किन्नर (हिंजडा) बहुचरा माता तथा पाटन

0
1328
Dr. Govinda Upadhyaya

नेपालअहिले तेस्रोलिंगी लगायतका भिन्न-यौन अभिरुचि भएका व्यक्तिहरूको गन्तब्य बनेको छ | नेपालको संविधान २०७२ ले तेस्रोलिंगी जसलाई सामान्य भाषामा “हिंजडा” भन्ने गरिन्छ छुट्टै पहिचान दिने वाचा गरेको छ र केहीले तेस्रो पहिचानका साथ नागरिकता पनि प्राप्त गरेका छन् | तेस्रो लिंगीका सवालमा नेपाली समाज उदार छ तर गे तथा लेस्वियनका समाजमा उदार छैन | असलमा, गे (पुरुष-पुरुषविच अप्राकृतिक यौनकर्म गर्ने पुरुष समुदाय) लेस्वीयन (महिला-महिलाविच अप्राकृतिक यौनकर्म गर्ने महिला समुदाय) नेपालको लागि नितान्त नया विषय र परिचय हो तर नक्कल गर्ने प्रबृत्तिले गर्दा अहिले फैलिँदो छ |

मैले यहाँ तेस्रोलिंगी जसलाई भारतीय संविधानले किन्नर भनेर सम्बोधन गरेको छ तिनका आराध्यदेव-देवीहरूका वारेमा चर्चा गर्छु | तेस्रोलिंगी आफ्नो उत्पत्ति ब्रह्माको छायाबाट भएको विश्वास गर्छन् | तेस्रोलिंगीमा धेरै भेदहरू हुन्छन् – पुरुष शरीर महिलाको यौनअंग, महिलाको शरीर पुरुषको यौनअंग | पुरुष र स्त्री दुवैका विकसित वा अविकसित अंग | एस्तो लिंगजन्य समस्या बंशज वा हर्मोनको समस्याले देखिने डक्टरहरूको अनुमान छ |

शिवजीको अर्धनारिश्वरको स्वरूपलाई किन्नरहरू आफ्ना आराध्य देव मान्छन् भने भारतको गुजरात प्रान्तको अहमदावाद सहरमा रहेको बहुचरा माता नै भारतभरिका किन्नरहरूकी कूलदेवी भएको विश्वास गर्छन् र अर्कोजन्ममा किन्नर भएर जन्मन नपरोस् भनेर बहुचरामाताको आराधना गर्छन् | बहुचरा देवी सबै किन्नरहरूकी साझा कुलदेवीका रूपमा स्वीकृत छन् किनभने मुस्लिम वा इसाई समुदायका किन्नरहरूले समेत यिनको आराधना गर्छन् |

बहुचरामाताको सम्वन्ध काठमाडौँ उपत्यकाको पाटनसंग जोडिएको छ भन्ने कुरा धेरै थाहा छैन | तेजपाल नामका एकजना राजकुमारको विवाह पटनकी राजकुमारसंग भयो | तर राजकुमारले राजकुमारीलाई कहिल्यै पनि पतिको सुख दिन सकेन् | यो देखेर राजकुमारी दिक्क थिइन् | उनले कुरो बुझ्ने प्रयत्न गरिन् | उनले एक राति के- थाहा पाइन् भने एक हरेक विहान तेजपाल घोडामा चढेर जङ्गल जान्छन् र रुखको छहारीमा उभिएर महिलाको परिधान लगाएर, महिलाझैं व्यबहार गर्छन् | उनी अचम्ममा परिन् |

राजकुमार फर्केर आएपछि राजकुमारीले आफुले उनको कुरा थाहा पाएको र किन त्यसो गरेको भनि प्रश्न गर्दा राजकुमारले आफ्नो इच्छा नहुँदाहुँदै पनि बाबुआमाको करकापमा पारेर विवाह गरेको आफुलाई महिलासंग यौनसम्पर्क राख्न कत्ति मन नहुने बताए | राजकुमारी निक्कै दुखी भइन् | आफ्नो जिन्दगी वर्वाद गराएको भन्दै रुन थालेपछि राजकुमार तेजपालले आफु रानीको हरेक शर्त स्वीकार गर्न तयार रहेको बताए |

