पतिपत्नीविच किन अविश्वास बढ्छ ?

0
1312
Dr. Govinda Upadhyaya

पतिपत्नीका विचमा सबैभन्दा बढी पीडादायी अविश्वास यौनजन्य क्रियाकलापसंग जोडीएको हुन्छ | विवाहेतर यौनजन्य सम्पर्कको अविश्वास सबैभन्दा घातक हुन्छ | भारत, नेपाल तथा मुस्लिम राष्ट्रहरूमा हजारौं महिलाहरूको हत्याको कारण यही बन्छ भने महिलाहरूले पनि यदाकदा पति, परिवार तथा आफै विरुद्ध पनि आत्मघाती कदम चल्छन् |

केही व्यक्तिहरूमा अविश्वासको मनोरोग नै हुन्छ भने होस् नपुर्याउने हो भने हामीमा पनि अविश्वासको मनोरोग लाग्नसक्छ | त्यैपनि पतिपत्नीका विचमा अविश्वासको सम्बन्ध कसरी विकसित हुन्छ ? भन्ने विषयमा केही जानकारी प्राप्त गर्दा चिन्तनशैली परिवर्तित हुनसक्छ | जीवनबाट अविश्वासको पर्दाहटेर दाम्पत्यजीवन सहज हुनसक्छ |

पतिपत्नीको सम्बन्ध आपसी विश्वासमा टिकेको हुन्छ | सानो अविश्वासको धमिरोले समस्त पारिवारिक जीवनमा धमिरो लाग्न सक्छ | त्यसैले अविश्वासका कारक विषयवस्तुहरूका विषयमा मैले यहाँ संक्षेपमा बूँदागत परिचर्चा गर्छु | यी वूँदाहरुमा विचार गर्दा पारिवारिक जीवन सजिलो बन्न सक्छ, विकसित भएको अविश्वासको वादल छाँटकाँट हुनसक्छ |

१. अविश्वास – केही व्यक्तिहरूमा बंशज वा अन्य अप्राकृतिक कारणहरूले अविश्वासको वानी नै विकसित भएको हुन्छ | बानीव्योहोराका रुपमा विकसित भएको एस्तो मानसिक समस्याको उपचार औषधि तथा मनोबैज्ञानिक परामर्शदाताका माध्यमबाट गरिनुपर्छ | एस्तो मनोरोगको पहिचान पनि परीक्षणबाट नै हुन्छ |

२, विवाहपूर्व शारीरिक सम्बन्ध – केही आधुनिक युवायुवतिहरूले विवाह नै गर्ने भएपछि शारीरिक सम्बन्ध राख्दा के नै हुन्छ र ? भन्ने विश्वासका कारण विवाहपूर्व सहमति मै शारीरिक सम्बन्ध बनाउछन् | तर नेपालको परम्परागत समाजमा एस्तो सम्बन्धले विवाहपछि आपसी अविश्वास जन्माउन सक्छ | “विवाह नै नगरी म सम्बन्ध स्थापित स्थापित गर्नेले अर्कोसंग सम्बन्ध स्थापित गर्दैन भन्ने के ग्यारन्टी ?” भन्ने मनोविज्ञान मनको कुनै कुनामा लुकेको हुनसक्छ |

३. विवाहपूर्वका अन्य सम्बन्धका विषयमा जानकारी – हाम्रो समाजमा पतिका पूर्व शारीरिक सम्बन्ध वा विवाह विच्छेद सजिलैसंग स्वीकार भएको देखिन्छ भने महिलाहरूका पूर्वसम्बन्धक विषयमा पुरुष त्यति उदार हुँदैनन् | पति वा पत्नीलाई यस्ता सम्बन्धका विषयमा विवाहपश्चात थाहा प्राप्त हुनु पनि अविश्वासको कारण बन्न सक्छ | यहाँ एउटा कुरा सधैं स्मरण गर्नुपर्छ कि आधुनिकताका नाममा पतिसंग पत्नीले आफ्ना पूर्वसमबन्धहरू नखोलेको नै राम्रो |

४. लुकाउनु – पतिपत्नीको सम्बन्ध सधैं पारदर्शी हुनुपर्छ तर दूबैले विवाहपूर्वका विषयहरूमा चर्चा नगरेको राम्रो | यस विषयमा विवाहपूर्व नै समझदारी कायम गरेको राम्रो | त्यैपनि केही पतिपत्नीहरू एकआपसमा जीवनचर्या, सम्बन्धहरू र असल-कमसल कुराहरू लुकाउने गर्छन् | केही व्यक्तिहरू “लुकाउने” मानसिक समस्याबाट नै पिडित हुन्छन् | त्यसैले हामीले आफुलाई सोध्नुपर्छ “कहीं हाम्रो पारिवारिक सम्बन्ध विग्रनुमा लुकाउने वानी जिम्मेदार त छैन ?

