सुधार होइन, परिवर्तन हो : राज्यराष्ट्र

0
1693

एकातिर चुनावको तयारी चल्दैछ, चुनाव आयोग र सरकार मिलेर यसैका लागि करोडौं डलरहरू खर्च गरिरहेका छन् | जनताहरू अविश्वास गर्दागर्दै पनि भोट खसाल्न तयार हुँदैछन् | कार्यकर्ताहरू पार्टीले तोकेको धर्म मान्न बाध्य छन् भने जनताहरू अविश्वास तथा अनिच्छामा भोट खसाल्न तयार हुँदैछन् |

अर्कोतिर चुनावमा जानुपर्छ तर यो नेपाली जनताको चाहना र भावना विपरित धर्मनिरपेक्षता, जातीयता तथा चोरबाटो बाट आफन्तलाई जागिर खुवाउने समानुपातिक ब्यबस्था ठीक छैन भन्ने आवाज उठिरहेका छन् | धर्म-संस्कृति तथा नया रैथाने सभ्यतालाई ध्वंस पार्ने बर्तमान ब्यबस्थाको विकल्प खोज्नु पर्ने कुरामा जोड दिन्छन् |

Dr. Govinda Upadhyaya

मेरो विचारमा डेमोक्रेसी, समाजवाद आदि शब्द र त्यसमा आधारित राजनैतिक चिन्तन भित्रनै रहेर “युरोसेन्ट्रीक राजनैतिक ब्यबस्था”संग असहमति अनाउनुको कुनै अर्थ छैन | नेपालका लागि राजनैतिक कोर्स नै परिवर्तनको आवश्यकता छ | युरोसेन्ट्रीक राजनैतिक चिन्तन नै नेपाली परिवेशमा ठीक छ भन्नु सुधारिएको चूलो भन्दा पनि कमसल र असंस्कृत विचार हो |

नेपाली धर्म, संस्कृति तथा रैथानेपनको सुरक्षा गर्दै नेपाललाई उन्नत बनाउने हो भने “युरोसेन्ट्रीक चिन्तनमा परिवर्तन गरेर नेपालीको उन्नति हुन्छ” भने सोचमा परिवर्तन गर्नुपर्छ | प्रजातान्त्रिक ब्यबस्था ठीक छ तर मान्छे अप्रजातान्त्रिक भए भनेर समस्याको समाधान हुँदैन | असल राजनैतिक चिन्तनले असल नागरिकको विकास हुन्छ र कमसल चिन्तनले कमसल नागरिकहरूको | अहिलेको लोकतन्त्र कमसल नागरिक निर्माण गर्ने कारखानामा परिवर्तित भैसकेको छ |

यदि हामी वर्तमान राजनैतिक कोर्ससंग असहमत छौं भने हामीले यसलाई सुधारेर होइन, यसलाई विस्थापित गरेर मात्र परिवर्तन गर्न सक्छौं | डेमोक्रेसी शब्दप्रतिको मोहका कारण हाम्रो राजनैतिक चिन्तन सधैं यसैका वरीपरी घुमिरहेको हुन्छ | यही मोहका कारण बुझेर वा नबुझेर पंचायतलाई महेन्द्रले नेपाली माटो सुहाउँदो, विपीले नेपाली जनताको समाजवाद र मदन भण्डारीले “जनताको जनवाद”का नाममा नेपाली कारण गर्ने प्रयत्न गरे |

यी मध्ये कुनै पनि सफल भएका छैनन् बरू देशमा द्वन्द बढेर माओवादी युद्ध जन्मायो | युरोपेली भर्सनको डेमोक्रेसी र सोसलिज्मको शाब्दिक जालप्रति मोहभंग नभएसम्म जस्तोसुकै शब्दको प्रयोग गरे पनि नेपाल र नेपालीको भाग्य बदलिन्न | बोतल फेरेर रक्सी र रक्सी फेरेर बोतल मदको समस्या समाधान हुँदैन |

यसको मूल कारण हो – नेपालको र विदेशीहरूको राज्य वा राष्ट्र सम्वन्धि अवधारणा | नेपाल राष्ट्रराज्य हो | युरोपेली राजनैतिक कोर्स राष्ट्रराज्यको अवयवसंग मुछिएका छन् भने नेपाल राज्यराष्ट्रको अवधारणासंग जेलिएको छ | यहाँ राज्यहरूको समुहले बृहतर राष्ट्रको निर्माण हुन्छ भने त्यहाँ स्वतन्त्र राष्ट्रहरूको अवधारणा जातिभाषा, धर्मसंग जोडिएको हुन्छ |

