मोड

0
192
बिमला तुम्खेवा

भन्न सक्दिन त्यो क्षण
तर, तिमीले यही सिमानाबाट आफुलाई मोडेका थियौं
म भने,
तिम्रो घुङ्ग्रिएको केश र मुस्कान सम्झीएर
यही टन्टलापुर घाममा उभिएको छु

यी गीतहरू
समुद्री आधीहरूझैं
तिम्रा खातिर बग्न चाहने यी निला आँखाहरू
हो,
त्यही समयदेखि मौन छन्
जुन दिन तिमी अन्तै मोडीएका थियौ
म,
त्यही समयदेखि पारूहाङझै रोईरहेको छु

आशु सँगै
डरलाग्दो सपना जस्तो कति (कति आफन्तहरू छुटे
म भने भुल्न नसकेर त्यो क्षण
बाटो पल्लोपट्टि रूख जस्तै उदास छु
म,
भन्न सक्दिन त्यो क्षण
तिमी किन अन्तै मोडिएका थियौं ।

 

सिमलको नाङ्गो हाँगा

धेरै बर्ष अगाडि
हाम्रो प्रेम साटिएको फलैचा
त्यसरी नै ठिङ्ग उभिएको थियो
बाटो छेउमा लहरै उभिएको सिमलको रूखमा
चैत
त्यसरी नै नांगीएको थियो
म थिए,
मेरा रहरहरू थिए केवल तिमी थिएनौं ।
अब
एक्लै रोएको मादलको ताल हुन सक्छ
यो फलैचा
यो बाटो
आत्मीय लाग्ने हावा को स्पर्श ।
फेरि पनि मृत्युदण्ड हुन सक्छ कुनै प्रेमी नागरिकलाई
र,
सुदूर गाउँमा रोईरहेकी हुन सक्छे
बुढी आमा आफ्नो सन्तानको सम्झनामा
जसरी धेरैअधि रोएकी थिए
म प्रियतमको नाममा एउटा अप्रतिम साँझ ।
साच्चै,
सत्र बर्ष पछि त्यही फलैचामा उभिएर
सोचीरहेछु, देखीरहेछु
यो फलैचा
यो सिमलको रूख
हामीलाई हेर्दै दौडने ती बच्चाहरू ठुला भैसकेछन्
पाहाड भन्दा अग्लो
मात्र म
प्रेमको नाममा त्यागको नाममा
एउटा पृथक इतिहास बाचीरहेछु
देखिएका सिमलका नाङ्गा हाँगाहरूजस्तै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here