काठमाडौंमा एक दिनको आवरण सार्वजनिक

0
975
कामठाडौं, चैत्र ५ | पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको बहुप्रतिक्षित उपन्यास ‘काठमाडौंमा एक दिन’को आवरण सार्वजनिक भयो । लेखिका र प्रकाशक फाइनप्रिन्टका सिइओ नीरज भारीले आवरण सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले भने, ‘शिवानी सिंह थारुले उपन्यास लेख्दैछिन् भन्ने थाहा पाएपछि मेरो गीत, मेरो सन्देशकी चुलबुले प्रस्तोताले प्रेम, रोमान्सबारे उपन्यास लेखिहोलिन् भन्ने मेरो आँकलन थियो । तर, उनले मधेश, मधेश आन्दोलन र सशस्त्र विद्रोहमाथि गम्भीर उपन्यास लेखेको थाहा पाउँदा आश्चर्यचकित भएँ । यो उपन्यासले महिला लेखिकालाई हेर्ने हाम्रो दृष्टिकोण सायद परिवर्तन गर्नेछ ।’
लेखिका शिवानी सिंह थारुले भनिन्, ‘मभित्रको आक्रोसले मलाई काठमाडौंमा एक दिन लेख्न प्रेरित गरेको हो । र, यही आक्रोसले मलाई वर्र्षोंसम्म एउटै उपन्यासमा काम गर्ने जाँगर प्रदान गरेको हो । यस्तै आक्रोस उपन्यासको एक पात्रमा पनि छ र ऊ आफ्नो लक्षप्राप्तिका लागि त्यसरी नै जुझिराख्छ जसरी म यो उपन्यास लेखनमा जुझिराखें ।’ उनले थपिन्, ‘सामाजिक अन्यायमा परेको पात्र कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छ र त्यो हिंसा कसरी प्रतिहिंसामा परिणत हुन्छ भन्ने देखाउने प्रयास मैले उपन्यासमा गरेको छु ।’  
नीरज भारीले भने, ‘धेरै वर्ष लगाएर लेखिएको शिवानी दिदीको पाण्डुलिपि पढिसकेपछि मैले उहाँलाई उपन्यास पढेर सकें भनेर एसएमएस गरेको थिएँ । अनि उहाँले कस्तो लाग्यो भनेर सोध्नुभएको थियो । मैले उहाँलाई भनेको थिएँ, ‘प्रतिक्षा त कसलाई मन पर्छ र । तर तपाईंको किताबको पर्खाई सार्थक रह्यो । साँच्चै नै उहाँको पुस्तक पर्खन लायक भएको छ ।’
उनले उपन्यास चैत्र १९ गते सार्वजनिक हुने जानकारी पनि दिए । उपन्यासको ‘टिजर’ पनि शिघ्र सार्वजनिक हुँदै छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here