हरितालिका तीज आज, पशुपतिमा ब्रतालुको भीड

0
2159
globalpostinfo.us
पशुपतिनाथ दर्शनका लागि लाइनमा बसेका ब्रतालु

८ भदौ, काठमाडौं । हिन्दू नारीहरुले मुख्य चाड हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा ब्रतालुहरुको भीड लागेको छ । मध्यरातदेखि नै भक्तालुहरु लामबद्द भएपछि राति ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

राति  नै देखि भक्तजनहरुको भीड बढेपनि मन्दिर प्रवेशमा तीन वटा लाइन व्यवस्था गरिएकाले अव्यवस्थित भने नभएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए । उनका अनुसार मन्दिर प्रवेशका लागि पहिलो लाइन बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाइन जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाइन गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट व्यवस्था गरिएको छ ।

ब्रतालु र दर्शनार्थीको भीडभाड हुने भएकाले आज पशुपतिमा विशेष पूजाको कार्यक्रम राखिएको छैन भने पशुपति प्रवेशमा पासको पनि व्यवस्था नगरिएको निर्देशक उप्रेतीले बताएका छन् ।

शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।

हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ । विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।

भाद्र शुक्ल द्वितीयाका दिन राति दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुने गर्दछ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here