तिहारः फूल बिनाको उज्यालो

0
3168

२ कात्तिक, काठमाण्डौं (भूपाल लइटेल)उज्यालोको पर्ब तिहारको रौनक चौतर्फी छाएको छ । घरघरमा बालिएको बत्तिको उज्यालोले रात्रिकालिन समयमा गाउँशहर झलमल्ल देखिएका छन । तर तिहारमै देखिने र नभइनहुने फूलको झिलिमिली पाउन भने मूस्किल परेको छ । किनकी फूल उत्पादनमा मरिमेटेर लागेका कृषकको रोपेजति सबै फूल फूल्दै फुलेन । नेपालमै फूलको व्यवसायीक सम्भावना देखेर फूल खेतिमा होमिएकी काठमाण्डौं महाराजगञ्जकी राधिका खड्का समयमा फूल नफुल्दा आफ्नो व्यापारको असर भारतसम्म परेको बताउँछिन् । ‘सुरुका दिनमा नेपालमा मात्र सिमित  फूलको बजार अहिले भारतसम्म विस्तार त भयो,’ खड्काले भनिन् ‘तर तिहार चलिरहँदा पनि रोपिएका सबै फूल नफूलेपछि व्यापार खस्कियो।’

राधिका खड्का – फूल उत्पादक कृषक

यस्तो गुनासो गर्ने फूल कृषक खड्कामात्र हैनन् । कात्तिक पहिलो साता नै तिहार परेपछि अधिकांश कृषकले लगाएको फूल नफुल्दा यसमा भएको लगानी नै नउठ्लाकी भन्ने चिन्ता छ फूल कृषकहरुलाई । धरानकी फूल कृषक छत्रशिला राई तिहार केन्द्रित मात्र फूल उत्पादन गर्ने भएका कारण समस्या परेको बताउँछिन् । राई भन्छिन् ‘बरु अरु पनि फूलको कारोबार गर्नेले त जसोतसो लगानी त उठाउलान् आफ्नो त तिहार केन्द्रीत मौसमी फूल मात्र हो लगानी पनि डुब्ने हो ।’

यसरी तिहारकेन्द्रित फूल उत्पादन गरेर गर्जौ टार्ने किसानहरु मौसम अनुकलको फूल उत्पादन गर्न नजान्दा समस्या परेका छन । कस्तो समयमा फूल लगाउने भन्ने ज्ञानको अभाव हुँदा अर्का फूल कृषक सन्तवहादुर मगरको बारीमा फूलको थुंगाको साटो कोपिलामात्रै देखिएको छ ।

कोपिला लाग्दै गरेको फूल

यसरी फूल नफुल्दा कृषकको आम्दानी मात्र गुमेको छैन फूल किन्न किसानका घर घर धाउने व्यापारीहरु समेत खालि हात फर्कन बाध्य छन । यसको असर भने नेपाली अर्थतन्त्रमा देखिएको छ । पर्याप्त फूल नफुल्दा फूल आयातका लागि विगत बर्षहरुमा झैं अर्बौ रुपैयाँ विदेशीएको छ । अर्कातर्फ आयात भएकै र नेपालमै उपलब्ध कम परिमाणका फूलको मूल्य समेत आकाशिदा सर्वसाधारणको ध्यान भने कृत्रिम फूलतिर जान थालेको छ ।

कृत्रिम फूलको बढ्दो प्रयोग

कृत्रिम फूल

दृष्यमा देखाईएका फुलका मालाहरु कुनै बगैचाबाट टिपेर गाँसेको जस्तो देखिन्छ । तर यो कुनै बगैंचाको फुलको माला हैन । यो त प्लाष्टिकवाट बनाइएको कृत्रिम फुलका मालाहरु हुन् । लक्ष्मि पूज्न र घरमा पूजा गर्नकालागि फूल किन्न बजार आएकी कमल गाउँपालिकाकी माया सुब्बा प्राकृतिक फुल नपाएर कृत्रिम फूल किन्न बाध्य भएको बताउछिन् । सुब्बा भन्छिन् ‘आफ्नो बगैचामा फुल नै नफुलेपछि के गर्नु यहि कृत्रिमले भएपनि काम त चलाउनै पर्यो।’

