अधूरो सपना

0
123
डा. गोविन्द एस. उपाध्याय

सपनामा पनि निंद खुल्छ भन्दा तपाईं छक्क पर्नु होला | मेरो पनि सपना मै अचानक निंद खुल्यो |

यो ब्रहमलोकको ब्रह्माजीको सभा पो रहेछ | छक्क परें | तर सपना सत्य थियो | यो ब्रह्माजीको नगर ब्रहमलोक नै थियो |

नेपाल देशका मुख्य-सचिव, सचिवज्यूहरू, ठेकेदारज्यूहरू, प्रख्यात ब्यापारीहरू र देशका प्रधानमन्त्रीसहित नाम चलेका नेताहरू त्यहीं रहेछन् |

म ब्रह्माचाहिं यी सबैको क्लास लिंदै थिए – “नेपालखाल्डोमा तिमीहरू कहिलै पैदल, मोटरसाइकलमा हिंडेका छौँ ?

“छैन हजुर” – सबैले एकै स्वरमा जवाफ दिए |

सुन्दर उपत्यकाको त्यो धूलोको लागि को जिम्मेदार छ प्रधानमन्त्रीज्यू – ब्रह्माले प्रश्न गर्न नपाउंदै “ठेकेदार जिम्मेदार छन्, मैले जति निर्देशन दिंदा पनि टेर्ने होइनन्” प्रधानमन्त्रीले जवाफ दिए |

सचिवहरूले पनि शालीनतापूर्वक जवाफ दिए “श्रीमान्, हामी सबै प्रयत्न गरिरहेका छौँ | मन्त्रीज्युहरू पनि लागिरहनु भएको छ, ठेकदारज्युहरू पनि काम गर्दैहुनुहुन्छ | अव ढीलो हुँदैन |”

“अनि ठेकेदारहरूले प्रधानमन्त्रीलाई पनि टेरपुछार लाउन्नौं रे नि ?” ब्रह्मा कड्किए |

“ए हजुर हामीले सक्दो गरिरहेका छौँ | सबैतिर दिंदा खर्चले धान्न सकिन्न | अर्को साउन पर्खनुको विकल्प छैन “- ठेकेदारहरूले हात जोड्दै भने |

“सबैतिर दिंदा खर्चले धान्न सकिन्न” ! – मैले कुरो बुझिन नि ? ब्रह्मा अल्मलिए | यो देखेर प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू र ठेकेदारहरू मुखामुख गर्न थाले |

सबैको मुखमा सयवर्षको त्रास देखियो | म मनुवा र ती सबै ठूलाबडा मनुवाहरूले कुरा बुझ्यौं | ब्रहमलोकमा एस्तो कुरा हुने भए पो विचरा ब्रह्मा बाजेले कुरा बुझुन् !!

अचानक ब्रह्मा म तिर फर्किए | यो देखेर सबैको अनुहार रातोपिरो भयो | त्यत्रो सभामा वर्षायाममा नेपाल-खाल्डोका बाटोहरूमा पैदलयात्रा गर्ने ४० लाख जनताको प्रतिनिधि म मात्र थिएँ |

मेरा सबै लुगाहरू हिलोले लुछुप्प भिजेका थिए | सायद ती हाँसहरूको सभामा म एक्लो बकुल्लो थिएँ |

“अनि, तिमी के भन्छौं त ?” ब्रह्माले म तिर फर्किएर सोधे | “हे प्रभु, मैले के भन्नु ? वर्षाको हिलो र मध्य हिउँदको धूलोमा यी सबै मनुवाहरूलाई नेपाल खाल्डोमा मजस्तै पैदल हिंड्ने बरदान दिनुपर्यो – के भन्न आँटेको थिएँ कि निंद खुल्यो |

ब्रह्मलोक पुगेर पनि यी ठूलाबडाहरूलाई काठमाडौँ खाल्डोका हिलाम्मेबाटोमा पैदल हिडाउने सपना पूरा भएन |

कास, एकैछिन निंद नखुलेको भए सपना त पूरा हुन्थ्यो कि ? एकैछिन भए पनि यी ठूलाबडाहरू पैदलयात्रु बन्थे कि ?

(डा. उपाध्याय, त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शनशास्त्र तथा मनोविज्ञानको अध्यापन गर्नुहुन्छ र मनोबैज्ञानिक परामर्शदाता पनि हुनुहुन्छ |)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here