मेरो जाति..

0
1862

अस्ति साढे दशबजेतिर श्रीबूढानील कण्ठ नारायणको दर्शन गरेपछि मन्दिरमा बसेका एकजना ब्राह्मणसंग टीकाको लागि अनुरोध गरें | उहाँसंग टीका थाप्ने क्रममा एस्तो वातचित भयो –

ब्राह्मण – अनि बाबुको घर कहाँ हो ?
म – पर्वत हो तर अहिले काठमाडौंमा बस्छु |

ब्राह्मण – अनि बाबुको जाति थर के हो ?
म – मेरो थर पराजुली हो तर मेरा धेरै जाति छन् |

ब्राह्मण – पराजुली त बाहुन नै हुन्छन् | धेरै जाति भनेको के हो ?
म – हो, तर मेरो थर पराजुली हो | म चारै जातको मान्छे हुँ |

ब्राह्मण – कुनै मान्छे चारै जातिको कसरी हुन्छ ?
म बोल्दै गएँ -विश्वविद्यालयमा विद्यार्थीहरूलाई पढाउँछु, स्वाध्याय गर्छु, दान दिन्छु र यज्ञ गर्छु त्यस बखत म ब्राह्मण हुन्छु | मैले यी काम गर्छु त्यसैले म ब्राहमण हुँ |

मैले आफ्नो परिवारको सुरक्षा गर्छु, आफ्नो सुरक्षा गर्छु, परिवर्तनका लागि बौद्धिक तथा शारीरिक सङ्घर्ष गर्छु, यस अर्थमा क्षत्री हुँ |

मैले आफ्नो बौद्धिकता अरूसम्म पुर्याउन किताव लेख्छु, ती किताव बेचेर मलाई आर्थिक लाभ हुन्छ, विविमा पढाएको तलव थाप्छु यस अर्थमा म वैश्य हुँ |

मैले हरेक दिन आफ्ना जुता पालिस गर्छु, बाथरूममा गाना गाउंछु, घरको सरसफाई गर्छु, शौचालयको सरसफाई गर्छु, लुगा धुन्छु, कहिलेकाहिं भाँडा माझ्दछु, विग्रेका सामग्रीहरू आफै सुधार्ने प्रयत्न गर्छु, समाज-सेवालाई पनि आफ्नो दायित्व ठानेर काम गर्छु, खेतीपाती गर्छु – यसरी म एउटा चर्मकार, धोवी, गन्धर्व, कामी,अर्थात् शूद्र पनि म नै हुँ |

यसरी हरेक दिन विहान उठेपछि ननिदाऊदासम्म मैले धेरै “जाति” भएर काम गर्नुपर्छ | हो, यो शरीरको थर पराजुली होला तर यसको जात चाहिं एउटा छैन | ल भन्नुस् त मैले आफुलाई कुन् जातको भनेर परिचय दिउँ ?

म सनातन धर्ममा विश्वास राख्ने, आफ्नो धर्म तथा संस्कृतिलाई औधि माया गर्ने र यसको जगेर्ना गर्नुपर्छ भन्ने मान्यताको मान्छे हो | वरू “तपाईंको जाति के होला भनेर सोध्नु नै अनुचित हो कि ? मैले उहाँलाई भने | ब्रह्माका विभिन्न अंगबाट जातिहरूको उत्पत्ति भएको हो भने ब्रह्माका आफ्नै अंग छुन हुने र नहुने हुँदैनन् | मेरो शिर र पाउँ दूबै मेरै हुन् |

अनि, ती ब्राहमणको हातमा १० को नोट दक्षिणा दिएर प्रणाम गर्दै आफ्नो बाटो लागें |

अन्त्यमा ती ब्राह्मणले मैले सुन्ने गरि भने -“वाबू !!आजदेखि कसैको जाति सोध्ने छैन है”
…………
यदि तपाईलाई यो वास्तविक घटना मन पर्यो भने शेयर गर्नुहोला | (c) gsu

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here