आङी

0
50
            मुक्तान थेबा

अस्ति
भोर्लेको भिरको बाटो, गाउँ फर्किँदै गर्दा
बिस्कुनमा कोदो सुकाईरहेकी
सुकुमाया आङिले भन्नू भो –
“थेबा, ए म्योबा रो याम्बुरी”

मैले भनेँ-
“हो आङी, म बहुलाएकै हो याम्बुमा”।

ढाक्रे आबाले
बर्षौँ देखि बोक्दैआएको भारी जत्रो
उत्सुकताको गुन्टा बोकी
पहिलोचोटि
उक्लिँदै गर्दा धरहरा
देखेको हुँ-
भित्तामा झुन्डिरहेका
मेरै आख्खेका टाउकाहरु  ।
क्रोधले काँपिरहेका टाउकाहरु
मेरो निरीह आँखा हेरेर झम्टिएला झैँ गर्यो
हतार-हतार उम्केको हुँ बधशालाबाट ।

अलिक परतिर
बिश्व सम्पदाको ट्याग झुन्डिरहेको
त्यो पटाङ्गिमा उभिएर
आँखाको मदानी घुमाएँ
मेरै आख्खेका करङहरुको माला पहिरिएर
उभिएका थिए वैभवका धरोहर
हडबडाउँदै भित्र छिर्न खोजेँ
लहरै झुण्डिएको थियो-
कुमारी बज्युहरुका रगत लत्पतिएको पेट्टिकोट ।
छिप्पेको जाँड जस्तै उम्लियो
मेरो टाउको- बुजुज्जु- बुजुज्जु
रनथनिँदै निस्केको हुँ
हिंस्रक ओडारबाट ।

रामबिनयले बर्षौँ देखि
उसैगरी भुट्दै आएको हुनुपर्छ
आफ्नै अनुहार जस्तो कसौंडीमा
अधुरो सपनाका दाना
उसैको ठेलागाडाबाट उठाएको
एक पसर मक्कै र भटमासले
भोको आन्द्रा थुम्थुमाउँदै
धेरैचोटी पल्टेको हुँ-
टुँडिखेलको दक्षिणी कुना
र चन्द्रागिरिको टाउको टेकाएर
उडाएको हुँ सपनाको बैपङ्खी
तर हरेक चोटि
मेरो सपनाको बाटो छेक्न
आउपुग्थ्यो- जुद्ध शमशेरको घोडा ।

त्यो हिंश्रक याम्बुको
नसुने पछि कतै कुनै कुनामा
डम्फुको धून
नसुने पछि कतै कुनै कुनामा
बजुले रन्काएको फापरे सेलो

नदेखे पछि कतै कुनै कुनामा
आख्खेले उभ्याइगएको स्वाभिमानको पहाड
“हो आङी,
म बहुलाएकै हो त्यो याम्बुमा।”
यसपाली त पक्का आउँछु आङी
पोङभरी आइरक बोकेर
तिम्रो घर ।

म्हेन्दोसित सोध्नु  ।

२०७३/०५/०६ (याम्बु )

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here