नेता घर छानिछानी बिष्फोटः केपी ‌ओलीदेखि बहालवाला मन्त्रीसम्म टार्गेटमा

0
1363
बम बिस्फोट हुँदा क्षति पुगेको गाडी ।

भूपाल लुइटेल/ ९ कात्तिक काठमाण्डौं । पहिलो चरणको प्रदेश र संघको चुनाव हुन एक दिन बाँकि रहँदा निर्बाचन विरोधी समूहले नेताका घर छानी छानी बम बिस्फोट गराउन थालेका छन् । झापाको दमक–५ स्थित नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घर मात्र होइन झापा कांग्रेस जिल्ला सभापति उद्धव थापा र सर्लाहीमा पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा समेत गएराति बम बिस्फोट गराइएको छ ।

दमकस्थित ओली निवास अगाडी गेटमा राखिएको बम

आज बिहान ४ बजेतिर पूर्बप्रधानमन्त्री केपी शर्मा ओलीको दमक ५ स्थित घरमा बम बिस्फोट भएको छ । ठूलो आवाजका साथ भएको सो विस्फोट झण्डै दुई किलोमिटर टाढासम्म सुनिएको थियो । घरको गेटमा बिस्फोट गराइएको वालामा सामान्य क्षति पुगेको छ । सोही स्थानमा राखिएको अर्को बम भने २१ नंम्वर बाहिनिबाट पुर बहादुर घलेको नेतृत्वमा पूगेको सेनाको बम डिस्पोजल टोलीले बिहान साढे ७ बजेतिर डिस्पोज गराएको छ । ओली निवासमा दमक नगरका मेयर रोमनाथ ओलीको परिवार बस्दै आएको छ । अहिले यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । ओली आसन्न प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहनुभएको छ ।

बम बिस्फोट हुँदा क्षति पुगेको  उद्धब थापाको गाडी ।

यसैगरी गएराति १२ बजेतिर झापा–२ का कांग्रेस उम्मेदवार तथा झापा कांग्रेसका सभापति उद्धव थापाको बिर्तामोडस्थित निवासमा पनि विस्फोट भएको छ । विस्फोटबाट पार्किङमा राखिएको बा ७ च ६८९५ नम्बरको गाडी क्षतिग्रस्त भएको छ । दुवै घटनामा कुनै मानवीय क्षति भने भएको छैन । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

आजै बिहान सर्लाहीस्थित लालबन्दी नगरपालिका १७ मा रहेको पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा समेत बम विष्फोट भएको छ । विष्फोटबाट ५ फिटजति पर्खाल भत्किएको छ । घर पछाडीपट्टी थोत्रा सामान राख्ने ठाउँ नजिक बम विष्फोट गराइएको प्रहरीले जनाएको छ । घटनास्थलमा सिलभरका टुक्राहरु भेटिएको र विष्फोटमा संलग्नहरुको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here