प्रेममा घुमेको ‘पापी मास्टर’

0
2098

पुस्तक समीक्षा: विधा – उपन्यास

        देवी सापकोटा

फुटकर कथा, कविता, लेख समालोचना हुदैं आख्यानमा हातहालेका लेखक हुन नवराज पाण्डे । यिनै आख्यानकार पाण्डेले भर्खरै आफ्नो उपन्यास पापी मास्टर बजारमा ल्याएका छन् । उपन्यासले शिक्षक, बिद्यार्थी र अभिभावक बिचको त्रिकोणात्मक सम्बन्धलाई देखाउन खोजेको छ । कक्षाकोठा देखि समाजमा घट्ने घटना र मनोबिज्ञानलाई लेखकले प्रस्तुत गरेका छन् ।

संसारमा सबै भन्दा धेरै लेखिने र पढिने बिषय हो प्रेम । जुन प्रेम पापी मास्टरमा समेटिएको छ । प्रमुख पात्र प्रेममा परेका छन् । प्रेममै डुबेका छन् ।

उपन्यासको सुरुवात ७२ सालको विनासकारी भूकम्पबाट शुरु हुन्छ र विनासकै परिणाममा गएर टुंगिन्छ । मातृभूमिलाई नै कर्म भूमी बनाउने अद्वितीय सपना साँचेर आदर्शको जीवन बिताउने प्रमुखपात्रको उद्देश्य छ । कपिल शर्मा पश्चिमी नेपालको अर्घाखाँची जिल्लाको विकट गाउँबाट काठमाडौं आइपुग्छ । ज्ञानसभा कलेजको संचालक तथा अंग्रेजी शिक्षकको जिम्मेवारी समालेको छ ।

विद्यार्थीहरु विशाल र पारुको सफल प्रेम तथा विबाह, हेमसरले प्राप्त गरेको ‘उत्तम कृषक पुरस्कार’, पुनम म्याडमलाई भ्रष्टाचारको आरोपमा दिइएको जेल सजाँय, भुकम्प पछि थालिएका नमुना बस्तीका निर्माण कर्ताहरु, भोकहडताल गरेर न्याय स्थापना गर्न खोज्नेहरु, प्रवल जस्ता क्रान्तिकारी विचार राख्ने युवाहरु, मृतकको अन्तेष्टिलाई मौलिक अधिकारका रुपमा राख्न चाहाने चारवटा लासहरुको एक्लो मलामी जस्ता पात्रहरुमार्फत् निरासाको बादलभित्र पनि मधुरो प्रकाश खोज्न तल्लिन छ उपन्यास ‘पापी मास्टर’ ।

गाउँमा अँग्रेजी पढ्दा भोगेका कठिनाइहरुबाट पाठ सिकेको छ प्रमुखपात्रले । आफ्ना अंग्रेजी पढ्न चाहने तर कमजोर विद्यार्थीहरुलाई सफल बनाउन कुनै कसर बाकी राख्दैन । आभा थापा नाम गरेकी विद्यार्थी उसको कलेजमा भर्ना हुन आउँछे । संयोगले उ पनि अर्घाखाँचीबाटै आएकी हुन्छे । सेना र माओवादी भिडन्तमा उसले आफनो एक मात्र दाई गुमाएकी थिइ । सर पनि अर्घाखाँचीको भन्ने थाहा पाएपछि दाईलाई मार्ने यहि त होइन भन्ने उसको मनमा चिसो पस्छ ।

पढाईमा कम्जोर देखिएकी आभालाई कपिल सरले सघाउँछ । विस्तारै कपिल सर र आभाको निकटता बढ्दै जान्छ । पढाई संगै कलेजको परिक्षामा कपिल सरले प्रोत्साहन गरेको महसुस हुन्छ आभालाई यहि कुरा उसले आफ्नो परिवारमा भन्छे । दाजु गुमाउनु पर्दाको पिडा विस्तारै भुलेर पढार्ईमा राम्रो गरेकाले कपिल सर प्रति आभारी छ आभाको परिवार । यतिसम्म कि शैक्षिक भ्रमणमा सर गए मात्रै आफ्नो छोरीलाई भ्रमण पठाउने सर्त उसको परिवारले गरेको हुन्छ । शैक्षिक भ्रमणले कपिल सरसंगै यात्रा गर्ने आभा र सुमी विचको त्रिकोणात्मक सम्बन्धलाई थप उचाई दिएको छ ।

