भयवाद दर्शनसगँ अर्जुन प्रधान

0
1591

भयवादका चिन्तक तथा प्रतिपादक देश सुब्बाको जन्म धरान—१० पुतली लाइनमा वि.सं. २०२१ साल मंसिर २१ गते बाबा कुबिरजङ्ग लिम्बू, आमा तिलमति लिम्बूको कोखबाट भएको हो । वि.स. २०५० सालमा पब्लिक युथ काठमाण्डौमा स्नातोत्तर सम्मको अध्ययन गरेका सुब्बा सन् १९९६ सालबाट सपरिवार हङकङमा बसोबास गर्दै आएका छन् । उतैबाट सन् १९९९ सालदेखि भयवाद दर्शनको विकास गरिरहनु भएको छ । देश र विदेश जहाँ रहेपनि नेपाली साहित्यलाई माया गरिरहने धरान निवासी सुब्बाले ४ वटा उपन्यास लेखिसकेका छन् । दोषी कर्म २०५०, अपमान पहिलो संस्कारण वि.स. २०५२, सहिद वि.सं २०५६ साल र अपमानकै दोस्रो संस्करण २०६० साल, आदिवासी वि.स.२०६४ मा प्रकाशित भैसकेका छन् । त्यसमध्ये सबाल्टर्न भनौ या जनजाति भनौ यसको उठान वि.स. २०५२ सालमै अपमान उपन्यासबाट भएको हो । यसको प्रकाशन पछि नेपालमा यस धारबाट लेख्ने धेरै विचार आए, कविता आए । हङकङमा त जनजाति साहित्य संस्था नै खुल्यो । त्यस्तै भयवादमा प्रयोग भएको उपन्यास आदिवासी हो । सुब्बाको अलावा भयवादलाई प्रवीण पुमाले हेच्छाकुप्पा नाटकमा समेत प्रयोग गरेका छन् । हेच्छाकुप्पा नाटकको भयवादीय समालोचना सुब्बा आफैले गरेका छन् र भयवाद दर्शनलाई विकास गर्न प्रा. डा. टंकप्रसाद न्यौपानेको अध्यक्षतामा ‘भयवाद अध्ययन केन्द्र’ धरानमा खुलेको छ ।
आफ्नो लक्ष्यमा निरन्तर लागिरहेका देश सुब्बाले हङकङलाई नेपाली विश्व साहित्यको केन्द्रको रूपमा विकास गर्दै भनेका छन्, ‘अबको नेपाली साहित्य भनेको विश्व नेपाली साहित्य हो ।’ नेपाली साहित्य प्रतिष्ठान हङकङ, जनजाति साहित्यिक संस्था हङकङ, भयवाद अध्ययन केन्द्र धरान आदी संघ–संस्थाहरूमा संलग्न रहेका सुब्बाले हङकङबाट प्रकाशित टापु पत्रिका (२००५) को सम्पादन गरेका थिए । यही टापु पत्रिकामा पहिलो पटक भयवादको प्रारम्भिक घोषणा भएको थियो । सन २००८ सालमा ‘भयवाद र आदिवासी राष्ट्रिय सम्मेलन’ धरानमा भएको थियो । सम्मेलनमा प्रस्तुत भएको कार्यपत्रको संगालो प्रकाश थाम्पसुहाङको सम्पादनमा ‘भयवाद वैचारिक चिन्तन’, विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख, अन्तरवार्ताको संगालो दीपक सुबेदीको सम्पादनमा ‘भयवाद चिन्तन र विमर्श’ प्रकाशित भैसकेको छ

भयवादी दार्शनिक – देश सुब्बा

। सन २०१० को सेप्टेम्बर महिनाबाट सुब्बाले काव्यमा रेखा कविताको विकास गरिरहेका छन् ।– त्यसैगरी सन २०१४ मा Philosophy of Fearism_, 2o15-The Tribesman’s Journey to FEARLESS) 2016-Philosophy of Fearism- a First East-West dialogue 2016) आदि लाइ प्रकाशमा ल्याइसक्नु भएको छ
आफ्ना पाठकहरूसँग विचार र सिद्धान्तहरूमा बहस गरी, समाधान खोजी गर्दै नेपाली साहित्यमा इट्टा थप्ने देश सुब्बाको भयवाद दर्शन, सपना, कल्पना र फूल महाकाव्य, रेखा कविता संग्रह प्रकाशनोन्मुख छन् । यिनै जीवन र दर्शनका बहस गर्न, हाम्रो प्रश्नको जवाफ दिन हाम्रो अगाडि देश सुब्बा उपस्थित हुनुभएको छ ।

१. के हो भय वाद ?

