प्राध्यापक डा.टंक न्यौपानेः धनका बिपन्न बिद्याका सम्पन्न

0
3592

११ कात्तिक, भूपाल लुइटेल ।

नाजुक आर्थिक स्थिती । आमाको समेत कर्म दिने वुवाको कमजोर गति । अनि पटक/पटक जीवनमा खाएको हण्डर । यी सबैखाले संयोगबाट खारिएको अनुहार हो टंकप्रसाद न्यौपाने । जान्ने बुझ्नेलाई लागेको थिएन टंकप्रसाद न्यौपानेको कद सगरमाथाझै अग्लो हुन्छ भन्ने । अहिलेजस्तै त्यो बेला नि बजारेले गाउँलेलाई गन्दैनथे । त्यसमाथी टंकप्रसाद न्यौपाने त झन धनकुटा चुङवाङको पर्नुभयो । न्यौपाने भन्नुहुन्छ अहिले त नचिनेझै गर्छन बजारकाहरु त्यो बेला त कुरै छाडौ।

प्रा.डा.टंक न्यौपाने

विक्रम संवत २००५ साल माघ ६ गते धनकुटाको विकट क्षेत्र चुङवाङमा जन्मनुभएका न्यौपानेले आमा हर्कमाँयालाई चिन्नै नपाई निधन भयो । त्यसपछि उहाँलाई बचाउनकै लागि बुवाले संघर्ष थाल्नुभयो । बुवाले आमाको अभाव हुन नदिन अनेकौ दुःख गर्नुभयो । त्यसैले त उहाँ भन्नुहुन्छ म बाबुको खाट्टी सन्तान हुँ । बुवाको संघर्षको फूल भन्छु आफूलाई । भएको जायजेथा ३ सय रुपैयाँमा बडाबालाई बेचेर विक्रम संवत २०१३ सालमा बुवा हरिप्रसादले आफुलाई पिठ्यूमा बोकेर धरानतिर आएको उहाँलाई सम्झना छ । जतिवेला न्यौपाने ८ बर्षको हुनुहुन्थ्यो । २ हलको मेलोमा सकिने बारिमा कमजोर शारिरीक अवस्थाको बुवा र त्यो बेलाको नाबालक आफ्नो गुजारा चल्ने अवस्था थिएन । त्यसैले उहाँहरु धरानतिर झर्नुभयो । धरानमा बुवाको बास मन्दिरतिर हुन्थ्यो भने उहाँकोचाँही पिण्डेश्वर महाविद्यालयतिर । छोरालाई धरानमा ल्याएर पढाए पनि बुवाको पहाडमा बस्ने धित मरेको थिएन । मधेस झरेपछि जोरजाम गरेर कमाएको १५ सय रुपैयाँमा बारी बेचको ३ सय समेत थपेर फेरी पहाडमै जग्गा किन्नुभयो वुवाले । त्यतिबेला बुद्धि नपुग्दा अहिले विपन्न हुनुपरेको उहाँको ठम्याई छ । आफू जान्ने बुझ्ने भइकनै धरानमा जग्गा किनियो तर पास गरिएन । जग्गा पास नगरिएकै कारण त्यो आफ्नो हुन पाएन । मन कुँडीएकाले पैसा समेत उल्टै दान चढाएझै गर्नुभयो उहाँले आफ्ना भनाउँदा ससुरालिलाई । पछी उनैले विजयपुरको जग्गा दिएपछि उहाँले घर बनाउँनुभयो ।

