शुरु भयो दशैं , नबरात्रको पहिलो दिन घरघरमा घटस्थापना

0
868

५ असोजकाठमाडौँ हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादशैं बिहिबारदेखि सुरु भएको छ । बडादशैंको पहिलो दिन नवरात्र अन्तरगत बिहिबार विहान बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गरिएको छ ।

घटस्थापना अन्तरगत बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
यसै दिनदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको तीन वटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर आह्वान गरी पूजा आरम्भ हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।  दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आरधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।  यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।  दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानवजातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने बडा दशैं कोजाग्रत पूर्णीमामा अन्तिम दिन टिका ग्रहण गरेसँगै समापन हुने गर्दछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here