राजकुमारीले “आफुलाई देवी मानेर पूजा गर्नु पर्ने र विश्वभरिका तिमीजस्तै मान्छेहरूले मलाई आफ्नो कूल देवी मानेर पूजा गर्नुपर्ने छ” भन्ने माग राखेको र राजकुमारले त्यो शर्त स्वीकार गरेको उल्लेख छ | त्यसपछि ती दुबैको प्राण अन्त्य हुन्छ | राजकुमार राजकुमार कै रूपमा जन्मे तर पूर्वशर्तअनुसार देवी बनेको बहुचराले सपनामा राजकुमारलाई लिंग काटेर फाल्न र आफ्नो पूजाआराधना गर्न आदेश दिएपछि त्यसै गर्छन् |

राजकुमार तेजपाल नै बहुचरा माताका प्रथम आराधक मानिन्छन् | पटनमा पालहरूको राज्य हुनु र पाल राजकुमार नै बहुचरामाताको आराध्य भएको कथा केवल मिथक हुन सक्दैन तर पटनमा स्थापित बहुचरामाता गुजरातको अहमदावाद कसरी पुग्यो ? खोज गर्नुपर्ने विषय रहेको छ | यस अर्थमा प्राचीनकालदेखि नै तेस्रोलिंगीलाई सामाजिक, सांस्कृतिक तथा धार्मिक मान्यता दिने कार्य पनि उपत्यका मै भएको सिद्ध हुन्छ |

उपत्यकामा किन्नर अर्थात् तेस्रोलिंगी सम्बन्धि के-कस्ता प्राचीन स्मारक, मन्दिर, प्रतीक के-कस्ता छन् ? भन्ने खोजका विषय खोज्नुपर्छ | तमिलनाडुमा रहेको अरवल देवताको पनि पतिका रूपमा तेस्रोलिंगीहरूले आराधना गर्छन् | कामसूत्र, रतिमन्जरी लगायत प्राचीन पुस्तकहरूमा पनि किम्पुरुष, किन्नर, हिंजडा आदिका विषयमा चर्चा भएको छ |

हिन्दू संस्कृतिको सुन्दर पक्ष के हो भने यसमा जुन सुकै समुदायका व्यक्तिहरूलाई आध्यात्मिक महत्वप्रदान गरिएको छ | खासगरी विवाहका वखतमा किन्नरहरूको उपस्थिति र आशिर्वादलाई एकदमै राम्रो मान्ने चलन केही भारतीय समुदायमा रहेको छ भने बालबालिकाहरूको जन्म, चुडाकर्म, ब्रतबन्ध आदिमा पनि किन्नरहरूले आशिर्वाद दिने र किन्नरहरूलाई दान दिने चलन नेपालमा पनि रहेको छ | यदपि नेपाली समाजमा भारतीय समाजमाझैं किन्नरहरूको छुट्टै समूह रहेको/नरहेको जानकारी छैन |

यो लेखको उदेश्य “प्राकृतिक रूपमा तेस्रो लिंगी”का रूपमा जन्मिएका समुदायहरूलाई पनि हिन्दू धार्मिक तथा सांस्कृतिक जीवनमा उचित सम्मान दिने ब्यबस्था थियो | विदेशीहरूको नक्कल र नेटमा पोर्न-मुभीहरू हेरेर पुरुष-पुरुष वीच, महिला-महिलाविच अप्राकृतिक यौनजन्य क्रियाकलापमा सहभागी हुनेहरूलाई समेत “तेस्रोलिंगी” मान्नु प्राकृतिक नियम विरुद्ध हो | हो, यदि कसैले आधुनिक शल्यक्रिया द्वारा आफ्नो लिंग नै परिवर्तन गरेको छ भने लिंगअनुसार उसको अधिकार सुरक्षित हुनुपर्छ |

पश्चिमा सभ्यतामा गे तथा लेस्बियनहरूको उदयभएपछि त्यहाँको हावा नेपालमा पनि चिरेको छ | मानवाधिकारको खोलमा केही अन्तराष्ट्रिय संस्थाहरूले “लेस्वियनवाद र गे-वाद”को प्रचारप्रसार र स्थापना गर्न ठूलै लगानी गरिरहेका छन् | असलमा,मनोविज्ञान तथा मानवाधिकारको आड लिएर नेपाली धर्म, संस्कृति र परम्पराहरूका विरुद्ध “गे-वाद र लेस्वियनवाद”को विकासका लागि प्रयत्न गर्नु ठीक होइन | मनोविकृतिका रूपमा विकसित हुँदै गैरहेका यस्ता विकृतिउपर नियन्त्रण गरिनुपर्छ भने प्राकृतिक रूपमै अन्यायमा परेका समुदायको मर्यादा अन्य नागरिक सरह नै हुनुपर्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here