राजदुतलाई प्रधानमन्त्रीको ब्रिफिङः नेपालको प्राथमिकतामा असहयोग नहोस्

0
779

१३ चैत्र, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कुटनीतिक नियोगका समुदायलाई नेपालको प्राथमिकतामा असहयोग नगर्न आग्रह गरेका छन् । बालुवाटरमा दिवाभोजसहित राजदुतहरुका लागि मंगलबार आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको मुख्य नीति र प्राथमिकताका ६ वटा बिषय प्रस्तुत गरेका थिए । ‘समृद्ध नेपाल र खुशी नेपाली’ शिर्षक सरकारको मुख्य उदेश्य भएको बताउँदै प्रधानमन्त्री ओलीले दोश्रो प्राथमिकतामा लोकतन्त्र र मौलिक स्वतन्त्रताप्रतिको प्रतिवद्धता रहेको बताए ।

‘लोकतन्त्र अपरिवर्तनीय छ र कसैले पनि  हामीबाट यो थुत्न सक्दैन’ प्रधानमन्त्रीले भने । सरकारको तेश्रो प्राथमिकतामा समानतामा आधारित सामाजिक न्याय रहेको बताएका ओलीले  चौंथोमा स्थायित्व, प्रगती र बिकास, पाँचौंमा सुशासनप्रतिको प्रतिवद्धता र छैटौंमा दिगो विकास रहेको बताएका छन् । सरकारका यी प्राथमिकता सुनाएका ‌ओलीले यसमा सहयोग पूर्याउन नीजि क्षेत्र र अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन । सरकारको प्राथमिकता बताएलगत्तै प्रधानमन्त्री ओली आफ्नो सरकारको विदेश नीतिमा केन्द्रित भएका थिए । विदेश नीतिमा पनि प्रधानमन्त्रीले पहिलो प्राथमिकता नेपाली स्वार्थको प्रवर्द्धन रहेको प्रष्ट्याएका छन् । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रलाई अक्षुग्ण राख्दै राष्ट्रिय स्वार्थको प्रवर्द्धन गर्नु सरकारको विदेश नीतिको पहिलो प्राथमिकता भएको उनको भनाई छ । ‘स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित सम्वन्ध वाह्य संलग्नताको आधार हुनेछ’ प्रधानमन्त्री ओलीले भने । यस्तै पञ्चशिल, असंलग्नता, राष्ट्रसंघीय चार्टर, अन्तराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यता नेपालको परराष्ट्र नीतिको आधार रहेको उनको भनाई छ । सवैसँग मित्रता राख्ने र कसैसँग पनि वैरभाव नराख्ने आफ्नो सिद्धान्त रहेको बताउँदै ओलीले भने ‘हामी सवैको असल मित्र बन्न चाहान्छौं, हामी सवैलाई असल मित्रका रुपमा व्यवहार गर्न चाहान्छौं’ उनले भने,‘हामी न्याय, सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा अन्तराष्ट्रिय सम्वन्ध अघि बढाउन चाहान्छौं ।’ चुनावी प्रतिवदेनका नाममा ईयूले नेपालको सार्बभौमिकतामा हस्तक्षेप गरेको भनेर सार्बजनिक कार्यक्रमहरुमा कडा आलोचना गरेका प्रधानमन्त्री ओलीले कुटनीतिज्ञहरुकै लागि राखिएको कार्यक्रममा भने सो बिषयमा कुनै पनि टिप्पणी गरेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here