यो वर्षको तिहार अन्य वर्षको भन्दा छिटै आएकाले बजारमा सयपत्री र मखमलीका मालाको सट्टा प्लाष्टिकका कृत्रिम माला ल्याइएको ब्यापारीहरु बताउँछन् । फूलमा आत्मनिर्भर बन्न नसक्दाको परिणाम स्वरुप अहिले कृत्रिम फूलको प्रयोग बढेको हो । फूल व्यवसायीहरुका अनुसार तिहारका लागि चाहिने १५ लाखजति मालामा बार्षिक १० लाख जति माला त भारतबाटै खरिद गरेर ल्याउनुपर्छ त्यसले पनि नपुगेपछि कृत्रिम फूलको कारोबार बढ्दै जान थालेको हो ।

 ठम्याउन नसकिएको सम्भावना

फूल उत्पादक कृषक र व्यवसायीका अनुसार नेपालमा बार्षीक २ अर्ब रुपैयाँ बराबरको फूलको कारोबार हुने गरेको छ । यसअलवा फूल खेतिका लागि नेपालको भौगोलिक र पर्यावरणीय बातावरण पनि उपयुक्त छ । तर पनि फूल उत्पादक कृषकको ढंग नपुग्दा तिहारको बेला कहिले फूलै नफूल्ने त कहिले फूलेर सकिने अवस्था सृजना छ । जसका कारण नेपाली मुद्रा विदेशीएको मात्र छैन फूलको अभाव भन्दै उपभोक्ताहरुले भारी मूल्य तिर्नुपर्ने अवस्था छ । गत बर्ष ४ सय रपैयाँमा ४ वटासम्म माला विक्री गरेका व्यापारीले यो बर्ष १२/१४ सय रुपैयाँसम्म लिने गरेको काठमाण्डौंकी फूल व्यापारी अनिता भूजेल बताउँछिन् ।

अनिता भूजेल – पुष्प व्यवसायी

अर्थतन्त्रका जानकारहरु भने सम्भावना हुँदाहुँदै पनि फूल खेति गराउन पर्याप्त ज्ञान दिन नसक्नु,, नेपाली मुद्रा विदेशिने अवस्था आउनु र उपभोक्ताले थेग्नै नसक्ने गरी मूल्य तिर्नुपर्ने अवस्थाको जिम्मेवारी कृषि विकास मन्त्रालय मातहतका निकायले लिनुपर्ने बताउँछन् । कृषि विकास कार्यालयहरुले उपयुक्त प्राविधीक ज्ञान दिन नसक्दा कृषकको लगानी जोखिममा परेको जानकारहरु बताउँछन । यद्यपी कृषि विकास कार्यालयका कर्मचारीहरु भने आफूहरुले सक्दो प्रयास गर्दा पनि फूल कृषकका लागि ध्यान दिन नसकिएको कृषि विकास कार्यालय मोरङका बागबानि बिकास अधिकृत काँशिनाथ चौधरी बताउँछन् । चौधरी भन्छन् ‘हामी कृषकलाई प्राविधिक ज्ञान दिने हेतुले यही बर्ष उपयुक्त कार्यक्रम ल्याउँछौ।’

काँशी चौधरी -बागबानि अधिकृत मोरङ

तथ्यांक विभागले गरेको फूलखेती सर्वेक्षण २०७२ अनुसार नेपालमा १ सय ४७ हेक्टरमा फूलखेती हुने गरेको छ । यसलाई आधार मान्दै विज्ञहरु क्रमिक रुपमा नेपाल फूल खेतिमा आत्मनिर्भर हुँदै गएपनि मौसमी फूल उत्पादनमा भने कालान्तरसम्म चुक्ने आंकलन गर्दछन् । उनिहरु भन्छन् किसानहरुको प्राविधीक ज्ञानको अभाव त कृषि प्राविधीकले सुल्झाउलान् तर बर्षैपिच्छे फेरबदल भइरहने तिहारको तिथीमिती मानवीय नियन्त्रणमा छैन । बरु फूल प्रयोगको दायरा धार्मिक कर्म तथा चाडबाडको घेराभन्दा बाहिर समेत विस्तार हुन सके कृषकहरु लाभान्वित हुने जानकारहरुको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here