नेपालद्वारा केन्या ३ विकेटले पराजित, शीर्ष दुईमा पर्ने सम्भावना प्रबल

0
798

२९ माघ, काठमाडौ विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई  ३ विकेटले हराउँदै नेपालले शीर्ष दुईमा पर्ने सम्भावना प्रबल बनाएको छ ।

१७८ रनको लक्ष्य पच्छ्याएको नेपालले जितका लागि अन्तिम ओभरसम्म संघर्ष गर्नुपर्यो । अन्तिम ओभरको अन्तिम बलमा जितका लागि दुई रन आवश्यक रहेकोमा सोमपाल कामीले २ रन लिएर नेपाललाई जिताए । ५ बल खेलेका सोमपाल ५ रनमै अबिजित रहे ।  नेपालको ब्याटिङलाई उकासेका रोहित पौडेल ८६ बलमा ४७ रन बनाएर आउट भए ।  कप्तान पारस खड्का र आरिफ शेखले समान ४२/४२ रन बनाए । यस्तै शरद भेषावकर १९, दिपेन्द्रसिंह ऐरी १, ज्ञानेन्द्र मल्ल ८ र  अनिल कुमार साह शून्यमा आउट भएका थिए ।  

यसअघि टस हारेर पहिला व्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । केन्यालाई १ सय ७७ को मध्यम स्कोरमा रोक्न सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए  । उनले १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए । विश्व क्रिकेट लिग डिभिजन टु मा १४ विकेटसहित सन्दिप सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा समेत परेका छन् । प्रतियोगितामा अहिलेसम्म खेलेका ४ मध्ये ३ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । आफूले खेलेका तीनै खेल हारेको केन्या भने अंक तालिकाको पुछारमा छ । ६ टिम सहभागी यो प्रतियोगिताको शीर्ष २ मा पर्न सके नेपालले विश्वकप छनौट खेल्न पाउने छ । नेपाले अब आफ्नो अन्तिम खेल बुधबार क्यानडासँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here