नयाँ सौन्दर्यका लागि यथास्थितिवादी मनोविज्ञानमा परिवर्तन आवश्यक

0
931

Post Report: Jyoti
बुधबार बिहान, फाल्गुन १४ गते दमकस्थित युथ नेटवर्कको कार्यालयमा सिर्जनशील अराजकताका अभियन्ताद्वय राजन मुकारुङ र उपेन्द्र सुब्बा घेरिएका थिए, दमकेली युवाहरुको जमातमा ।

विशेषतः कलेज पढ्ने उमेरका, विद्यार्थी राजनीतिमा सक्रिय विद्यार्थी नेताहरु, लेखनमा क्रियाशील युवाहरु र कलेज पढाउँदैगरेका युवाहरुसमेतको जमातमाझ दुई अराजक साहित्यकारहरु नेपाली समाजको वस्तुस्थितिबारे बोलिरहेका थिए । बिहानको भलाकुसारीमा बहसको विषय थियो –सांस्कृतिक संक्रमण र फेरिँदो सौन्दर्य । मदन पुरस्कार विजेता आख्यानकार राजन मुकारुङले वर्तमान राजनीतिक परिवेशमा समृद्धिको नारालाई जनताले अभिमत दिएको स्पष्टोक्तिसहित विचार राख्न सुरु गरे ।

मुकारुङले सांस्कृतिक मनोविज्ञान अनसारले सौन्दर्य चिन्तन विकास हुने तर्क गर्दै भने –‘यथास्थितिवादी मनोविज्ञान परिवर्तन नभएसम्म नयाँ सौन्दर्य निर्माण हुन सक्दैन ।’

२०६२÷६३ को जनआन्दोलन ताका काँग्रेस नेता गिरिजाप्रसाद कोइरालामा युवा जोश र चिन्तन विकास नभएको भए मुलुक गणतन्त्रमा प्रवेश गर्ने सम्भावना न्यून रहने दावा गर्दै उनले भने –‘नयाँ चिन्तन र नयाँ परिवर्तनका लागि युवा आवश्यक छ । युवा उमेरले होइन, नयाँ चिन्तनले बन्छ । नवीनता र परिवर्तनको नेतृत्वबाट युवा जन्मन्छ ।’

नेपाली समाजको रूपान्तरणका लागि संस्कृतिप्रतिको रुढ र जड चिन्तन परिवर्तन हुन आवश्यक छ भन्दै मुकारुङले सिर्जनशील अराजकताले थालेको अभियान पहिचानको पक्षमा रहेको जिकिर गरे । उनले भने –‘वाम गठबन्धनको समृद्धिको नाराले मुलुकमा पहिचान पक्षधरहरुको आन्दोलन रक्षात्मक पंक्तिमा पुगेको निश्चित हो, तर संसारभर पहिचानको आन्दोलन जताततै रहिरहेको छ ।’

नेपाली समाजमा युवाहरुको चाहना तीव्र गरी फेरिरहेको भन्दै मुकारुङले विचार र सिद्धान्तबाट निर्देशित नभएका चाहनाहरु छिट्टै बदलिने दावी गरे । उनले राज्यले मुलुकभित्र युवा व्यवस्थापन गर्न नसकेर नै वैदेशिक रोजगारीको अवधारणा अघि आएको बताए ।

मुकारुङले नेपालमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरुमा व्यापारीकरण भएकाले मुलुकको समाज र सांस्कृतिक सौन्दर्यलाई प्रतिविम्बित गर्ने शिक्षा प्रणालीको विकास नभएको जिकिर गर्दै परिवर्तनका लागि आबको युवा पुस्ताले सबैको अस्तित्व स्वीकार्य हुनेगरी सहकार्य गर्न आवश्यक रहेको स्पष्ट पारे । उनले भने –‘खस आर्य समुदायले आदिवासी जनजाति, शिल्पी, मधेसी, मुस्लिम लगायतको समस्याका बारेमा सकारात्मक दबाव सिर्जना गरिदिने र खस आर्य समुदायको सरोकार बारे अन्य समुदायले बोलिदिने बानीको विकास गर्न जरुरी छ ।’

सहभागीबीच लामो भूमिका बाँधेर कवि उपेन्द्र सुब्बाले किरातकालीन, लिच्छबीकालीन हुँदै वर्तमानसम्मको सांस्कृतिक विकास, अभ्यास र चिन्तनलाई पग्रेल्ने प्रयास गरे । उनले भने –‘समाज विकासक्रममा कुनै एउटा तप्काले आफूलाई मात्रै उच्च जाति, विशिष्ट ठान्दै अघि बढ्दा सामाजिक संक्रिणता बढेको हो ।’

नेपालमा राजनीति गर्नेहरुले मात्रै जातिवादलाई बढवा दिएर नल्याएको भए वर्तमान समाज जातीय र नश्लीय सकसबाट मुुक्त हुन सक्थ्यो भन्ने अनुमान गर्दैगर्दा सुब्बाले भने –‘साझा नेपाली जातिको विकास गर्न सकिएन भने नेपाली समाजको हार्दिकता टुट्दै जान सक्छ ।’ उनले अबको युवा पुस्ताले नेपाली समाजलाई जोड्न भूमिका खेल्नुपर्ने जिकिर गरे । सुब्बाले भने –‘संस्कृति, चिन्तन र मनोविज्ञानलाई साझा र सबैको अस्तित्वलाई स्वीकार गर्ने ढङ्गले विकास गर्नुपर्दछ ।’

दमक जेसीज भवनस्थित युथ नेटवर्कको कार्यालयमा उपस्थित युवा अभियान्ताहरुसँग दुई अराजकहरुको भलाकुसारी करिब दुई घण्टा चलेको थियो । नवीन प्राचीनले सहजीकरण गरेको कार्यक्रममा कवि प्रकाश बुढाथोकी, कलाकार हेमन्त बुढाथोकी, दमक जेसीजका निवर्तमान अध्यक्ष गोबिन्द कट्टेल, स्रष्टाहरु मेचीपुत्र, राजकुमार सुब्बा अनिश्चित, अशोक बस्नेत, देशराज नेम्बाङ, चेमु शेर्पा खुशी लगायतको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here