५. कुरा फेर्ने बानी – पतिपत्नीका विचमा अविश्वास बढ्नुका कारण मध्ये वारम्वार कुरा फेर्नु हो | सुन्दा अचम्म लाग्ला तर जानाजान अथवा एकअर्कालाई वेवास्ता गरेर कुरा फेर्ने बानी राम्रो हुँदैन | वारम्वार कुरा फेर्दा पतिपत्नीको सम्बन्धमा अविश्वास बढ्छ नै |

६. कुरा नसुन्ने बानी – यदि पतिपत्नीमा कुनैकारणले आपसमा कुरा नसुन्ने वानी छ भने पनि एकआपसमा अविश्वासको सम्बन्ध विकसित हुनसक्छ | दुर्भाग्यवस, नेपाली समाजमा धैर्यतापूर्वक पतिले पत्नीको र पत्नीले पतिको कुरा सुन्ने बानीको लोप हुँदैछ | कहिले अहंकारका कारण त कहिले कामकाजको वहाना मा र कहिले “आइमाई” मान्छे वा “पाखे” भनेर दम्पत्तिहरू कुरा नसुन्ने संस्कार विकसित हुँदैछ |

७. परिवर्तित जीवनशैली – परिवर्तन जीवनको अभिन्न अंग हो | केही धनिबाट गरिव बन्छन् भने कोही गरिवबाट धनी | दुर्भाग्य नै भन्नुपर्छ हाम्रो समाजमा पैसा कमाएर धनि बन्दै गएपछि पतिपत्नीविचको परिभाषा परिवर्तित भएका अनेकौं उदाहरण छन् | हिजो गाउँघरमा हुर्किएको पतिले ठूलो पदमा पुगेपछि आफ्नै जीवनसंगिनीलाई “पाखे” ठान्न थाल्छ भने पत्नीका हकमा पनि मैले यही तत्थ्य भेटेको छु | “हाम्रो स्तर मिलेन” भन्नेहरू धेरै छन् |

८. अपारदर्शी आर्थिक ब्यबहार : पारिवारिक जीवनमा अविश्वास बढाउने महत्वपूर्ण कारक मध्ये “अपारदर्शी आर्थिक व्यवहार” पनि एउटा हो | पति होस् वा पत्नी दूबैले आफ्नो आर्थिक कारोवार एकआपसमा पारदर्शी राख्नुपर्छ | कहिलेकाहिं परिवारकै लागि भनेर लुकाएको पैसा पनि ठूलो समस्याको कारण बन्न पुग्छ | भारत सरकारले ५ सय र १ हजारका नोट अवैधानिक गर्दा धेरै पतिपत्नीको सम्बन्ध विग्रेका खवरहरू आएका थिए | सकेसम्म पतिपत्नीका आयव्ययका विषयमा एकआपसमा जानकारी हुनुपर्छ |

९. अनिच्छामा यौन : मान्छेको स्वास्थ्य सधैं राम्रो हुँदैन | अस्वस्थ्य अवस्थामा पतिले पत्नीमा र पत्नीले पतिमा यौनजन्य क्रियाकलाप लागि वाध्यपर्दा मनमा नराम्रो प्रभाव पर्छ | पार्टनर मायालु छ भन्ने आत्मविश्वास गुम्ने सम्भावना हुन्छ | यौनजन्य क्रियाकलाप दूबैको समझदारी हुनुपर्छ, दूबैमा त्यसको चाहना हुनुपर्छ | सधैं आफ्नो इच्छा लाद्नेहरू एकआपसमा अविश्वास मिलाउछन् |

अन्त्यमा, हामी आफ्नो दाम्पत्य जीवनसफल रहोस् भन्ने कामना गर्छौ तर जानेर/नजानेर त्यसका लागि चाहिने “विश्वास” आर्जन गर्ने ब्यबहारप्रति उदासीन हुन्छौं | विश्वास आर्जनका लागि सबैभन्दा पहिले आफ्नो सोच र जीवनशैलीमा परिवर्तन गर्नुपर्छ | आफु परिवर्तित भएपछि बल्ल, अरू परिवर्तित हुन्छन् | जीवन विश्वासले चल्छ, अविश्वासले चल्दैन | अविश्वासका लागि सानोतिनो कुरा भए पुग्छ तर विश्वासको लागि सकारात्मक सोच भए हुन्छ |

तपाईंको दाम्पत्यका लागि “बात्स्यायनका” ऋषिले दिएका विचारहरूको सारांश महत्वपूर्ण बनोस्, दाम्पत्य जीवन अझैं सुमधुर बनोस् |
(copyright)

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here