्ष जेवी गुरुङ, महासचिव प्रदिप आचार्य लगायतले वैदेशिक रोजगारमा निर्माण श्रमिक र अन्यको हकमा पनि श्रमलाई व्यवस्थित र मर्यादिन बनाउन अन्तर्राष्ट्रिय निर्माण श्रमिक संगठन बिडब्लु आईसँगको सहकार्यमा कार्य भईरहेको जानकारी दिए । त्यस्तै उनीहरुले वैदेशिक रोजगारीमा गएकाहरुको समस्या समाधान गर्न काउन–नेपालले नीतिगतरुपमा सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता रेशमराज रेग्मीले श्रमिक गाउँदेखि नै ठगिने अवस्थाको अन्त्य गर्न सबैले पहल गर्नुपर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित पार्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here