भयवाद जीवन र जगत्लाई हेर्ने विचार हो । एउटा नयाँ आँखा हो । संसार त उही हो, जीवन पनि उही हो । रसियाका रुपात्मकवादी हेनेरी मातिसेले एउटा रातो कोठा बनाएको जस्तो । सधैँ एउटै कोठा हेर्दा हेर्दा हाम्रो जीवन सामान्यकरण भएको हुन्छ । बिहान उठ्यो, त्यही कुरा, दिउँसो त्यही कुरा । अनि नयाँपन दिन उसले कोठा नै सबै रातो पारिदिए । दर्शनमा पनि यस्तै रह्यो । त्यही जीवन र जगत्लाई नयाँ बनाउने नयाँ विचार हो भयवाद ।
२. भयवादको जन्म कसरी भयो ?
आजभन्दा दशवर्ष अगाडि एउटा उपन्यास लेखेको थिएँ । त्यो पाण्डुलिपि मैले साथीहरूलाई हेर्न दिएँ । एकजना साथीले ‘भयवाद’ भन्ने शब्दमा रातो मसीले कोेरेर दिनुभयो । बुद्धको भाषामा भन्ने हो भने मलाई त्यो शब्द हेरेर ज्ञान प्राप्त भयो । भयवाद एउटा सुन्दर विचार हुन्छ भन्ने निष्कर्षमा पुगेँ । अनि त्यसमा अलि अलि काम गर्न थालेँ । साथीहरूसित छलफल गर्न थालेँ । यसरी भयवादको जन्म भयो । प्रारम्भमा यो कुनै विचार बन्लाजस्तो थिएन । अरुले बुझेको, सुनेको, प्रयोग गरेको जस्तै सामान्य अर्थमा लिने गरेको थिएँ ।
३. भयवादले कुन कुन क्षेत्र कसरी समेटेको छ ?
भयले सिङ्गो जीवन र जगत् समेटेको छ । त्यसमा पनि विशेष साहित्य, कला, संगीत, समालोचना, चिकित्सा क्षेत्र, दर्शनलाई विशेष समेटेको छ ।
४. यहाँको दृष्टिकोणमा मानवमा कसरी भय पैदा हुन्छ ?
भय गराउने ज्ञान हो । ज्ञानको स्रोत चेतना, इन्द्रिय, स—संकेतक प्रवृत्ति, शारीरिक बनौट सबैमा निर्भर गर्छ । फ्याटै २ र २ जोड्दा चार भएकोजस्तो हुँदैन । सतहमा त्यसो पनि हुन सक्छ, गहिराइमा हुँदैन । मैले भयवादमा सुत्र बनाएको छु । चेतनाले ज्ञान दिन्छ र ज्ञानले भय । यसले अल्मलाउन सक्छ । उस्तै लाग्छ चेतना, ज्ञान र भय । तर फरक छ । मृत्युको बारेमा थाहा पाउनु ज्ञान हो । थाहा पाएपछि भय हुन्छ । जुन उमेरसम्म मृत्युको बारेमा ज्ञान हुँदैन, तबसम्म मृत्यु भय हुँदैन ।
५. भयको समाधान कसरी गर्न सकिन्छ ?
भयको समाधान बारेमा मैले भयवाद पुस्तकमा प्राथमिक र माध्यमिक उपचार बताएको छु । मानौ गाउँमा महामारी पैmलियो । अस्पताल छैन । गाउँलेहरू डर मान्न थाले । त्यो भयको समाधान भनेको स्वास्थ्य चौकी, अस्पतालको स्थापना हो । अस्पताल, डाक्टर हुनासाथ भयको आधा समाधान हुन्छ । त्यसैले कुन किसिमको भय हो, त्यसमा समाधान निर्भर गर्छ ।
६. यस वादको बिस्तार र बिकास कसरी भैरहेको छ ?
राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने, छलफल गर्ने, पुस्तकहरू प्रकाशन गर्ने, लेखहरू लेख्ने काम हुँदैछ । २०६९ साल फागुनमा धरानमा उत्तर भारतका ५० अन्तर्राराष्ट्रिय स्तरका साहित्यकारहरू माझ भयवादमा छलफल भयो । असम भारतका रण काफ्लेले प्रत्येक महिना बसिबियाँलो मार्फत विभिन्न स्थान, विभिन्न राज्यमा गएर भयवादको कार्यक्रम गर्दै आएका छन् । जुलाई महिनामा मात्र उत्तर भारतको अरुणाचल प्रदेश, नागालैण्ड, मणिपुर, मेघालय, म्यान्मारमा कार्यक्रम भए । नेपाली, असमीस, मणिपुरी, खासी भाषामा भयवाद सम्बन्धी थुप्रै लेखहरू प्रकाशित भए, हुँदैछ । कार्यक्रमहरूमा बोलिन्दैछ । भयवादको नेपाली, अंग्रेजी पुस्तक छिटै प्रकाशित हुँदैछ । अझै विभिन्न, विश्वविद्यालय, विद्वान्हरूसित विमर्श गर्ने योजना छ । पत्रिका निकाल्ने योजना छ । २०१३ मै मेघालयको राजधानी सिलाङमा भयवादको भारत स्तरको कार्यक्रम हुँदैछ । यसरी नै दिनदिनै यसको विकास र विस्तार हुँदै गइरहेको छ ।