धरान बिजयपुरको न्यौपानेको घर

जग्गामा आफन्तबाटै खाएको चोटभन्दा बढ्ताका चोट छन उहाँका जीवनमा ।  विक्रम संवत २०२८ साल असार १५ गते धरानकै मिना पोखरेलसँग उहाँको विवाह भयो । कहलिएका पण्डित छविलाल पोखरेलकी नातिनीसँग विवाह भएको तीन महिना नपुग्दै न्यौपाने जेल पर्नुभयो । पञ्चायतविरुद्धको आन्दोलनमा लागेका न्यौपाने २ बर्ष जेल जीवनमा बस्दा उहाँको गृहस्थी जीवन/आयआर्जनका बाटो चौपट्ट भएनन् मात्र ससुरालीले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आयो । न्यौपाने जेल जीवन बस्दाका बखत श्रीमती मिनाको बिचल्ली भयो ।  विवाह लगत्तै जेल पर्दा बल्तल्ल सुरु भएको जागिर जाने डरले उहाँलाई भित्रभित्रै सताएको थियो । तर जेलमा रहेको २ बर्षको अवधिलाई विद्यालयले बेतलवी विदा मिलाइदियो । तर जेलबाट छुटेलगत्तै पञ्चहरुले उहाँलाई जागिरमा पुनरवहाली हुन दिएनन् । अझ आफन्तनै उहाँका विरुद्ध खुलेर लागे । यसैकारण उहाँको आयआर्जनको बाटो पनि बन्द भयो । यसपछि उहाँका दिनहरु केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानतिर वित्न थाल्यो । उहाँले सहायक प्रशासकको जिम्मेवारी पाउनुभयो । तर यहाँको जागिर पनि उहाँका लागि फावेन । डिनकाविरुद्ध पत्रिकामा छापिएको समाचारका कारण उहाँले जागिर छाड्नुपर्यो । हात्तीसारको जागिर गुम्दा उहालाई थप समस्या पर्यो अब त बुवाको जिम्मेवारी पनि निभाउनुपर्ने थियो उहाँले । ३१ सालमा त छोरो जन्मिसकेको थियो । २ छोरा र एक छोरी छन् न्यौपानेका । त्यसपछि उहाँ काठमाण्डौतिर लाग्नुभयो । आफ्नो पेट भर्नका लागि समेत अर्काको मुख ताक्ने परिस्थिति पटक/पटक बन्यो उहाँको जीवनमा । तर पटक/पटक जीवनमा लागेको ठेसले उहाँलाई हरेक पटक उठाउँदै एक तह माथि पुर्याइदियो । जीवनमा खाएको हण्डर उहाँका लागि सफलताको कडी बन्दै गए ।

बहुआयामिक व्यक्तित्व न्यौपाने सानैदेखि अतिरिक्त क्रियाकलापमा चासो राख्नुहुन्थ्यो । राजनीति, साहित्य, खेलकुद, गित संगित र विभिन्न साँस्कृतिक कार्यक्रम त्यो बेला न्यौपानेले सायदै छुटाउनुहुन्थ्यो । कहिले गाउँने र नाच्ने तथा नाच्न सिकाउनेमा व्यस्त हुने न्यौपाने कहिले फुटबल टिमको कप्तान बनेर हिड्नुभयो त कहिले पञ्चायतविरुद्ध कालो झण्डा देखाउँदै पनि हिड्नुभयो ।

जीवनका उर्जाशिल समय चारातिर मोडिएपनि न्यौपानेको साहित्यिक जीवन भने अनन्तकालसम्म अमर रहने निश्चित भएको छ । आठपहरिया राईको भाषिक अध्ययनमा विद्यावारिधी गर्नुभएका न्यौपानेले नेपाली साहित्यको चार खाले प्रयोगलाई पुस्तकमा उतार्नुभएको छ । सैद्धान्तिक समालोचना, भाषा विज्ञान, ब्याकरण र पाठ्यसामग्रीलाई न्यौपानेले पुस्तकको रुप दिनुभएको छ । यी चार खाले प्रयोग भएका एक दर्जनभन्दा बढी कृतिहरु उहाँले प्रकाशित गर्नुभएको छ ।

आफूले लेखेको पुस्तक देखाउँदै न्याैपाने

कुनै समय कृष्णप्रसाद भट्टराई बीपी कोइराला लगायतका कहलिएका कांग्रेसी नेतासँगको राम्रो पँहुचमा पुग्नुभएका न्यौपानेले अवसर भन्दा पनि आफ्नो इच्छामै जोड दिदा ४८ बर्षदेखि निरन्तर अध्यापककै पेशामा रहनभुयो । अध्यापकको जीवनले आम्दानी नदिए पनि आदर्श स्थापित गरेको उहाँको बुझाई छ । त्यसैले त न्यौपाने भन्नुहुन्छ धनमा म बिपन्न नै हुँ तर गर्ब छ म बिद्यामा सम्पन्न छु ।सकारात्मक सोच र आशाका लागि संघर्ष गरेर जीवन गुज्रिन लागेको बताउने न्यौपाने जीवनलाई सकारात्मक सोच र आशावादिता भन्नुहुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here