हामी राजनैतिक चिन्तनको विकल्प चाहन्छौ भन्नेहरूले “अव नेपालको राज्यव्यवस्था राष्ट्रराज्य अन्तर्गत होइन राज्यराष्ट्र अन्तर्गत हुनुपर्छ” भन्न सक्नुपर्छ | नेपालको वास्तविक रैथाने राजनैतिक तन्त्र “राज्यराष्ट्र” नै हो | मोही पनि माग्ने तथा ढुङ्ग्रो पनि लुकाउने विद्वानहरूको प्रवृतिले देशको प्रतिमा बदलिन्न |

वर्तमान राजनैतिक परिपाटीले निम्त्याएको अवस्था र लोलुपताले हामी सबै पीडित छौँ | हाम्रो देश दीर्घ रोगी भएको छ किनभने नेपाली नेतृत्वले युरोपेली रोग आफ्ना जनतामा थोपरेको छ | अव यो तन्त्र धान्नै नसक्ने गरी पेचिलो भएको छ | यो रोगले जनतालाई निलिरहेको छ | जनता पोलिदै छन् “निरोहरू मुरली बजाएर” नाँचिरहेका छन् |

भूकम्प पिडित जनताको लागि छाप्रो छैन, तराईका बाढीपिडितहरूका लागि विहान बेलुकी छाक छैन, काठमाडौंका जनताहरू प्रदुषणको कालरात्रिमा जिउन बाध्य छन् तर युरोसेट्रिक लोकतन्त्रका लागि अर्व-अर्व डलर उधारो लिएर चुनावको नाटक मन्चन गर्नु परिरहेको छ | पहिलेपहिले राजाहरूले कूत तिर्न नसक्नेलाई भूमिहीन बनाउथे भने अहिले नेताले लोकतन्त्रको नाममा जनतालाई रैती-नागरिक बनाउदैछन् |

जरोकिलो अभियान ती सबैका लागि ठूलो टाउको दुखाई हो जसले युरोसेन्ट्रीक चिन्तनलाई नै नेपाल सुहाउने बनाउनुपर्छ भन्ने विश्वास गर्छन् | जरोकिलो एउटा बौद्धिक अभियान हो जसले युरोसेन्ट्रीक कोर्स नेपाल र नेपालीको बौद्धिक चेतनाबाट निकालेर (राष्ट्रराज्य) राज्यराष्ट्र स्थापित गर्ने संकल्प लिएको छ |

अव समय आएको छ – विश्व नेपालको राजनैतिक चिन्तनको वरिपरी घुम्ने छ | राज्यराष्ट्र नै त्यो धूरी हो जसका वरिपरी विश्व घुम्ने छ | छोटो सोच अर्थात् युरोपेली प्रतिमानका बौद्धिक दासहरू यस्तो सोचलाई हावादारी भन्लान् तर भविष्यको इतिहासले नेपाललाई सधैंका लागि युरोपेली प्रतिमानबाट मुक्त गर्ने छ | इतिहास कसैको दास हुँदैन |

गुनासो मात्र गरेर देश बदलिंदैन | गुनासो निकास हुँदैन | उही ब्यबस्थामा सङ्घर्ष गरेर ब्यबस्था परिवर्तन गर्न सकिन्न | नेपालको वर्तमान राजनीति र त्यसले नित्याएको ब्यबस्थामा परिवर्तन खोज्न बाध्य बनाउने सोच नै युरोपेली हो | हाम्रो कुनै व्यक्ति विशेषसंग गुनासो छैन तर ती नेताहरूसंग गहिरो गुनासो छ जसले बुझ पचाएर नेपाली जनतालाई युरोपेली कोर्स भोग्न, मान्न बाध्य बनाइरहेका छन् |

हामीसंग विकल्प छ | हामीसंग हाम्रो आफ्नै राजनैतिक प्रतिमा छ | हामी आफ्नै इतिहासले दिएको, विकसित गरेको राजनैतिक प्रतिमासंग हिड्न चाहन्छौ | उनीहरू यसको विरोध गर्ने छन् किनभने यो कार्यन्वयनमा आउँदा उनीहरूको रोजीरोटी खोसिने छ | जनता मोटा हुनेछन् |

चुनावमा भोट खसाल्ने, नखसाल्ने, फलानो पार्टीलाई मान्ने/नमान्ने तपाईंको निजी विश्वास र आस्था हो तर रक्सी नखानेहरूका लागि वीयर, ब्रान्डी र स्विस्कीमा केही फरक हुँदैन | सबै रक्सी नै हुन् र त्यसबाट पर्ने प्रभाव “मात” नै हो |

हामी सबै नेपालीको जय होस् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here