भ्रमणसंगै कपिल सरको प्रेम कहानी अगाडी बढदै जान्छ । बोलेरो गाडीमा तीन जना सवार छन् । अरु सबै विद्यार्थी कलेजको बसमा यात्रा गदैं छन् । काठमाडौ, पोखरा, स्याङ्गजा ,पाल्पा, लुम्बीनि, बुटवल, चितवन, तनहुँ भ्रमणका मुख्य गन्तव्यहरु हुन् । यात्राका क्रममा मुख्य पात्रसंग जोडिएका आधा दर्जन बढी पात्रका प्रेम र विछोडको चर्चा हुन्छ । यो भ्रमण शैक्षिक भ्रमण नभएर प्रेम भ्रमण हो कि जस्तो भान हुन्छ । अहिलेका आधुनिक अंग्रेजी साहित्यका शिक्षक यतिसम्म खुल्छन् कि आफ्ना प्रेमका गाथाहरु एक पछि अर्को विना कुनै संकोच दुई छात्राहरुलाई सुनाउँछन् ।

कतै शिक्षक र विद्यार्थी मिल्ने साथीको रुपमा प्रस्तुत भएका छन् । कतिपय ठाउँमा आवश्यकता भन्दा बढी आर्दशवादीको रुपमा प्रस्तुत हुन्छन् । पारु र विशालको लभले थप आर्कषण बढाएको छ । आजकलका युवायुवती बीचमा हुने प्रेम, फरक समुदाय विचको प्रेम सम्बन्धले निम्त्याउने सामाजिक समस्यालाई पनि उपन्यासले उजागर गर्ने खोजेको छ ।

गाउँमा भोग्नुपर्ने दुःख, रातो अक्षर भएको अंग्रेजी चिठ्ठीले मुख्य पात्रमा परेको अंग्रेजी सिक्ने भोक र उसको अध्ययनको लगावले जो कोहि विद्यार्थिलाई पनि प्रेरणा दिनसक्छ ।

उपन्यास पढ्दा कहि कतै दिक्क लाग्दैन । हामीले बालापन देखि देखेको भोगेको परिवेशलाई समेटेको भान हुन्छ । प्रस्तुति आर्कषक छ । भाषा सरल छ । कहिकतै भाषागत त्रुटि देखिन्छ । केहि वाक्यहरु दोहोरीएको भान हुन्छ । समग्रमा उपन्यास राम्रो छ । मुख्य पात्रले कामलाई गरेको सम्मानले जो कोहिको मन छुन्छ । कमाएको सिमीत पैसाले दैनिकी चलाउनुपर्दाको पिडाले जो कोहिको मन छुन्छ । नेपाली साहित्य लेखनमा बिरलै उठाइने मान्छेको मृत्यु पछाडिको अधिकारलाई उपन्यासमा समेटने प्रयास गरिएको छ ।

नेपालको कर्मचारीतन्त्र विकृति पारिवारिक समायोजन एवं बिचलनका घटनाहरु, सिद्धान्तका कुराहरु, दश बर्षे माओवादी जनयुद्ध भित्र नदेखिएका पाटाहरु, त्यसले निम्त्याएका परिणामहरुलाई उपन्यास पापी मास्टरमा समेटिएको छ ।

कुनै रमाइलो यात्रमा निस्किएको यात्री झै रोमान्चित हुदै जान्छ पाठकको मन पनि । विपरीत लिङ्गी बिचमा यौन रहित घनिष्ट प्रेम पनि हुन सक्छ भन्ने प्रेमको नौलो परिभाषा दिन खोजेका छन् । नैतिकतालाई सधै चट्टानी अडानको रुपमा लिन्छ मुख्य पात्र । सुमीलाई मानसिक तनाव दिएकोमाआफूलाई पापी ठान्छ । मातृभूमिले सिकाएको आदर्श र गरेका लगानिलाई लत्याउनु पर्दा आफूलाई पापी मान्छ ।

आभालाई सिकाएको आदर्शमा टिक्न नसकेकोमा आफूलाई पापी घोषणा गर्छ र प्रमुखपात्रको विदेश पलायनसँगै उपन्यासको अन्त्य हुन्छ । आफुले गरेको क्रियाकलापहरुलाई पापको संज्ञा दिने मास्टर वास्तब मै पापी हो वा होइन त्यो छुट्टाउने जिम्मा लेखकले पाठकलाई नै छोडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here