७. यस वादलाई नेपाली साहित्यको मुलधारको लेखन र चिन्तनमा कसरी प्रभावकारी प्रयोग गर्न सकिन्छ ?
यो एउटा वृहत आकार भएको दर्शन हो । यसलाई यसरी नै साहित्य, कला, संगीतमा प्रयोग गर्नुपर्छ भन्ने छैन । सबै सृजक, चिन्तकको आ—आफ्नै मौलिक शैली हुन्छ । मैले त आदिवासी उपन्यासमा प्रयोग गरेको छु । समालोचनामा प्रविण पुमाको हेच्छाकुप्पा नाटकमा मैले भयवादी समालोचना गरेको छु । यसको प्रयोग यसरी नै गर्दा हुन्छ जस्तो लाग्छ । अरुले पनि यसरी नै गरेका छन् ।
८. यसवादको बिस्तार बिकासको लागि थप योजना ?
विशेष योजना त केही छैन । भयवादबारे काम गर्नु धेरै छ । विभिन्न मुलुकबाट निम्तो आइरहेको छ । चासो बढ्दै छ । प्रचारप्रसार, व्याख्या हुँदैछ । संस्था दर्ता गर्ने प्रक्रियामा छौँ । भयवाद अध्ययन केन्द्रलाई राम्रो संस्था बनाउने सोच छ । विश्वमा कसरी लिएर जाने यसबारेमा चिन्तनमनन गर्दै छु । आर्थिक स्रोत र साधन भयो भने भयवाद अध्ययन केन्द्र भयवादको ठूलो संस्था बन्न सक्छ । ढिलोछिटो हो विश्वको ध्यान तान्ने छ भन्नेमा हामी आशावादी छौँ ।
९. यस दर्शन बुझन र अध्ययन गर्न चाहने पाठकहरूले कसरी अध्ययन गर्न सक्छन् ?
सामान्यतया पाठकहरूले भयवाद भन्दा ऐ पहिलेदेखि नै सुनेको, जानेको भन्ने गरेको पाइन्छ । तर त्यसो होइन । हिजो सुनेको भय सतही हो । भयवादमा व्याख्या भएको लम्बाइ, चौडाइ, उचाइ, यसको वर्तमान, भविष्य प्रभाव सबै भएको भय हो । यसलाई बुझ्न पहिला उत्सुकता जाग्नु प¥यो । ए जानेको हो, बुझेको हो भन्दै बसियो भने भयको वास्तविक ज्ञानबाट बन्चित हुन सकिन्छ । भयवादमा लेखिएको, बोलिएको पुस्तक, पत्रिका, लेख पढ्नु प¥यो र आफ्नो धारणा बनाउनु प¥यो । धारणाबिना घोगियो भने भयवाद जान्न सकिन्दैन ।
१०. अन्त्यमा केही भन्नु हुन्छ की ?
“भारतका धेरै विद्वान्ले भयवाद नेपालीले विश्वलाई दिएको उपहार हो” भन्नु हुन्छ । यो कुरा पहिलो पटक प्रा. डा. टंकप्रसाद न्यौपानेले धरानको राष्ट्र कार्यक्रममा भन्नु भएको थियो नेपालबाट । भारतका नेपाली गैर नेपालीले सक्दो सहयोग गरिरहेका छन् । नेपालका विद्वान्हरूको चासो कम छ । यसलाई सबै मिलेर हुर्काउने बढाउने काम गर्नुपर्छ । भयवादको सिद्धान्त आयो “यो देश सुब्बाले गरेको गरोस’ भनेर बसियो भने ठूलो मौका गुम्छ । यो विचार नेपाल चिनाउने विचार हो । यसमा कन्चुसाइ गरियो अरूले चोरेर लगे हामी हेरेको हेरेकै हुन्छौँ । यस्तो चिन्ता भारतका धेरै विद्वान्को छ, त्यसैले पुस्तक प्रकाशन गर्ने, वितरण गर्ने काम लागिरहेका छौँ । यसबारेमा सकारात्मक सोच सबैले राखे व्यक्ति, देश सबैलाई राम्रो हुन्छ ।
साथै तपाई अर्जुन भाइ लगायत ग्लोबल पोस्ट टिमलाई अनेक अनेक धन्यावाद छ । सफलताको कामना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here